Logo

प्रकोपको कारण विकासले सोचेजति गति लिन सकेन : मन्त्री गौतम



काठमाडौँ, २७ असोज  : सिचाइँ मन्त्री सञ्जयकुमार गौतमले प्राकृतिक प्रकोपका कारण पनि विकासले सोचेजति गति लिन नसकेको बताउनुभएको छ ।

नेपाल भौगर्भिक समाजले अन्तर्राष्ट्रिय प्रकोप न्यूनीकरण दिवसका अवसरमा आज यहाँ आयोजना गरेको कार्यशालामा मन्त्री गौतमले भूकम्प, भूक्षय, बाढी, पहिरो, हिमतालजस्ता प्राकृतिक प्रकोपको हिसाबले अति नै जोखिम रहेकाले विकासको काममा सहजता नभएको बताउनुभएको हो । उहाँले नेपालमै रहेको स्रोत साधनको प्रयोग गर्दै अनुसन्धानमूलक तरिकाबाट विकासको काम अघि बढाउनुपर्नेमा पनि जोड दिनुभयो ।

कार्यक्रममा पुनःनिर्माण प्राधिकरणका कार्यकारी अधिकृत प्रा डा गोविन्दराज पोखरेलले प्राकृतिक प्रकोपबाट हुने क्षतिलाई न्यूनीकरण गर्न वैज्ञानिक तरिकाले विकासको काम अघि बढाउनुका साथै एकीकृत बस्तीलाई जोड दिनुपर्ने धारणा राख्नुभयो ।

राष्ट्रपति चुरे तराई मधेश संरक्षक समितिका अध्यक्ष डा वीरेन्द्रकुमार यादवले मुलुकमा सबैभन्दा पछि परेको स्थान चुरे रहेको भए पनि राज्यको ध्यान कम परेकाले बजेट पनि अत्यन्तै कम छुट्याइने गरेको गुनासो गर्नुभयो ।

नेपाल भौगर्भिक समाजका उपाध्यक्ष गणेश त्रिपाठीले मानिसको लापर्बाहीका कारण पहाडको वनजंगल फँडानी हुने, तराईको उर्बर भूमिमा बालुवा आउने क्रम तीव्र रहेको हुँदा यसले झन प्राकृतिक विपत्तिलाई बढाएकाले राज्यले विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो । (रासस)



प्रतिक्रिया दिनुहोस्