१८ असोज, काठमाण्डौ । नेकपा माओवादी केन्द्र विघटन गरिएको भन्दै केही नेताहरुले तिब्र असन्तुष्टी जनाएका छन् । मंगलबार एक कार्यक्रबिच एमाले र माओवादीसहित नयाँ शक्तिले पार्टी एकता प्रक्रिया सुरु गरिएको घोषणा गर्नु माओवादी केन्द्रका लागि ठूलो क्षति भएको नेता मणि थापाले तर्क गरेका छन् ।
पार्टी नेतृत्वले गरेको गल्तीका कारण पार्टीका कार्यकर्ता निराश भएको थापाको जिकिर छ । “माओवादीमा आवद्ध नेता, कार्यकर्ता असन्तुष्ट छन् । असुरक्षित महसुश गरेका छन् । अब कार्यकर्ता खाडी मुलुक जान बाध्य हुनेछन् ।” थापाले भने ।
त्यस्तै अर्का नेता गोपाल किराँतीले पनि एकता प्रक्रियाप्रति असन्तुष्टी जनाउँदै विद्रोह गर्ने संकेत गरेका छन् ।
माओवादी केन्द्रले आफ्ना एजेण्डा सबै छोडेको आरोप लगाउँदै किराँतीले असन्तुष्टी जनाएका हुन् । जनयुद्धदेखिको उपलब्धिलाई कुल्चेर माओवादी नेतृत्वले जनतालाई धोका दिएको उनको आरोप छ ।
थापा र किराँतीले एकता प्रक्रियाप्रति सुरुदेखि नै आपत्ति जनाउँदै आएका थिए ।