Logo

उपेन्द्र महतोले भने,“भवन र जमुनामध्ये एकजना रोज्नुपर्यो भनेपनि म दुवै जना रोज्छु”



काठमाडौं, २७ असोज । गैर आवसीय नेपाली संघका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले नेपालीहरु जुन देशमा रहेर काम गरेपनि नेपाली नै भएको र नेपालकै विकास चाहेको दाबी गरेका छन् ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै महतोले विदेशमा काम गर्ने नेपालीहरुले संस्थाभित्र राजनीति नगर्ने दाबी प्रस्तुत गर्दै गैर आवसीय संघ एनआरएनए पवित्र संस्था भएको बताए ।

एनआरएनएलाई राजनीतिबाट मुक्त गराउन सके मात्र देशमा लगानी भित्रिन सक्ने तर्क गर्दै महतोले नेपालका राजनीतिक दलहरुले यस संस्थाभित्र राजनीति प्रवेश गराउन नहुने बताए ।
विदेशमा रहेका ६० लाख नेपालीमध्ये जोकोही पनि एनआरएनको अध्यक्ष पदका लागि योग्य भएको बताउँदै महतोले चुनावका बेला गुट उपगुट हुनु सामान्य भएको बताए । यद्यपी अध्यक्षजस्तो गरिमामय पदमा चुनाव नभई सर्वसम्मत् योग्य व्यक्ति छनौट गर्नुपर्ने आफ्नो धारणा रहेको महतोले बताए । “मेरो प्रयास अन्तिमसम्म पनि संघको अध्यक्षको पद सर्वसम्मतबाट हुनुपर्छ भन्ने नै रहनेछ” महतोले भने ।

एनआरएनएको अध्यक्षका लागि भवन भट्ट र जमुना गुरुङले उम्मेदवारी घोषणा गरिसकेका छन् । तपाईको समर्थन कसलाई हो भने भन्ने प्रश्नमा महतोले मलाई दुई जनामा एक जना रोज्नुप¥यो भने पनि दुवै जनालाई रोज्छु भन्दै पन्छिए । यद्यपी योग्य व्यक्ति नै एनआरएनएको नेतृत्वमा पुग्नुपर्ने धारणा महतोले राखे ।

एनआरएनएको विश्व सम्मेलन भोली शनिवारबाट काठमाण्डौमा सुरु हुँदैछ । अहिलेसम्म एनआरएनएको नेतृत्व चयनका लागि आफुले भोट नखसालेको उदाहरण दिँदै महतोले यसपटक पनि भोट गर्न नपर्ने वातावरण सृजना गराउने प्रयासमा रहेको बताए ।

निर्वाचनबाट नै अध्यक्षको टुङ्गो लगाए पनि निर्वाचनपश्चात एनआरएनएभित्र कुनै पनि गुट उपगुट बाँकी नरहने उनको दाबी छ । अहिले पनि संस्थाभित्र राजनीति प्रवेश नगरेको महतोले दाबी गरे । आफ्नो गुटभित्र नै विदेशमा रहेका सबै ६० लाख नेपाली रहेको भन्दै उनले अरु कुनै गुट नभएको जिकिरसमेत गरे । एनआरएनए बलियो र पवित्र संस्था भएको महतोको दाबी छ ।

विदेशमा वर्षौसम्म काम गरेका नेपालीहरु नेपालमा नै केही गर्नुपर्छ भनेर स्वदेशमा आएर योगदान दिने गरेको पूर्व अध्यक्ष महतोको कथन छ । अहिलेसम्म एनआरएनएको तर्फबाट नेपालमा धेरै लगानी भएको दाबी गर्दै महतोले आगामी दिनमा पनि लगानी बढाउँदै लैजाने बताए । एनआरएनए धनीहरुको संस्था भएको जिकिर गर्दै महतोले संस्थाले सबै नेपालीलाई धनी बनाउने सपना देखेको बताए । PHOTO SOURCE: Business 360 Magazine



प्रतिक्रिया दिनुहोस्