Logo

फिफा उत्कृष्ट खेलाडीमा नेपालका कप्तान विराजले इब्राहिमोविचलाई भोट दिए



काठमाडौं, कात्तिक ७।  स्पेनिस क्लब रियल मड्रिडका पोर्चुगिज स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले लगातार दोश्रो पल्ट फिफा वर्षको उत्कृष्ट पुरुष खेलाडीको अवार्ड जितेका छन् ।

उत्कृष्ट खेलाडी बनेका रोनाल्डोले भने उत्कृष्ट खेलाडीमा क्रोयसियाका रियल मड्रिड खेलाडी लुका मोड्रिकलाई भोट दिएका थिए । यस्तै लुका मोड्रिकले उत्कृष्ट खेलाडीको भोट क्रिष्टियानो रोनाल्डोलाई दिएका थिए ।

फिफा आबद्ध देशका खेलाडी, प्रशिक्षक र मिडियाको एकजनाले भोट दिन पाउने अवार्डमा नेपालका कप्तान विराज महर्जनले स्वीडेनका जाल्टन इब्राहिमोविचलाई भोट दिएका छन् । उनल दोस्रोमा फ्रान्सका एन्टोनी ग्रिजम्यान र तेस्रोमा पोर्चुगलका क्रिष्टियानो रोनाल्डोलाई छानेका छन् ।

नेपालका प्रशिक्षक ग्योटोकु कोजीले पहिलोमा क्रिष्टियानो रोनाल्डोलाई भोट दिएका छन् । उनले दोस्रोमा लियोनल मेस्सी र तेस्रोमा नेइमारलाई भोट दिए ।

नेपाली मिडियाको तर्फबाट काठमाडौं पोष्टका रितेश रिजालले क्रिष्टियानो रोनाल्डोलाई भोट दिएका छन् । उनले दोस्रोमा लियोनल मेस्सी र तेस्रोमा नेइमारलाई नै छाने ।

यस्तै लियोनल मेस्सीले उत्कृष्ट खेलाडीमा उरुग्वेका बार्सिलोना स्ट्राइकर लुइस स्वारेजलाई छानेका छन् । उनले दोस्रोमा आन्द्रेइस इनिष्टा र तेस्रोमा नेइमारलाई रोजे ।

अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाले गएको वर्षदेखि प्रदान गर्न लागेको यो अवार्ड पोहोर पनि रोनाल्डोले नै पाएका थिए । ३२ वर्षका रोनाल्डोले गएको वर्ष रियल मड्रिडलाई स्पेनिस ला लिगा र च्याम्पियन्स लिग फुटबलको उपाधि जिताउन महत्वपूर्ण भूमिका खेलेका थिए ।

फिफाले फ्रेञ्च पत्रिकासँगको सहकार्यमा बालोन डि ओर अवार्ड प्रदान गर्ने गरेकोमा पोहोरदेखि उसले त्यो सहकार्य तोडेर फिफा वर्षको उत्कृष्ट खेलाडीको अवार्ड दिन थालेको हो । फ्रेञ्च पत्रिकाले छुट्टै बालोन डि ओर अवार्ड प्रदान गर्ने गर्दछ ।

यस्तै रियल मड्रिडका प्रशिक्षक जिनेदिने जिदान उत्कृष्ट पुरुष प्रशिक्षकको अवार्ड पाएका छन् । साथै बार्सिलोनाकी लिके मार्टेन्सले उत्कृष्ट महिला खेलाडीको अवार्ड पाएकी छिन् ।



प्रतिक्रिया दिनुहोस्