Logo

गौचन हत्याबारे एआइजी जयबहादुर चन्द र गृहराज्यमन्त्रीले यसो भने



२४ असोज, काठमाण्डौ । नेपाल प्रहरीका एआइजी जयबहादुर चन्दले निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनका हत्याराको खोजी भइरहेको बताएका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै चन्दले यथासम्भव छिटो हत्यारा पक्राउ गरिने प्रतिवद्धता व्यक्त गरे ।
गोली प्रहारपछि राजधानीमा त्रासको वातावरण भएको भन्दै चन्दले यस्तो वातावरणको छिटै अन्त्य गरिने दाबी गरे ।
हरेक स्थानमा प्रहरी हुन नसक्ने भन्दै कहिलेकाँही प्रहरीको काबु बाहिरको परिस्थितीको फाइदा उठाएर अपराधीले गोली प्रहार गरेको चन्दको स्विकारोक्ति छ ।
हत्यारा पत्ता लगाउनका लागि कोसिस भइरहेको जानकारी दिदै चन्दले अहिलेसम्म कुनै उपलब्धि भए नभएको बारेमा खुलाएका छैनन् ।

गौचनमाथि गोली प्रहार हुँदा एउटा मात्रै बन्दुक प्रयोग भएको चन्दले जानकारी दिएका छन् ।
यस्तै गृहराज्यमन्त्री श्यामकुमार श्रेष्ठले गौचनको हत्या हुनु असाध्यै दुखद भएको बताउँदै गृहमन्त्रालयले हत्याराको खोजी कार्य तिब्रताका साथ अघि बढाइएको जानकारी दिए । “केही व्यक्तिलाई पक्राउ गरी अनुसन्धान भइरहेको छ । केही दिनमा नै सत्य तथ्य सार्वजनिक हुन्छ ।” श्रेष्ठले भने ।

दिन गनेर यति दिनमै हत्यार पत्ता लाग्छ भन्न नसकिने श्रेष्ठको भनाई छ । हत्यारालाई कुनै पनि हालतमा उम्किन नदिने उनको दाबी छ ।
कुनै नागरिकले आफु असुरक्षित महसुस गरेको खण्डमा राज्यलाई जानकारी गराउन अनुरोध गर्दै मन्त्री श्रेष्ठले सुरक्षा निकायले सुरक्षा प्रदान गरिने बताए ।



प्रतिक्रिया दिनुहोस्