Logo

उपेन्द्र यादवपछि राजपा नेपालद्धारा पत्रकार ऋषि धमलालाई आफ्नो पार्टीबाट चुनाव लड्न आग्रह



काठमाडौं, ३० असोज । रिपोर्टर्स क्लब नेपालका सभापति ऋषि धमलालाई राजपा नेपालले तराई मधेशको जुनसुकै क्षेत्रबाट चुनाव लडेपनि टिकट दिने भन्दै आफ्नो पार्टीमा आउनको लागि आग्रह गरेको छ ।

यसअघि नेपाली कांग्रेस धादिङबाट समानुपातिकमा सिफारिश भएका पत्रकार धमलालाई अहिले आफ्नो पार्टीमा ल्याउनको लागि विभिन्न दलहरुले दिनहुँ आग्रह गरिरहेका छन् । राजपा नेपालका शीर्ष नेता लक्ष्मणलाल कर्णले सोमबार रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमै सार्वजनिक रुपमा पत्रकार धमलालाई आफ्नो पार्टीबाट चुनाव लडे सर्वसम्मतीले टिकट दिने विश्वास दिलाए ।

उनले भने,‘ऋषिजीले हामी मधेशी जनताका हकहित र अधिकारको लागि धेरै सहयोग गर्नुभएको छ, उहाँले हाम्रा हरेक आन्दोलनलाई नजिकबाट नियाँल्नुभएको छ, हाम्रा जायज माँगहरु पूरा गराउनको लागि राज्यलाई दबाब दिनुभएको छ, त्यसैले उहाँजस्तो व्यक्तित्व हाम्रो पार्टीमा आएर चुनाव लडे हामी त निकै खुशी हुन्थ्यौं, उहाँ यदि आउनुहुन्छ भने मष्ट वेलकम।’

यसअघि संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले पनि पत्रकार धमलालाई आफ्नो पार्टीमा स्वागत गर्न आफु आँतुर रहेको बताएका थिए । उनले पनि चुनाव लड्नको लागि आग्रह गरेका थिए । यादवले भनेका थिए,‘ऋषिजी हाम्रो पार्टीमा आउनुहुन्छ भने उहाँलाई रेड कार्पेट विछ्याउन हामी तयार छौं, आउनुहोस्, चुनाव लडेर सांसद बन्नुहोस्, तपाईको मधेशमा ठूलो क्रेज छ।’



प्रतिक्रिया दिनुहोस्