असोज १७, काठमाण्डौ । नेकपा माओवादी केन्द्रका नेता टोपबहादुर रायमाझीले एमाले र माओवादीबिच विचारमा अन्तरहरु भए पनि चुनावी तालमेल र पार्टी एकता हुन सक्ने बताएका छन् । दुवै दलको आ–आफ्नै शर्तहरु भएको भन्दै रायमाझीले विचार, शर्त, योजना लगायतका विषयमा भएको अन्तरलाई छलफलमा लगेर टुङ्गो लगाउने बताए ।
भागबण्डालाई ६० र ४० प्रतिशतका आधारमा बाड्ने सहमति भएको नेता रायमाझीले बताए । एमालेले ६० र माओवादीले ४० प्रतिशतका आधारमा भागबण्डा मिलाउने सहमति भएको हो ।
पार्टीको नेतृत्व र सरकारमा आलोपालो गरेर जाने सहमतिसमेत भएको रायमाझीले जानकारी दिए । साढे दुई वर्ष पुष्पकमल दाहाल र साढे दुई वर्ष केपी शर्मा ओलीले सरकारको नेतृत्व गर्ने गरी सहमति खोज्ने प्रयास भइरहेको नेता रायमाझीको भनाई छ ।
नेपालमा अनावश्यक रुपमा धेरै दलहरु बढ्दै गएकाले नेकपा एमालेसँग एकता गर्न लागिएको रायमाझीले बताएका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै नेता रायमाझीले देशलाई स्थिर राजनीतिमा लगेर विकास निर्माणका कामलाई गति दिन एमालेसँग एकता गर्नुपर्ने अवस्था आएको बताए ।
नेपालमा भएका बामपन्थी दलहरु सबैलाई समेटेर एकतावद्ध हुने अभियान अबको बाटो हुने नेता रायमाझीले बताएका छन् । माओवादी केन्द्रका संसदीय दलका उपनेतासमेत रहेका रायमाझीले दुई दलबिचको एकताका लागि मापदण्डको विषयमा छलफल भइरहेको जानकारी दिएका छन् ।
विगतमा दुई पार्टीविचको तिक्तता र आरोप प्रत्यारोपलाई विर्सेर नयाँ बाटोमा यात्रा गर्न लागिएको भन्दै रायमाझीले भने, “माओवादीले संस्थागत रुपमा एमालेलाई कुनै दोष लगाएका थिएनौँ । एमालेका नेताहरुले हामीलाई केही भने होलान्, अहिले एमालेले गणतन्त्र, संघियता, धर्म निरपेक्षता, समावेशी समानुपातिक प्रणाली स्विकार गरेको छ ।”
“अलग अलग पार्टी हुँदा भनिएको कुरा दोस्रो कुरा हो । नेपाली कांग्रेसले हामीलाई केके भन्यो, हामीले कांग्रेसलाई के भन्यौँ, अहिले हामी सँगै सरकारमा छौँ ।” रायमाझीले भने ।
कुनै बेलाको आवश्यकता अनुसार एमालेलाई गाली गरिएको स्विकार गर्दै रायमाझीले अहिलेको समय परिस्थिती फेरिएको तर्क गरेका छन् ।
आगामी केन्द्रिय प्रतिनिधिसभा र प्रदेश सभाको चुनावका लागि कांग्रेससँग पनि तालमेल गर्न सकिने रायमाझीले बताएका छन् । संसद र प्रदेशको निर्वाचन अघि कुनै पनि बहानामा सरकार परिवर्तन भने नहुने रायमाझीले बताए । अहिलेको सरकार परिवर्तनको जरुरी नभएको बताउँदै भोलीका दिनमा राष्ट्रिय सहमतिको सरकार बनाउने सवालमा भने माओवादी खुला रहेको उनले बताए ।