Logo

आफु पढेको विद्यालयलाई सहयोग गर्न तत्पर विष्णु माविका पूर्व विद्यार्थीहरु



-कमलमणि पोख्रेल
असोज २९, काठमाण्डौ । तनहुँ जिल्लास्थित बन्दिपुर गाउँपालिकामा संचालित श्री विष्णु माध्यमिक विद्यालयका पूर्व विद्यार्थीहरुले मंच गठन गर्ने तयारी गरेका छन् । उक्त विद्यालयमा विभिन्न कालखण्डमा अध्ययन गरेर हाल विभिन्न क्षेत्रमा कार्यरत विद्यार्थीहरुले विष्णु मावि भूपु विद्यार्थी मंच गठन गर्न लागेका हुन् ।

यसै वर्ष विद्यालय स्थापनाको ५० वर्षसमेत पूरा हुन लागेको ऐतिहासिक अवसरको मौका छोपी मंच गठन गर्न लागिएको विद्यालयका पूर्व विद्यार्थी कृष्ण पन्तले जानकारी दिए । मंच गठनका लागि पहल गरिरहेका पन्तले उक्त विद्यालयमा अध्ययन गरी हाल विभिन्न क्षेत्रमा कार्यरत सबै इच्छुक साथीहरुलाई मंचमा आबद्ध गराउने प्रयास गरिरहेका जानकारी दिए ।

हाललाई करिब ६० जनाको नामावली मंच गठनका लागि तयार परिएको पन्तले जानकारी दिएका छन् । “सकेसम्म धेरै पूर्व विद्यार्थीलाई सहभागि गराउनका लागि सम्भव भएसम्मका साथीहरुलाई सम्पर्क गर्ने प्रयास गरिरहेको छु ।” पन्तले बताए ।
“विद्यालयको ५० औं स्वर्णजयन्ती २०७४ पुष २७ भव्य समारोहका साथ मनाउने तयारी भइरहेको छ । उक्त समारोह अगाडि नै मंच गठन गछौँ ।” पन्तको भनाई छ ।

पूर्व विद्यार्थी दिपक खड्काले मंचमा प्रतिबद्ध भएर आबद्ध हुन चाहनेलाई समावेश गर्न सुझाब दिएका छन् । “५०औँ स्वर्ण जयन्तीका अवसरमा वृहत छलफल गरेर अगाडि बढ्नुपर्छ । आ–आफ्नो ठाउँबाट के कस्तो सहकार्य गर्न सकिन्छ भन्ने कुरालाई जोड दिनुपर्छ ।” खड्काले भने ।
आफु पढेको विद्यालयलाई आगामी दिनमा गुणस्तरीय बनाउनका लागि मंचले महत्वपूर्ण भूमिका खेल्नुपर्नेमा पूर्व विद्यार्थीहरुले जोड दिएका छन् ।

यस्तै अर्का पूर्व विद्यार्थी कृष्ण शर्माले पनि मंच गठनका लागि आफू प्रतिबद्ध रहेको भन्दै पूर्ण समर्थन र सहयोग गर्ने बताए । “विष्णु माविबाट विद्यालय शिक्षा उत्तिर्ण गरी हाल विशिष्ट स्थानमा रहेका, सहयोग, समाजसेवी र भद्र साथीहरुलाई समेटौँ ।” शर्माको सुझाब छ ।
सबैको सुझाबलाई मनन गर्दै अगाडि बढिने प्रतिवद्धता मंच गठनको पहल गरिरहेका कृष्ण पन्तले व्यक्त गरेका छन् ।
विद्यालयका पूर्व विद्यार्थीहरुमध्ये मंचमा छुटाउनै नहुने कोही भए नाम उपलब्ध गराउन पन्तले आग्रह गरेका छन् ।

तस्विर : कृष्ण पन्त



प्रतिक्रिया दिनुहोस्