Logo

नयाँ शक्ति र एमालेद्वारा उम्मेदवार सिफारिस



cpn-uml-1

फलेवास, पर्वत, २१ असोज । आगामी मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि नयाँ शक्ति पार्टीले उम्मेदवार टुंगो लगाएको छ ।

नयाँ शक्तिको शुक्रबार सम्पन्न बैठकले संघ र प्रदेशका लागि प्रत्यक्ष र समानुपातिकतर्फ उम्मेदवार छनोट गरेको होे । प्रतिनिधिसभाका लागि प्रत्यक्षमा महाशिला गाउँपालिकाकी कमला गुरुङ र मोदी–२का यामबहादुर चोचाङ्गी तथा कुश्मा नगरपालिका–११ का सुनिल पौडेललाई छनोट गरेको छ भने समानुपातिकतर्फ मोदी–६ का देवीकुमारी क्षेत्रीलाई सिफारिस गरेको छ ।

त्यस्तै प्रदेशसभाका लागि क्षेत्र ‘क’ बाट प्रत्यक्षतर्फ कुश्मा नगरपालिका–१२ का विनोद सुवेदी र मोदी गाउँपालिका–६ का महेन्द्रजंग लामिछाने तथा समानुपातिकमा मोदी–६ कै रामकुमारी तामाङलाई छनोट गरिएको छ ।

त्यस्तै क्षेत्र ‘ख’ बाट फलेवास नगरपालिका–२ का ओमबहादुर भण्डारी र फलेवास–८ का नीलकुमार रिजाललाई छनोट गरिएको छ भने क्षेत्र ‘ख’ बाट सामानुपातिकमा फलेवास–२ की कमला सापकोटालाई छनोट गरिएको नयाँ शक्तिका संयोजक महेन्द्रजंग लामिछानेले जानकारी दिनुभयो ।

एमालेद्वारा ४५ जना सिफारिस

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि नेकपा एमालेले उम्मेदवार सिफारिस गरेको छ । एमालेको शुक्रबार सम्पन्न जिल्ला कमिटी बैठकले पार्टीको केन्द्रमा उम्मेदवार सिफारिस गरेको हो ।

प्रत्यक्षमा प्रतिनिधिसभा र प्रदेशका लागि नौ र समानुपातिकमा दुवैका लागि नौ गरी १८ जनाको नाम पठाउनुपर्ने भए पनि सहमति हुन नसकेपछि ४५ जनाको नाम केन्द्रमा पठाइएको हो ।

पाँच जना प्रतिनिधिसभाको प्रत्यक्षतर्फका लागि र चार जना प्रतिनिधिसभाको समानुपातिकका लागि तथा अन्य प्रदेशसभाको प्रत्यक्ष र समानुपातिक उम्मेदवारका आकांक्षी छन् ।

बैठकले पोलिटब्यूरो सदस्य गणेश तिमिल्सिनालाई पार्टीले मुख्यमन्त्रीका रुपमा प्रस्तावित गरेमा सर्वसम्मत रुपमा पर्वत क्षेत्र ‘क’ बाट प्रदेशसभा सदस्यमा उठाउने निर्णय गरेको छ ।

त्यस्तै प्रतिनिधिसभामा एमाले केन्द्रीय अनुशासन आयोगका सदस्य गणेशप्रसाद पौडेल, सांसद विकास लम्साल र कल्पना चापागाईं, प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य गणेश पौडेल र नेता कृष्णप्रसाद लम्सालको नाम सिफारिस गरिएको छ ।

त्यस्तै प्रतिनिधिसभामा समानुपातिकका लागि अनिताकुमारी गुरुङ, शान्ति नेपाली, प्रेम गुरुङ र पीताम्बर शर्माको नाम पठाइएको छ ।

त्यस्तै प्रदेशसभा सदस्यमा प्रत्यक्षतर्फका उम्मेदवारका लागि बिहीबार सम्पन्न क्षेत्रीय कमिटीको बैठकबाट आएका नामलाई जस्ताको त्यस्तै केन्द्रमा पठाउने निर्णय गरेको छ ।

एमाले क्षेत्र नं १ ले सात र क्षेत्र नं २ बाट १२ उम्मेदवारको नाम आएको थियो । एमाले पोलिटब्यूरो सदस्य तिमिल्सिनाले पार्टीले प्रदेश नं ४ को मुख्य मन्त्रीका रुपमा प्रस्तावित गरेमा पर्वत क्षेत्र ‘क’ बाट उठ्ने आकांक्षा राख्नुभएपछि दुवै क्षेत्रबाट उहाँलाई सर्वसम्मत बनाउने निर्णय गरेका थिए ।

प्रदेशतर्फ भने बिहीबार क्षेत्रीय कमिटीबाट नाम आएका जिल्ला अध्यक्ष पदम गिरी, उपाध्यक्ष भक्त कुँवर, बाबुराम सुवेदी, उदय सुवेदी, लक्ष्मी सुनार र सरिता भण्डारी तथा क्षेत्र नं २ बाट प्रस्ताव गरिएका मोती पौडेल, देवेन्द्रराज पाण्डे, पूर्ण गौतम, बैकुण्ठ भुसाल, हरिकुमार श्रेष्ठ, सुन्दर भुसाल, भक्तराज सुवेदी, उमाकान्त सुवेदी, पुष्पराज पौडेल, देवीप्रसाद बस्याल, कमलाकुमारी श्रेष्ठ र सुरक्षा लामिछानेलाई सिफारिस गरिएको छ ।

त्यसैगरी प्रदेशसभा समानुपातिक सांसदका लागि थप १६ जनाको नाम सिफारिस गरिएको एमाले पर्वतका उपसचिव गोविन्द पहाडीले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लामै सहमति हुन नसकेपछि दरखास्त परेका सबैको नाम केन्द्रमा पठाइएको हो ।

उम्मेदवार सिफारिस गर्न बसेको बैठकले आगामी निर्वाचनलाई प्रभावकारी रुपमा अघि बढाउने महत्वपूर्ण निर्णयसमेत गरेको एमाले जिल्ला अध्यक्ष पदम गिरीले जानकारी दिनुभयो ।



प्रतिक्रिया दिनुहोस्