Logo

आज छठ पर्व, तराईका विभिन्न जिल्लामा धुमधामका साथ मनाईंदै



काठमाडौं, ९ कात्तिक । मिथिलाञ्चलको महान पर्व छठको मुख्य दिन आज काठमाडौंसहित तराईका विभिन्न जिल्लामा धुमधामका साथ मनाईंदै छ ।

छठको तेस्रो तथा मुख्य दिन आज अस्ताउँदै गरेको सूर्य तथा षष्ठी मातालाई अघ्र्य दिने गरिन्छ । छठका लागि तराईका विभिन्न जिल्लाका नदी तथा तलाउका किनारा झकिझकाउ पारिएको छ ।

दुलही झैं सिंगारिएका तलाऊहरुमा हजारौं भक्तजन बिहानैदेखि भेला हुन थालेका छन् । जनकपुरका ऐतिहासिक गंगा सागर, धनुष सागर, अरगजा पोखरी, दशरथ तलाउसहित दुई दर्जनभन्दा बढी पोखरीमा छठ मनाउन ब्रतालुहरुको घुईचो लाग्न थालेको छ ।

वीरगन्जको घडीअर्वा पोखरीमा पनि छठको रमझम उत्तिकै छ । छठ पर्व नवलपरासीमा पनि धुमधामसँग मनाईदै छ । परासीसंँगै उनवच, त्रिवेणी, नवलपुर क्षेत्रलगायतका नदी र तालहरुमा पनि पूजाआजाका लागि भक्तजन पुगेका छन् ।

यस्तै झापाको मेची नदी, विरीङ, मावा, रतुवा, निन्दालगायतका नदी किनारमा पनि भक्तजनहरु भेला भएका छन् । सप्तरीको कोशी व्यारेज, भारदह, छिन्नमस्ता, कञ्चनपुर, हनुमाननगर, बीरेन्द्रबजार, सीतापुर, महुली, रुपनी, बर्साइन, पातो, कल्याणपुर, कडरबोना, मानराजा, सखडा, सदरमुकाम राजविराजसहितका स्थानहरुमा पनि उत्तिकै उल्लासले यो पर्व मनाईदै छ ।

कोशीव्यारेजमा भारतको पूर्णिया, फारबिसगञ्ज, राजपुरसहित स्थानबाट छठ मनाउन सयौं ब्रतालु आएका छन् । यता, सिन्धुली जिल्लाका केही स्थानमा छठ मधेशी र पहाडिया समुदाय एकापसमा मिलेर मनाईरहेका छन् ।

भित्री मधेशमा पर्ने सदरमुकाम सिन्धुलीमाडीको स्थानीय गौमती नदीको किनारमा मधेशी र पहाडिया समुदायले मिलेर सजिया घाट निर्माण गरी छठ पूजा गरिरहेका हुन् ।

काठमाडौंमा गुह्येश्वरी, गहनापोखरी, कमलपोखरी लगायत पोखरी तथा वाग्मती, नख्खु र विष्णुमतीलगायत नदी किनारमा छठ मनाइँदै छ ।

कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चार दिन मनाइने यस पर्वमा सूर्यदेवको आराधना, उपासना र पूजा गरिन्छ ।

पारिवारिक सुख, शान्ति, कल्याण, रोगबाट मुक्ति तथा विभिन्न मनोकांक्षा पूरा होस् भन्ने उद्देश्यले सूर्यको उपासना गरी यो पर्व मनाउने गरिन्छ ।

आदिकालमा सती अनुसूयाले रोगग्रस्त पतिलाई निको बनाउन भगवान सूर्य र षष्ठी देवीको पूजा आराधना गरेको प्रसंग यस पर्वसँग जोडिएको छ ।

त्यसैगरी महाभारतकालमा द्रौपदीसहित पाण्डवहरुले अज्ञात वासमा रहँदा गुप्तवास सफल होस् भनी सूर्यदेवको आराधना गरेको र सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको कथन छ ।



प्रतिक्रिया दिनुहोस्