Logo

शुक्लाफाँटा नगरपालिकामा हात्ती आतंक



कञ्चनपुर, २७ असोज  : शुक्लाफाँटा नगरपालिका क्षेत्रमा जंगली हात्तीको झुण्डले धानबालीमा ब्यापक नोक्सानी गर्न थालेपछि स्थानीय बासिन्दा रातभर जाग्राम बस्न थालेका छन् ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट साँझ नपर्दै बस्तीमा छिर्ने हात्तीको झुण्डले नगरपालिकाको वडा नं ५ र ६ का किसानको धानबालीमा ब्यापक नोक्सानी गरेको छ ।

हात्ती धपाउनका लागि जनप्रतिनिधिसहित स्थानीय बासिन्दा रातभर खेतमा पहरा दिने गरेका छन् । एक सातादेखि निरन्तर रुपमा खेतबारीमा छिर्दै आएको हात्तीको झुण्डले पाकेर काट्नका लागि तयार भएको तीन बिगाहा बढी जग्गाको धानबालीमा नोक्सानी गरेको छ ।

हात्तीको झुण्डले धान खानुका साथै खुट्टाले कुल्चेर बढी नोक्सानी पु¥याउन थालेको नगरपालिका–६ का वडा अध्यक्ष जगता रानाले बताउनुभयो । हात्तीको झुण्डले वडा नं–५ मा दुई दर्जन बढी स्थानीयवासीको दुई बिगा दश कठ्ठा बढी जग्गा र वडा नं–५ मा आधा दर्जन बासिन्दाको आधा बिगा जग्गामा लगाएको धानबालीमा नोक्सानी पु¥याएको छ ।

हात्ती आएपछि घर नै छाडेर ज्यान जोगाउन सुरक्षित स्थानमा भाग्नुपर्ने अवस्था सिर्जना भएको खजुवाका धनमति खत्रीले बताउनुभयो । खत्रीको घरको पर्खाल गत साता हात्तीको झुण्डले भत्काएको थियो ।

जंगली हात्तीको झुण्ड भगाउनका लागि निकुञ्जका कर्मचारीले कुनै सहयोग नगरेको र धानबालीमा भएको क्षतिपूर्तिका लागि माग गरिए पनि नपाइएको स्थानीय बासिन्दाको भनाइ छ ।

रातिका बेला स्थानीयवासीका खेतमा छिर्ने हात्तीको झुण्ड बिहान हुनै लाग्दा निकुञ्जमा फर्कने गरेको छ । (रासस)



प्रतिक्रिया दिनुहोस्