Logo

दश जोड दुई कक्षा सञ्चालनार्थ देउसी खेलेर रकम संकलन



जुम्ला, १० कात्तिक : तातोपानी गाउँपालिका–८ टोप्ला ताम्तीका बासिन्दाले १० जोड दुई कक्षा सञ्चालनका लागि देउसी भैलो खेलेर रु २५ लाख १२ हजार संकलन गरेका छन् ।

जुम्लाकै अति दुर्गम क्षेत्रमा अवस्थित साविकको प्रस्तावित कालिका माध्यमिक विद्यालयलाई १० जोड २ मा स्तरोन्नति गर्न विद्यालयको नेतृत्वमा त्यहाँका समुदायले सामूहिक देउसी भैलो खेलेका हुन् । तिहारमा खेलिएको देउसीबाट रू २५ लाख ४२ हजार संकलन भएको साविकको ताम्ती गाविस वडा नं ७ का स्थानीय समुदायका अगुवा मानबहादुर शाहीले जानकारी दिनुभयो ।

दुर्गम बस्तीका विद्यालयलाई १० जोड दुई कक्षा सञ्चालन गर्न अनुमति नदिएकले विद्यार्थीले उच्च शिक्षाका लागि अन्य गाविस÷गाउँपालिका चाहार्नुपर्ने बाध्यताबाट मुक्त गराउन देउसी खेलेर रकम संकलन गर्नुपरेको देउसी संयोजन समितिका संयोजक जीवन शाहीले जानकारी दिनुभयो । “शिक्षा क्षेत्रमा सबैलाई सहयोग गर्न अनुरोध गरेपछि समुदायबाट पनि सहयोग भएको छ”, उहाँले भन्नुभयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुरतबहादुर शाहीले १० कक्षासम्म अनुमति पाएको विद्यालयमा हालसम्म मावि दरबन्दी नरहेकाले समुदायले नै छजना निजी शिक्षकलाई तलब खुवाउँदै आएको बताउनुभयो । दश जोड दुई कक्षा सञ्चालन गर्ने उद्देश्यले देउसी खेल्ने कुरा सार्वजनिक गरेपछि स्थानीयवासीले दिल खोलेर रू ११ हजार र सोभन्दा माथि दान दिएको उहाँले बताउनुभयो ।

“यत्रो रकम उठ्ला भन्ने सोँचेकै थिइएन, गाउँका सामान्य मान्छेले हजारौँ रुपैयाँ दिएपछि म आफैँले पनि रू एक लाख ११ हजार १११ दिएँ”, अध्यक्ष शाहीले भन्नुभयो । स्थानीयवासी धनबहादुर शाहीले सबैभन्दा बढी रकम रू एक लाख १३ हजार दान दिनुभएको थियो ।

शिक्षाका लागि सर्वसाधारण सक्रिय हुँदा राज्यका निकाय जिल्ला शिक्षा कार्यालय र गाउँपालिकाले बेवास्ता गरेको गुनासो गर्दै अध्यक्ष शाहीले समुदायसँग सहकार्य गरेर विभिन्न सार्वजनिक कामबाट विद्यालय सञ्चालन गर्नु परेककाले दुर्गमका बासिन्दाको समस्या बुझ्न राज्यको ध्यान जानुपर्नेमा जोड दिनुभयो ।

प्रधानाध्यापक मानबहादुर शाहीले शिक्षा क्षेत्रका लागि समुदायका व्यक्तिले मनै खोलेर सहयोग गरेको जनाउनुभयो । उहाँका अनुसार देउसीमा नगद मात्र नभएर जिन्सी पनि प्राप्त भएको छ । जसमा २१ भेडा, छ लिउ र चार कम्बल रहेको उहाँको भनाइ छ । उक्त विद्यालयमा हाल ४४२ विद्यार्थी अध्ययनरत छन् । रासस



प्रतिक्रिया दिनुहोस्