Logo

केसीले ८० घण्टा ४ मिनेट भाषण गरेर कीर्तिमान बनाए



काठमाडौँ, २२ असोज : भाषण गरेर गिनिज बुकमा नाम लेखाउने उद्देश्यका साथ नुवाकोट जिल्ला चिसापानीका अनन्तराम केसीले लगातार ८० घण्टा ४ मिनेट भाषण गरी विश्व कीर्तिमान बनाउनुभएको छ ।

मित्रपार्कस्थित टेक्सास इन्टरनेशनल कलेजमा केसीले यही असोज १९ गते विहान ६ बजेदेखि आज दिउँसो ३ बजेर २ मिनेटसम्म भाषण गर्नुभएको विश्व दर्शन अभियान नेपालका अध्यक्ष नारायणप्रसाद भट्टराईले राससलाई जानकारी दिनुभयो । ८० घण्टा ४ मिनेटको भाषणको रेकर्ड गिनिज बुकमा पठाएर विश्वकीर्तिमानका लागि दावी गरिनेछ ।

यसअघि भारतको गुजरातस्थित सुरतका अश्विन सुडानीले यस्तो लगातार भाषणको ७५ घण्टा ३२ मिनटको रेकर्ड राख्नुभएको छ । उहाँले विभिन्न ७५ शीर्षकमा भाषण दिनुभएको बताइएको छ ।

सो कीर्तिमानका लागि लायन्स क्लव अफ काठमाडौँ विहानीको आयोजना तथा लियो क्लवलगायतका संस्थाको सहयोगमा सो कलेजमा आयोजना गरिएको कार्यक्रममा उहाँले ८४ घण्टा भाषण गर्ने योजना भएपनि आज दिउँसोसम्म ८० घण्टा ४ मिनेट मात्र भाषण गर्न उहाँ सफल हुनुभएको थियो ।

भाषणमा केसीले एक घण्टामा पाँच मिनट विश्राम गर्दै विभिन्न विषयमा प्रवचन दिनुभएको थियो । उहाँले दिनरात उभिएर र समय समयमा कुर्सीमा बसेर समेत भाषण गर्नुभएको हो ।(रासस)



प्रतिक्रिया दिनुहोस्