Logo

एउटै कम्युनिष्ट केन्द्र बनाएर समाजवादी क्रान्ति गर्छाैं : प्रचण्ड



काठमाडौँ, २२ असोज। पूर्व प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेपालमा छरिएर रहेका सम्पूर्ण कम्युनिष्ट शक्तिहरुलाई एउटै केन्द्रमा ल्याएर समाजवादी क्रान्ति गर्ने बताउनु भएको छ ।
शनिबार काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित केन्द्रीय प्रशिक्षण कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘विश्व कम्युनिष्ट आन्दोलन रक्षात्मक अवस्थामा छ । तर, नेपालका कम्युनिष्टहरुलाई जनताको अपार समर्थन र विश्वास छ । त्यसलाई मर्न दिनु हुँदैन । विभिन्न धारामा रहेका कम्युनिष्टहरुलाई एउटै केन्द्रमा ल्याएर मात्र नेपालमा समाजवादी क्रान्ति गर्न सकिन्छ । समाजवादी क्रान्तिको तयारीमा लाग्ने वैचारिक प्रतिवद्धतासहित पार्टी एकताको तयारीमा जुटेका छौं । यो हामी सबैका लागि महान् बहस हो, समाजवादी क्रान्तिका लागि महान् बहसमा जुटौं, फराकिलो छाति बनाएर कम्युनिष्टहरुको एउटै केन्द्र निर्माण गरौं ।’

‘पार्टी एकता कसैले कसैलाई निल्ने विषय होइन, यो त समान उद्धेश्यका लागि वैचारिक एकतासहित नयाँ उचाईमा पुग्ने प्रक्रिया हो’, प्रशिक्षणमा अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘हाम्रा आ–आफ्नै मान्यता र दृष्टिकोण छन्, त्यसमा अडिएर एकता हुँदैन । एमाले–माओवादी दुवैले महान बहसको प्रक्रियाद्धारा नेपाली क्रान्तिको सिद्धान्तलाई विकसित गर्ने प्रतिवद्धता व्यक्त गरेका छौं । हामी आफै पनि रुपान्तरणको प्रक्रियामा छौं, कम्युनिष्ट आन्दोलन र सिङ्गो राष्ट्रलाई रुपान्तरण गरेर मात्र विश्वलाई नयाँ सन्देश दिन सकिन्छ ।’

प्रशिक्षणमा आफूले नै एकताको प्रस्ताव गरेको अध्यक्ष प्रचण्डले बताउनु भयो । उहाँले भन्नुभयो, ‘हाम्रै प्रस्तावमा एकता प्रक्रिया आरम्भ भएको हो । यो फस्ने, फसाउने विषय होइन, हामी इमान्दार भएर अन्तिमसम्म एकताकै प्रक्रियामा जान्छौं । कसैलाई फसाउने हाम्रो सोच छैन र फसिने सवाल पनि होइन । वैचारिक, राजनीतिक मुद्धा र कार्यदिशामा एकरुपता कायम गरेर नयाँ पार्टी निर्माण गर्ने हाम्रो संकल्प हो ।’

‘हाम्रो चुनावी समीकरण र पार्टी एकता प्रयास कसैका विरुद्ध छैन, नेपालमा वैचारिक धारामा नजिक रहेका पार्टीहरु मिल्दा नै देश र जनताको हित हुन्छ’, अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘एमाले–माओवादी एकताले देशमा तत्कालै साम्यवादी शासन आउने होइन, अधिनायकवाद जन्मने पनि होइन । संविधानले समाजवादउन्मूख राज्यको दिशानिर्देश गरेको छ, हामी शान्तिपूर्ण र राजनीतिक प्रतिस्पर्धाकै माध्यमबाट समाजवादमा जान्छौं, यसबारे कसैले भ्रम पाल्न जरुरी छैन ।’

एकता नै राष्ट्रको हितमा छ, ‘श्रेष्ठ’

प्रशिक्षणमा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले कम्युनिष्ट क्रान्तिकारी र बामपन्थीहरुको एकता राष्ट्रको हितमा भएको बताउनु भयो । प्रशिक्षणमा बोल्दै नेता श्रेष्ठले भन्नुभयो, ‘स–साना समूहमा रहेर समाजवादको कार्यभार पुरा गर्न सकिँदैन । समाजवादका पक्षधर सम्पूर्ण शक्तिहरु एकतावद्ध भएर अघि बढ्नुको बिकल्प छैन । हाम्रो एकता र सहकार्यको प्रयास राष्ट्रको हितमा छ । यो प्रयासलाई खुट्टा नकमाइकन एकतामै लागे संकल्प गर्नुपर्छ ।’

एमालेकरण र माओवादीकरण दुवै हुँदैन, ‘बादल’

प्रशिक्षणमा बोल्दै अर्का नेता रामबहादुर थापा ‘बादल’ले पार्टी एकता एमालेको माओवादीकरण र माओवादीको एमालेकरण नभएको बताउनु भयो । नेता बादलले भन्नुभयो, ‘बजारमा माओवादीको एमालेकरण वा एमालेको माओवादीकरण जस्ता प्रायोजित विषय उठाइएको छ । माओवादी एमालेमा विलय हुने होइन, एमाले माओवादीमा बिलय हुने कुरा पनि होइन । बरु, दुवैले आफ्ना दृष्टिकोण र मान्यताबाट माथि उठेर क्रान्तिको नयाँ सिद्धान्त निर्माण गर्ने र नयाँ पार्टी निर्माण गर्ने हो ।’

प्रशिक्षणमा कृष्णबहादुर महरा, देव गुरुङ, वर्षामान पुन, मातृका यादव, पम्फा भुसाल, लेखराज भट्ट, हितमान शाक्य लगायतका नेताहरुले जोखिम मोलेर मात्रै देशको राजनीति र जनताको जीवनमा कायापलट गर्न सकिनेमा जोड दिँदै महान् बहसको माध्यमद्धारा एकतालाई तार्किक निष्कर्षसम्म लैजानुपर्ने बताउनु भयो ।

 

 



प्रतिक्रिया दिनुहोस्