Logo

निर्वाचन अयोगलाई चुनावको चटारो, मतपत्र छपाई मंगलबारदेखि सुरु हुने



असोज १६, काठमाडौं । निर्वाचन आयोगले आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र छपाइ मंगलबारदेखि शुरु गर्ने भएको छ । मतपत्र छपाइका लागि आयोगले जनशक्तिसमेत खटाइसकेको छ । मतपत्रको छपाइ कडा सुरक्षा घेरामा भक्तपुरको सानोठिमीस्थित जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमा हुनेछ ।
प्रदेशसभा र केन्द्रिय प्रतिनिधीसभाको चुनाव एकै पटक गर्न लागिएकाले एउटै मतपत्रको माथिल्लो खण्डमा प्रतिनिधिसभा र तल्लो खण्डमा प्रदेशसभा सदस्य निर्वाचनका चुनाव चिह्न रहनेछन् ।

निर्वाचनका लागि मतदाताको संख्या यकिन भइनसके पनि समानुपातिक निर्वाचन प्रणालीका लागि हल्का रातो रङको झण्डै एक करोड ८० लाख मतपत्र छापिने बताइएको छ । मतपत्रका लागि आयोगले ६०० टन कागजको व्यवस्थापनसमेत गरिसकेको जनाइएको छ ।

समानुपातिक निर्वाचनमा भाग लिने राजनीतिक दलले उम्मेदवारको बन्दसूची यही असोज २९ गते पेस गर्नुपर्ने गरी यसअघि नै आयोगबाट निर्वाचन कार्यक्रम प्रकाशन भइसकेको छ । प्रतिनिधिसभा सदस्यका लागि समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत हुने निर्वाचनमा भाग लिन दर्ता भएका राजनीतिक दललाई आयोगले निर्वाचन चिह्न निर्धारण गरिसकेको छ ।

समानुपातिक निर्वाचन प्रणालीतर्फ प्रदेशसभा सदस्य निर्वाचनमा प्रदेश नं १ मा ८७, प्रदेश नं २ र ३ मा ८६–८६, प्रदेश नं ४ र ६ मा ८२–८२, प्रदेश नं ५ मा ८४ र प्रदेश नं ७ मा ८३ राजनीतिक दलले प्रतिस्पर्धा गर्ने छन् ।
प्रदेशसभा सदस्य निर्वाचनमा सम्बन्धित प्रदेशमा राजनीतिक दलको सहभागितानुसार आयोगले सात प्रकारका मतपत्रको व्यवस्थापन गर्नेछ ।

मंसिरमा हुने निर्वाचनबाट प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फ १६५ तथा समानुपातिक निर्वाचन प्रणालीबाट ११० सदस्य तथा प्रदेशसभामा प्रत्यक्षतर्फ ३३० र समानुपातिक प्रणालीबाट २२९ जना चयन हुनेछन् ।



प्रतिक्रिया दिनुहोस्