काठमाण्डौ, १७ असोज । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र संघिय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवबीच भेटवार्ता भएको छ । मंगलबार विहान प्रचण्ड निवास लाजिम्पाटमा भएको एक घण्टाको भेटवार्तामा चुनावी तालमेल र गठबन्धन बनाउनेबारे छलफल भएको थियो ।
त्यस्तै मंसिर १० र २१ गते हुने प्रदेश र प्रतिनिधीसभाको निर्वाचनमा एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा चुनावी सरकार गठन गर्ने विषयमा पनि सहमति भएको फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले पत्रकार ऋषि धमलालाई जानकारी दिएका छन् ।
त्यस्तै नेताहरुबीच तत्काल पार्टी एकता गर्ने विषयमा पनि छलफल भएको अध्यक्ष यादवले बताए । एकताको विषयमा यादवले प्रस्ताव गरे पनि प्रचण्डले भने अहिले चुनावी तालमेल भन्ने जवाफ दिएका छन् ।
यादवले अबको चुनावमा नेपाली कांग्रेससँग कुनै पनि हालतमा चुनावी तालमेल गर्न नसकिने बताएका छन् । यादवले प्रचण्डसँगको भेटमा कांग्रेससँग चुनावी तालमेल नगर्ने आफुहरुको घोषित नीति नै रहेको जानकारी गराएका थिए ।
यादवले भने, “मधेशमा हाम्रो पार्टीलाई हराउनका लागि कांग्रेसले व्यापक शक्तिको दुरुपयोग गरेको थियो, यो पीडा हामीले विर्सन सकेका छैनौँ । त्यसैले कांग्रेससँग हाम्रो चुनावी तालमेल हुन सक्दैन ।”
एमाले अध्यक्ष ओलीको नेतृत्वमा गठन हुने नयाँ चुनावी सरकारमा फोरम नेपालको सहभागिता हुने बारे प्रचण्ड र यादवबिच सहमति भएको स्रोतको दाबी छ ।