Logo

वाम एकता होइन, दक्षिणपन्थी गठबन्धन हो, प्रचण्ड त क्रान्तिको धारबाट पलायन भइसक्नुभयो : मोहन वैद्य



वाम एकता भन्दै दुई ठूला दलहरु नेकपा एमाले र माओवादी केन्द्रसहित नयाँशक्ति एकताको प्रक्रियामा गएपछि विभिन्न टिकाटिप्पणी भइरहेका छन् । यसै सम्बन्धमा नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्यसँग ऋषि धमलाले अन्तरवार्ता लिएका छन् । उक्त अन्तरवार्ताको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ ।

ठूला बाम एक ठाम, तपाईं चाँही के हेरेर बस्नुभएको छ ?
अब त्यो वाम नै होइन । विचारमा उहाँहरुको मिल्थ्यो । यो एउटा दक्षिणपन्थी गठबन्धन हो । नेकपा माओवादी केन्द्रले पार्टी एकता गरेको होइन, विलय भएको हो ।

त्यसोभए यो कम्युनिष्टहरुको एकता होइन ?
होइन होइन । उहाँहरुले भन्न त भन्नुहुन्छ । तर कम्युनिष्टको सिद्धान्त बाँकी राखेका छैनन् । नाममा कम्युनिष्ट राख्नुभएको छ । तर काममा विल्कुलै छैन । पुरानो सत्ता व्यवस्थाका नयाँ पहरेदार हुन् ।

प्रचण्डलाई कम्युनिष्ट नेता मान्नुहुन्न ?
उहाँ दक्षिणपन्थी हो । प्रचण्ड त क्रान्तिको धारबाट पलायन भइसक्नुभयो । उहाँहरुको लक्ष्य संसदवाद हो । जनताको मुक्ति उहाँहरुको लक्ष्य होइन । प्रचण्डले प्रतिक्रान्ती गरेपछि हामी अलग भएको हो ।

तपाईहरु तालमेलमा नजाने ?
उहाँहरुसँग के तालमेल गर्ने ? हाम्रो पार्टी चुनावमा उठ्ने कुरा हुँदैन । समर्थन गर्ने कुरा होला । त्यो मोर्चाले ठूलो जित हात पार्छ भन्ने हामीले आशा पनि गरेका छैनौँ ।

नेपालमा कम्युनिष्ट एकता असम्भव हो ?
सम्भव छ । त्यो हामी गछौँ । सच्चा क्रान्तिकारीहरुबिचको एकता एकदम आवश्यक भयो । अब त्यो विकल्पको रुपमा हाम्रो पार्टीले सशक्त रुपमा गर्छ ।

अहिलेको जनमत त माओवादी केन्द्र र एमालेतिर गयो । तपाईहरुको पहल कसरी सार्थक हुन्छ ?
एकछिन हावाहुरी लाग्न सक्छ । त्यो हावाहुरीलाई सबैले बुझ्छन् । उहाँहरु ठूला कुरा गर्नुहुन्छ, तर केही उपलब्धी हुँदैन । आर्थिक क्रान्ती, समृद्धी, समाजवाद उहाँहरुको कोरा बकवास मात्रै हो । उहाँहरु विचलित हुनुभएको छ ।

वामपन्थी एकता एकातिर, प्रजातान्त्रिक एकता अर्कोतिर हुने देखिएको छ । अब साना कम्युनिष्ट दलको औचित्य सकिएको हो ?
नेपालका दलहरुमध्ये साना भनिएका दल ठूला र ठूला भनिएका दल अब साना हुन्छन् । कम्युष्टिको हिसाबले उहाँहरुको अस्तित्व सकिएको छ । अब एउटा कम्युनिष्ट आन्दोलनका लागि मिहिनेत गर्नुपर्छ । त्यो मिहिनेत हामी गछौँ । साना दलहरु पनि अब एकीकरणको दिशातर्फ जानुपर्छ ।

तपाईहरु पनि प्रचण्डको पछि लागे हुँदैन र ?
हामी प्रचण्डको पछि किन लाग्ने ? हामी पहिला पनि देशको क्रान्ति र जनताको पछि लागेको हो । उहाँहरुलाई त सत्ता र पद भए पुग्यो । देश र जनताको निम्ति त उहाँहरुले धोका दिनुभयो । प्रचण्डले मोहन वैद्यलाई सँगै लैजाने सपना नदेखे हुन्छ । हाम्रा बाटा फरक फरक हुन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot