Logo

ट्रम्पलाई समर्थन गर्दै विश्व शक्तिराष्ट्रहरु इरानसँगको पारमाणविक सम्झौताको पक्षमा उभिने



२९ असोज, काठमाण्डौ । अमेरिकाका प्रमुख सहयोगी मुलुकसहितका विश्व शक्तिहरूले इरानसँगको पारमाणविक सम्झौताको पक्षमा उभिने बताएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सो सम्झौताबाट बाहिरिने घोषणा गरेपछि बेलायत, जर्मनी, फ्रान्स र युरोपेली युनियनले सो धारणा राखेका हुन् । राष्ट्रपति ट्रम्पले शुक्रबार इरानसँगको पारमाणविक सम्झौताबाट बाहिरिने घोषणा गरेका थिए । सन् २०१५ मा अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामाको पहलमा भएको सो सम्झौता ‘साझा राष्ट्रिय सुरक्षाको चासोमा’ रहेको शक्ति राष्ट्र«मा आबद्ध मुलुकहरूले बताएका छन् ।

इरानका राष्ट्र«पति हसन रोउहानीले अमेरिका ‘विश्वबाटै अलग भएको’ बताएका छन् । अमेरिकाले एकपक्षीय रूपमा सम्झौता रद्द गर्न नमिल्ने उनको भनाइ छ । ‘के ट्रम्प एक्लैले बहुपक्षीय अन्तर्रा्ष्ट्रिय सन्धि रद्द गर्न मिल्छ ?’ उनले प्रश्न गरे । ‘पारमाणविक सम्झौता केवल इरान र अमेरिकाबीच भएको सम्झौता होइन,’ उनले थपे । इरानसँगको पारमाणविक सम्झौता खारेज गर्न ट्रम्पलाई अमेरिकाभित्रै र बाहिरबाट व्यापक दबाब रहेको थियो ।

सन् २०१५ मा हस्ताक्षर गरिएको सो सम्झौता इरान र बेलायत, अमेरिका, रसिया, फ्रान्स, जर्मनी र चीन गरी ६ विश्व शक्तिबीच भएको थियो । सम्झौताअनुसार अन्तर्रा्ष्ट्रिय शक्ति समूहले तेहरानमाथिको प्रतिबन्ध आंशिक रूपमा हटाएका थिए भने बदलामा इरानले आफ्ना पारमाणिक कार्यक्रमहरू स्थगित गरेको थियो ।

शुक्रबार कंग्रेसलाई सम्बोधन गर्दै राष्ट्रपति ट्रम्पले इरानलाई कट्टर शासकको संज्ञा दिँदै पारमाणविक सम्झौताका सर्त उल्लंघन गरेको आरोप लगाए । इरानले अतिवादलाई प्रायोजन गरेको भन्दै ट्रम्पले ऊमाथि नयाँ प्रतिबन्ध लगाउनुपर्ने धारणा व्यक्त गरे । तर, इरानले सो सम्झौलाई पूर्ण रूपमा पालना गरेको अन्तर्रा्ष्ट्रिय पर्यवेक्षकहरूले बताएका छन् । ट्रम्पको अभिव्यक्तिपछि चीनले कुनै टिप्पणी गरेको छैन । तर, यसअघि उसले सम्झौतालाई बचाउन अमेरिकालाई आग्रह गरेको थियो ।

रसियाली विदेशमन्त्रीले ट्रम्पको निर्णयको निन्दा गरेका छन् । अमेरिका अलग भए पनि सम्झौता कार्यान्वयन हुने उनले विश्वास व्यक्त गरे । बेलायती प्रधानमन्त्री थेरेसा मे, फ्रान्सेली राष्ट्रपति इम्यानुअल म्याक्रोनलगायतका नेताहरूले पारमाणविक सम्झौतालाई कायमै गर्न ट्रम्पलाई सुझाब दिएका थिए । सम्झौताबाट बाहिरिने ट्रम्पको निर्णयको जर्मनीले विरोध गरेको छ ।
राष्ट्रपति निर्वाचन अभियानमा ट्रम्पले ओबामाले गरेको सो सम्झौताबाट अमेरिका बाहिरिने घोषणा गरेका थिए । राष्ट्रपति ट्रम्पले सो पारमाणविक सम्झौतालाई अमेरिकाले गरेको अहिलेसम्मकै खराब सम्झौता बताएका छन् । इरानले अमेरिकी कानुनले तोकेका निश्चित सर्त पूरा नगरेको ट्रम्पले आरोप लगाउँदै आएका छन् ।



प्रतिक्रिया दिनुहोस्