Logo

ललितपुरको दुर्गम गाउँमा स्नातक तह सञ्चालनका लागि महायज्ञ



काठमाडौँ, २८ असोज : ललितपुर जिल्लाको दुर्गम कुञ्न्जोसोम गाउँपालिका–५ भारदेउमा रहेको बालेश्वरी माध्यमिक विद्यालयमा स्नातक तहको क्याम्पस सञ्चालनका लागि श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ शुरु भएको छ ।

असोज २२ गतेदेखि शुरु भएको महायज्ञ ३० गतेसम्म सञ्चालन हुने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुवीन्द्र तामाङले राससलाई जानकारी दिनुभयो । क्याम्पस तह सञ्चालनका लागि आर्थिक सहयोग जुटाउने उद्देश्यले महायज्ञ आयोजना गरिएको हो ।

लेलेबाट आठ किमीको दूरीमा रहेको यो ठाउँमा स्नातक तहको क्याम्पस नहुँदा उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थी राजधानीमै पुग्नुपर्ने बाध्यता रहेकाले महायज्ञमार्फत आर्थिक स्रोत संकलन गर्न लागिएको विद्यालयका प्रधानाध्यापक बाबुलाल तामाङले जानकारी दिनुभयो ।

महायज्ञको पाँचौँ दिन शुक्रबारसम्म रु ११ लाख संकलन भएको छ । महायज्ञमा मनोज नेपाल र मुकुन्द नेपालले पाठ पारायण एवम् कथा वाचन गरिरहनुभएको छ ।(रासस)



प्रतिक्रिया दिनुहोस्