Logo

निर्वाचन आयोगले सरकार फेरबदलका लागि स्विकृति दियो भने राप्रपा सरकारमा जान्छ : प्रवक्ता रोशन कार्की



वाम गठबन्धनपछि चर्चामा आएको लोकतान्त्रिक गठबन्धनको एउटा प्रमुख दल हो राष्ट्रिय प्रजातन्त्र पार्टी । सरकारमा जाने शर्तसहित शेरबहादुर देउवा नेतृत्वको सरकारलाई राप्रपाले समर्थन गरिसकेको छ । तर निर्वाचन आचारसंहिता लागु भएकाले राप्रपा सरकारमा सहभागि हुन समस्या देखिएको छ । यिनै विषयमा राप्रपाका प्रवक्ता रोशन कार्कीसँग कुराकानी गरिएको छ । नेपाली रेडियो नेटवपर्कको कार्यक्रम नेपाली बहसका लागि गरिएको कुराकानीका क्रममा विभाजित राप्रपाको एकतादेखि पशुपतिशमशेरले पार्टी फुटाउनुको कारण हिन्दुराष्ट्रको मुद्दासमेत खोतल्ने प्रयास भएको छ । कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ ।

तपाईहरु सरकारका जाने तयारीमा हुनुहुन्छ । तर एमाले र माओवादीले चुनावको मुखमा मन्त्रीमण्डल फेरबदल गर्न मिल्दैन भनेका छन् । अब तपाईहरु के गर्नुहुन्छ ?
सरकार फेरबदलसँग राष्ट्रिय प्रजातन्त्र पार्टीको के सम्बन्ध छ र ?

तपाईहरु सरकारमा जानको लागि खुट्टा उचालेर बस्नुभएको होइन ?
राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारमा जानका लागि कहिल्यै पनि खुट्टा उचालेको छैन । राप्रपाले देशको समस्या समाधानलाई प्राथमिकता दिएको छ । आवश्यक परेको बेला दिएको पदसमेत छोडिएको छ ।

सरकारमा सहभागि हुने र सरकारलाई समर्थन गर्ने विषयमा राप्रपाले केही शर्त अघि सारेको होइन ?
देउवाको सरकार, जुन सरकारले राप्रपालाई विभाजित बनायो । त्यो सरकारलाई राप्रपाले किन समर्थन ग¥यो त ? किनभने राप्रपा जहिले पनि संविधान कार्यान्वयको पक्षमा छ । संविधानलाई क्रियाशिल बनाउँदै देशलाई दुर्घटनाबाट बचाउँन र चुनाव सम्पन्न गराउनका लागि राप्रपाले सरकारको समर्थन गरेको हो ।

कमल थापा उपप्रधान तथा गृहमन्त्री बनेर सरकारमा सहभागि हुन लाग्नुभएको होइन ?
त्यसो होइन । निर्वाचनको मिति घोषणा भएर आचारसंहिता लागु भइसकेको अवस्थामा निर्वाचन आयोगले सरकार फेरबदल गर्नका लागि स्विकृति दियो भने राप्रपा सरकारमा जान्छ । तर सरकारमा जानका लागि मात्रै सरकारको समर्थन गरिएको होइन । यदी सरकारमा जान मिल्यो भने राप्रपाले ५वटा मन्त्रालय पाउनुपर्छ । तर यो विषयमा सहमति भएर सरकारलाई समर्थन गरिएको होइन । हाम्रो पहिलो शर्त चुनाव गराउने नै हो ।

निर्वाचन आयोगले सरकार फेरबदल गर्न दिएन भने तपाईहरु के गर्नुहुन्छ ?
हामी केही गर्दैनौँ । सरकारलाई समर्थन गरेर चुनाव गराउन सहयोग गछौँ । निर्वाचन आयोगले मिल्दैन भन्यो भने जबरजस्ती जान त मिलेन नि । हामीले त निर्वाचन सम्पन्न गराउनका लागि वैगुनी नेपाली कांग्रस नेतृत्वको सरकारलाई समर्थन गरेका हौँ ।

निर्वाचनको मिति सार्नका लागि छलफल भएको हो ?
होइन । हामी त निर्वाचन तोकिएकै मितिमा सम्पन्न गराउनका लागि प्रतिवद्ध छौँ । त्यसैका लागि नै सरकारलाई समर्थन गरिएको हो । निर्वाचनको मिति सारेर देशलाई दुर्घटनामा पार्नु हुँदैन ।

