Logo

दशैँ तिहारमा नेपालीको खर्च ४ खर्बभन्दा बढि, औसतमा १५ हजार प्रतिव्यक्ति



१७ असोज, काठमाण्डौ । नेपालीहरुको महानचाड दशै र तिहारको समयमा नेपाली अर्थतन्त्र फस्टाउने गर्दछ । चाडवाडको समयमा नयाँ लुगा लगाउने, मिठो खाने परम्परा भएकाले पनि नेपाली बजारमा अर्थतन्त्रको निकै उत्तराचढाव देखिन्छ । बदलिदो जीवनशैली, घुमफिर र चाडवाडको समयमा हुने मुल्यबृद्धिले गर्दा अर्थतन्त्र चलायमान हुने गर्दछ ।
दशैंमा उपत्यका बाट बाहिरीने करिब २५ लाख मानिससँगै अर्थतन्त्र पनि शहरबाट गाउँतर्फ चलायमान हुने गर्दछ । अर्थतन्त्र चलायमान रहनु सकारात्मक सूचक मानिन्छ । दशैं र तिहारजस्ता चाडपर्वमा कुल राष्ट्रिय उपभोगको २० प्रतिशत बराबर उपभोग हुने गरेको पाइन्छ । दशैं र तिहारमा मात्र करिब ४ खर्ब ३२ अर्ब रुपैयाँ बराबरको सामान उपभोग हुन्छ ।

आर्थिक सर्वेक्षण ०७३–७४ अनुसार नेपालको वाषिर्क कुल राष्ट्रिय उपभोग २१ खर्ब ६१ अर्ब रुपैयाँ बराबरको सामान उपभोग हुने तथ्याङकमा उल्लेख छ । करिब दुई करोड ८७ लाख जनसंख्यामध्ये दशैं, तिहारमा प्रतिव्यक्ति औसत खर्च १५ हजार रुपैयाँ हुन्छ । त्यसैले पनि चाडवाडको समयमा बजार चलायमान छ । प्रतिव्यक्ति खर्चको हिसाबले चार खर्ब ३० अर्ब ५० करोड रुपैयाँ दशैं र तिहारमा बजारमा पुग्ने गर्दछ ।

दशैं र तिहारलाई लक्षित गर्दै भदौ महिना देखि नै वस्तु आयात सुरु हुन्छ । जसको परिमाण करिब दुई खर्ब ३० अर्बको हुने गर्दछ । चाडवाडलाई राम्रो लाउने र मिठो खाने पर्वका रुपमा चिनिन्छ । त्यसैले पनि दशैंको सातादिनमा खपत हुने मासुका लागि मात्र करिब ७० करोड रुपैयाँका खसी बोका र भेडा च्यांग्रा आयात बर्षै नै हुने गर्दछ । दशैं तिहारमा कपडाको व्यापार पनि वाषिर्क कारोबारको ४० प्रतिशत बराबर हुने गर्छ ।

नेपालीको जीवनस्तर फेरिएसँगै चाडपर्व मनाउने शैलीमा पनि परिवर्तन भएको छ । चाडपर्वको विदाको समय सदुपयोग गर्दे प्रतिव्यक्ति ६२ हजारदेखि सवा लाख रुपैयाँसम्म खर्च गरेर सिंगापुर, मलेसिया, बैंकक, थाइल्यान्डजस्ता गन्तव्यमा घुम्न जाने परम्पराको सुरुवात भएको छ । चाडपर्वको समयमा रेमिट्यान्स, तलबलगायत शीर्षकमा १० देखि २० अर्ब रुपैयाँ बैंकिङ च्यानलबाट बाहिरिने गरेको राष्ट्र बैंकले जनाएको छ ।

महालेखा नियन्त्रकको कार्यालयका अनुसार दशैंलगायत चाडपर्वमा सरकारी कर्मचारीले मात्र करिब ६ अर्ब ११ करोड रुपैयाँ पेश्की लिन्छन् । जीवनस्तर सर्वेक्षणले देशका ५६ प्रतिशत घरघुरीले रेमिट्यान्स भित्र्याउने गरेको उल्लेख गरेको छ । देश बाहिरका नेपालीले दशैं तिहारकै लागि असोज र कात्तिकमा मात्रै एक खर्ब १७ अर्ब रुपैयाँ रेमिट्यान्स पठाउँने गर्दछन् । चाडपर्वको समयमा मूल्यवृद्धि उच्च हुने सरकारी तथ्यांकले नै देखाउँछन् । राष्ट्र बैंकको पाँच वर्षको तथ्यांक अनुसार असोज महिनामा सात देखि १० प्रतिशतका दरले महँगी बढ्ने गर्दछ ।



प्रतिक्रिया दिनुहोस्