Logo

तराई मधेशका २० जिल्लामा तराई मधेश खानेपानी सुधार कार्यक्रम



नवलपरासी, ६ कात्तिक : तराई/मधेशका नवलपरासीसहितको २० जिल्लामा खानेपानीमा देखिएको आर्सेनिकको समस्या समाधान गर्न तराई मधेश खानेपानी सुधार कार्यक्रम सञ्चालनमा छ ।

सबै ग्रामीण क्षेत्रमा समेत खानेपानीको उचित व्यवस्थापन गर्ने उद्देश्यले सरकारले गत आवबाट शुरु गरेको तराई मधेश खानेपानी योजना २० वटै जिल्लामा सञ्चालनमा आएको हो ।

यस कार्यक्रमअन्तर्गत नवलपरासी जिल्लामा परेका कूल १८ वटा खानेपानी आयोजनाको काम जिल्ला खानेपानी तथा सरसफाइ कार्यालयमार्फत भइरहेको छ ।
सोलारपम्प जडित ओभरहेड ट्यांकसहितको डिप बोरिङ प्रणालीमार्फत खानेपानी आपूर्तिको व्यवस्था मिलाउन ती आयोजना एकैपटक सञ्चालन गरिएका छन् । सोलार प्यानलसहितको आयोजना रहेका कारण विद्युत् अनियमित भए पनि पानी प्रशोधन र वितरण गर्ने कार्य प्रभावित नहुने बताइएको छ ।

ती आयोजनामध्ये बर्दघाट नगरपालिका–३ करमंहिया, सुनवल–३ पञ्चभैया, सरावल गाउँपालिका–१ खोकरपुरा र वडा नं ४ बडसार र सुस्ता गाउँपालिका–कुँडियामा परेका छन् । तीन वर्षभित्र पूरा हुने अनुमान गरिएका ती आयोजनाको बोरिङसम्मको कामसमेत अन्तिम चरणमा पुगेका छन् ।

करिब रू १९ करोडको लागतमा सम्पन्न गर्ने लक्ष्यका साथ चालू आवमा ती १८ वटै आयोजनाका लागि कूल रू तीन करोड ३० लाख खर्च हुने योजना रहेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका प्रमुख पूर्णबहादुर ज्वारचनले बताउनुभयो ।

नवलपरासीमा कूल १८ वटा योजनामध्ये अहिलेसम्म पाँच वटा आयोजनाका बोरिङको सम्पन्न भएको र एकैपटक पर्याप्त मात्रामा बजेट नहुँदा काम तीव्र गतिमा अघि बढाउन नसकिएको उहाँकोे भनाइ छ ।

यस वर्ष पनि नवलपरासीमा हुने ती १८ वटै योजनामध्ये पाँच वटा आयोजनाका लागि रु ४०÷४० लाख र अन्य १३ वटा योजनाका लागि रु ४०÷४० लाख रकम विनियोजन भएका छन् ।

बोरिङ, सोलारजडित ओभरहेड ट्याङ्की निर्माण र पानीको पाइप सप्लाई गरी तीन चरणमा ती आयोजना निर्माण गरिने र आयोजनाको लागत खर्चमा २० प्रतिशत स्थानीयवासीको श्रमदान रहने जिल्ला खानेपानी तथा सरसफाइ कार्यालयले जनाएको छ ।

जिल्लामा सञ्चालन गरिएका पाँच वटा आयोजनामध्ये बर्दघाट–३ मा निर्माण हुने करमैंंहिया खानेपानी आयोजना सबैभन्दा बढी लागतमा निर्माण हुने भएको हो ।

सो आयोजनाका लागि रु पाँच करोड ७० लाख बजेट विनियोजन गरिएको छ भने तिलकपुरमा निर्माण भइरहेको घनश्यामपुर खानेपानी आयोजनाका लागि सबैभन्दा कम रु तीन करोड १५ लाख खर्च हुने आनुमान गरिएको छ ।

बर्दघाटको करमैंंहिया खानेपानी आयोजनाले प्रतिदिन करिब रु तीन लाख लिटर पानी पम्प गर्नेछ भने घनश्यामपुर खानेपानी आयोजनाले करिब रु एक लाख २० हजार लिटर पानी प्रशोधन गरी वितरण गर्ने सो कार्यालयले जनाएको छ ।

अहिले जिल्लामा ४५ भन्दा बढी खानेपानीका आयोजना सञ्चालन भए पनि करिब एक लाख मानिस स्वच्छ खानेपानीबाट वञ्चित रहेको तथ्यांक छ । तराई मधेश खानेपानी सुधार कार्यक्रमका १८ वटै योजना सञ्चालन भए करिब हजाराँै सर्वसाधारण स्वच्छ खानेपानीको पहुँचमा पुग्ने छन् । रासस



प्रतिक्रिया दिनुहोस्