Logo

नेपाल र हङकङबीचको खेल रद्द



काठमाडौं, ३० असोज । विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत नेपाल र हङकङबीच आज हुने भनिएको खेल खराब मौसमका कारण रद्द भएको छ ।

खेल रद्द भएसँगै प्रतियोगिताको शीर्ष चारभित्र परेर एक दिवसीय विश्वकपका लागि छनोट चरण खेल्ने नेपालको सम्भावना पनि सकिएको छ । जारी प्रतियोगिताको शीर्ष चारभित्र पर्न नेपाललाई हङकङविरुद्धको यो खेल जित्नैपर्ने दबाब थियो । तर खेल रद्द भएसँगै नेपाल र हङकङ दुबै टोलीले एक–एक अंक बाँडेका छन् ।

योसँगै नेपालले प्रतियोगिताका १२ खेलबाट ९ अंक मात्रै जोडेको छ । युएईसँग दुई खेल मात्रै खेल्न बाँकी छँदा नेपाल अंक तालिकाको छैटौं स्थानमा रहेको छ ।

समान खेलबाट १४ अंक जोडेको हङकङ चौथो स्थानमा रहेको छ । पाँचौ स्थानको केन्याको १२ अंक छ । ८ टोली सहभागि प्रतियोगितामा सबै टोलीले २/२ खेल खेल्न बाँकी छ ।

१८ अंक जोडेको नेदरल्याण्ड्स र १६ अंक जोडेको पपुवा न्युगिनी शीर्ष दुईमा पर्ने निश्चित भईसकेको अवस्थामा तेस्रो स्थानको स्कटल्याण्ड, चौथो स्थानको हङकङ र पाँचौ स्थानको केन्या बाँकी दुई स्थानको लागि दौडमा छन् ।

नेपालसँगै नामिबिया र युएई विश्वकप छनोट चरणमा पुग्ने सम्भावनाबाट बाहिरिएका छन् । विश्व क्रिकेट लिग च्याम्पियनसिपमा शीर्ष चारभित्र पर्न नसकेपछि नेपाल स्वतः आईसीसी विश्व क्रिकेट लिग डिभिजन टु मा झर्ने निश्चित भएको छ ।

डिभिजन टु प्रतियोगितामा शीर्ष दुईमा पर्ने सके नेपालले २०१९ मा इङ्ल्यान्ड र वेल्समा संयुक्त रुपले हुने एक दिवसीय विश्वकप क्रिकेटका लागि छनौट चरणमा सहभागिता जनाउन पाउनेछ ।



प्रतिक्रिया दिनुहोस्