Logo

प्राधिकरणका सिइओ गोविन्द पोखरेल र पर्यटनमन्त्री जितेन्द्र देवलाई हदैसम्मको कारबाही गर्ने तयारीमा निर्वाचन अयोग



१९ असोज, काठमाण्डौ । निर्वाचन आचारसंहिता विपरित गतिविधि गरेको भन्दै निर्वाचन आयोगले राष्ट्रिय पुनः निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत गोविन्द पोखरेललाई कारबाही गर्ने तयारी गरेको छ ।
आगामी मंसिरमा हुने प्रदेश सभा र केन्द्रिय प्रतिनिधीसभाको चुनावलाई लक्षित गरी विभिन्न कार्यक्रममा सहभागि भएपछि पोखरेललाई आयोगले कारबाही गर्न लागेको हो । पोखरेल पदीय मर्यादा र नैतिकतासमेत भुलेर गृह जिल्ला प्युठानमा गई नेपाली कांग्रेसको विभिन्न चुनावी कार्यक्रममा सहभागि भएका थिए ।
निर्वाचन आयोगले प्युठानका सिडियोलाई पत्र लेखी पोखरेललाई तुरुन्त काठमाण्डौ झिकाउन लगाएको बताइएको छ । पोखरेललाई तत्काल प्यूठान छोड्ने व्यवस्था मिलाउन प्यूठानका प्रमुख जिल्ला अधिकारीलाई पत्र पठाएको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिएका छन् ।

प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवको अध्यक्षतामा बिहीबार बसेको आयोगको बैठकले राष्ट्रिय पुनः निर्माण प्राधिकरणका कार्यकारी अधिकृत पोखरेल नेपाली कांग्रेसका राजनीतिक कार्यक्रममा सहभागी भएको र कांग्रेसका कार्यकतासँग भेटघाट गरी निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको भन्दै २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।

आयोगको निर्णयमा लेखिएको छ, ’यहाँ जस्तो सार्वजनिक पदधारण गरेको व्यक्तिले कुनै दल विशेषको कार्यक्रममा सहभागी हुने कार्य निर्वाचन आचारसंहिता विपरीतको देखिँदा यहाँलाई निर्वाचन आचारसंहिता उल्लङ्घन गरेबापत कारबाही हुनुपर्ने हो, होइन ? पत्र प्राप्त भएको मितिले २४ घण्टाभित्र जवाफ पेश गर्न राष्ट्रिय पुनः निर्माण प्राधिकरणका कार्यकारी अधिकृत डा.गोविन्द पोखरेललाई स्पष्टीकरण सोध्ने ।

पछिल्लो समय पोखरेल प्राधिकरणको काम छाडेर चुनावका पार्टीको कार्यक्रममा सक्रिय थिए । कांग्रेसले प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीईओ) गोविन्दराज पोखरेललाई प्यूठानबाट प्रतिनिधिसभा चुनावका लागि उम्मेदवारमा सर्वसम्मत सिफारिस गरेको छ । प्यूठानमा मंगलबार बसेको कांग्रेस जिल्ला समितिको बैठकले पोखरेललाई सर्वसम्ममत उम्मेदवारका रूपमा सिफारिस गरेको हो ।

त्यस्तै निर्वाचन आयोगले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जितेन्द्र देवलालई पनि स्पष्टीकरण सोध्ने तयारी गरेको छ । नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सन्जिव गौतमलाई हटाएर आफ्नो मान्छे नियुक्ति गर्न लागेको भन्दै मन्त्री देवलाई काराबाही गर्न लागिएको हो । पर्यटनमन्त्री देवले प्राधिकरणका महानिर्देशक गौतमलाई हटाएर मोटो रकम बुझ्दै नयाँ व्यक्तिलाई महानिर्देशक बनाउन लागेको आरोप लागेको थियो । आयोगले मन्त्री देवलाई आयोगमा स्वयम् उपस्थित भएर स्पष्टीकरण दिनसमेत पत्र काटेको छ ।

निर्वाचन आचारसंहिता लागु भइसकेपछि कर्मचारी हटाउने नियुक्ति गर्ने काम आचारसंहिता विपरित भएको भन्दै आयोगले कारबाही गर्न लागेको हो ।
गौतमलाई बदनियतपूर्ण तरिकाले हटाउन लागेको भन्दै उनकै दल लोकतान्त्रिक फोरमले पनि सरकारबाट फिर्ता बोलाउने चर्चा चलेको थियो ।



प्रतिक्रिया दिनुहोस्