तपाईहरु गठबन्धन गर्ने कि चुनावी तालमेल गर्ने ?
हामी कमण्डलु लिएर पशुपतिमा जय शियाराम भन्न गएको होइन । त्यसैले गठबन्धन गर्दैनौँ । तर सरकारलाई समर्थन गरेपछि चुनावी तालमेल पनि गर्नुपर्छ । नत्र हामी जोगी त होइन नि । शेरबहादुर र प्रचण्ड मिलेर राप्रपा फुटाएका हुन् । जनताले यो कुरा बुझ्नुपर्छ । पार्टी फुटाउने दललाई नै हामीले समर्थन गरेका छौँ । यो हामीले त्याग गरेको हो । राप्रपाले मन अमिलो हुँदा हुँदै पनि सरकारलाई समर्थन गरेको छ । सम्मानित न्यायालय र निर्वाचन आयोगले हामीलाई अन्याय गरेको छ । तर संविधान कार्यान्वयनका लागि हामीले सरकारलाई समर्थन गरेका हौँ ।

चुनावी तालमेलका लागि कति सिट माग्नुभएको छ ?
यो विषयमा त संसदीय समिति र हाइ कमाण्डले निर्णय गर्छ । तर हाम्रो पार्टीलाई कम्तिमा १५ प्रतिशत सिट दिनुपर्छ । तराई केन्द्रित पार्टीले ५५ प्रतिशत मागेको छ भने हामीले १५ प्रतिशत माग्नु कुन ठूलो कुरा भयो र ?

राप्रपालाई सात सिट दिने कुरा भइरहेको छ नि ?
त्यो त तर्क होला । ४, ५, १५ जति देला । नेपाली कांग्रेस कति सिटमा आउला । त्यो त जनताको मतले थाहा हुन्छ । चुनाव हुन बाँकी नै छ नि । सात सिट दिने कुरा मलाई थाहा छैन । तर हामीले नेपाली कांग्रेससँग भिक मागेको होइन ।

तपाईहरु त शक्ति भनेपछि त हुरुक्कै हुनुहुन्छ नि ?
शक्तिका लागि हुरुक्कै नहुने को छ ? ल देखाउनुस् न । संसारमा सबैले सत्ताको लागि राजनीति गर्ने हो । जोगि बनेर रामराम भन्नलाई होइन । सिंहदरबारभित्र गएपछि मात्रै आफ्ना एजेण्डा कार्यान्वयन गर्न सकिन्छ । हामी हिन्दुराष्ट्र स्थापनाको अभियानका लागि लडिरहेका छौँ ।

हिन्दुराष्ट्र स्थापना गर्ने कुरा त अब असम्भव भइसक्यो नि ?
धर्मरिपेक्षतामा गयो भन्दैमा हिन्दुराष्ट्र बनाउन सकिदैन र ? हिन्दुत्वको आधारमा यो राष्ट्र संचालन भएको छ भने हिन्दुराष्ट्र घोषणा गर्नु कुन ठूलो कुरा हो ?

त्यसको लागि त दुई तिहाई चाहिन्छ नि ?
प्रचण्डले कि टिका लगाएको ? भैँसी पूजा किन गरेको ? हाम्रो राष्ट्रपति विद्यादेवी भण्डारीले हिन्दुत्वको आँचरण गर्नुभएको छ । दशैँ बहिष्कार गर्ने जनजातीहरुले पनि दशैँमा टिका लगाउन थालेका छन् । हिन्दुराष्ट्र भयो भने मात्रै सबै धर्मको सम्मान हुन सक्छ ।

नेपाललाई हिन्दुराष्ट्र बनाउन प्रधानमन्त्री शेरबहादुर देउवा पनि सहमत हुनुभएको हो ?
उहाँ त जे काम गर्दा पनि ज्योतिषीको विश्वासमा गर्नुहुन्छ । पूजा गर्नुहुन्छ । उहाँमा हिन्दुत्व छ । अनि हिन्दुराष्ट्र बनाउन किन नमान्ने ? खुमबहादुर खड्काले पनि नेपाली कांग्रेसभित्र हिन्दुराष्ट्रको बहस चलाउनुभएकै छ । एमालेभित्र पनि चलेको छ ।

राप्रपाबाट विभाजित भएका पशुपतिशमशेर राणा र प्रकाशचन्द्र लोहोनीबिचमा एकता हुने सम्भावना छ कि छैन ?
प्रकाशचन्द्र लोहोनीसँग एकता कुरा भइरहेको थियो । पशुपतिशमशेर राणाको पार्टीसँग त चुनावी तालमेल गरेका छौँ । पार्टी एकताका लागि कुरा मिल्न पनि सक्छ, नमिल्न पनि सक्छ । पार्टी फुटिसकेको छ । जति नै मिलाए पनि एउटा चिरा त बसिरहन्छ । तर पनि एउटै लोकतान्त्रिक गठबन्धमा हामी सहयात्री छौँ । केशरबहादुर विष्टले पनि छोरालाई झण्डा हल्लाउँदै पठाइसक्नुभएको छ ।



प्रतिक्रिया दिनुहोस्