Logo

उपेन्द्र महतोले एनआरएन कुनै व्यक्तिको नभई ६० लाख नेपालीहरुको हो भनेपछि सभा हल तालीले गुञ्जियो



काठमाडौं, २८ असोज । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आठौँ महाधिवेशन तथा विश्व सम्मेलनको आज उद्घाटन भएको छ ।

उक्त समारोहमा नयाँ नेतृत्व चयनका विषयमा निकै रोचक बहस सुरु भएको छ । उद्धघाटन् सत्रमा आफ्नो मन्तव्य दिँद्यै संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले एनआरएनए कुनै एकजनाको नभई ६० लाख नेपालीको नेतृत्वमा चलेको बताए । उनले एनआरएनएमा गुट उपगुटको राजनीति चल्न नहुने पनि बताए ।

महतोले नेतृत्वमा कुन व्यक्ति आउँछ भन्ने कुरा महत्वको नभएको र एनआरएनएले मातृभूमिका लागि के काम गर्छ, संसारभर छरिएर रहेका नेपालीको गौरव र आत्मसम्मान कसरी बढाउँछ भन्ने कुरा महत्वपूर्ण हुने बताए । उनले नेतृत्वमा कसलाई निर्वा्चित गर्ने भन्ने कुरामा नभई एनआरएनएको नीति निर्माणमा ध्यान दिन सहभागी प्रतिनिधिहरूलाई आग्रह गरे । उनको मन्तव्यमा सभाकक्ष तालीको गडगडाहटले गुन्जियो ।

प्रमुख अतिथिका रूपमा सहभागी राष्ट्रपति विद्यादेवी भण्डारीले महतोको कुरामा ध्यान दिइनन् । लिखित मान्तव्य पढेकी राष्ट्रपतिले पनि ‘आधा आकाश ढाकेका महिला’ भन्दै एनआरएनए ‘नयाँ नेतृत्वमा महिलालाई चयन गर्न खोजेकोमा’ खुसी प्रकट गरिन् । उनले महिलाहरू पनि नेतृत्वका लागि सक्षम रहेको बताइन् ।

समारोहको अन्त्यमा धन्यवाद मन्तव्यका लागि उपस्थित भएका एनआरएनएका अध्यक्ष डा. शेष घलेले महिला र युवाहरूको सहभागिता बढ्दै गएकोले एनआएरनएमा नेतृत्वमा पनि सोहीअनुसार परिमार्जन चाहेको बताए ।

उनले सम्मेलनको नारा ‘ट्रान्सफर्मिङ एनआरएनए’ भन्नु नै नयाँ नेतृत्वमा महिला चयन गर्नु हो भन्ने अर्थ लाग्ने मन्तव्य प्रकट गरे । उनले एनआरएनएमा महिला र दोस्रो पुस्ताका युवाको बढ्दो संख्यालाई ध्यानमा राखेर संस्थाको रूपान्तरण गर्दै समावेशी बनाउन चाहेको बताए ।

सम्मेलनको नारा ‘ट्रान्सफर्मिङ एनआरएनए : आवर वुमेन, आवर युथ एन्ड आवर सेकेन्ड जेनेरेशन २०१७’ रहेको छ । चार दिन चल्ने अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने कार्यक्रम छ । शनिबार राजधानीमा आयोजित समारोहमा राष्ट्रपति भण्डारीले पानसमा दीप प्रज्ज्वलन गरी अधिवेशन उद्घाटन गरिन् ।

आठौं विश्व सम्मेलनसँगै अध्यक्ष पदका लागि हालका अध्यक्ष घले पत्नी जमुना घले, उपाध्यक्ष भवन भट्ट र सल्लाहकार टिबी कार्कीले उम्मेद्धवार दिएका छन । जमुनाले भने धेरै ढिलो उम्मेद्धवारीय दिएकी थिईन् । उनको उम्मेद्धवारीलाई अर्का प्रत्यासी भवनले अस्वभाविक भएपनि आफूले चुनावी मैदानमा स्वागत गरिसकेको जनाएका छन् ।

 



प्रतिक्रिया दिनुहोस्