Logo

प्रधानन्यायाधिशलाई फासीको माग गर्ने नेकपा एमाले स्वतन्त्र न्यायपालिकाको विरोधी हो : सर्वेन्द्रनाथ शुक्ला



प्रतिनिधीसभा र प्रदेशसभाको मतपत्र छुट्टाछुट्टै बनाउनुपर्छ भन्ने माग राख्दै सर्वोच्च अदालतमा मुद्दा परेपछि चुनाव तोकिएको मितिमा हुनेमा नै आशंका उब्जिएको छ । यद्यपी निर्वाचन आयोगले तोकिएको समयमा नै चुनाव सम्पन्न गराउने प्रतिवद्धता जनाउँदै आएको छ । यसैबिचमा मतपत्र छुट्टाछुट्टै चाहिन्छ भन्ने माग राख्दै मुद्दा दायर गर्ने राजपाका नेता सर्वेन्द्रनाथ शुक्लासँग कुराकानी गरिएको छ । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि ऋषि धमलाले गरेको कुराकानी यहाँ प्रस्तुत गरिएको छ ।

तपाईले दुईवटा मतपत्र चाहिन्छ भनेर सर्वोच्चमा हालेको मुद्दाले त खैलाबैला मच्चियो । किन मुद्दा हाल्नुभएको ?
विभिन्न निकायहरुले ऐन अनुसार काम गरुन भनेर संसदले ऐन बनाउँछ । लोकतन्त्र र हाम्रो ऐन अनुसार प्रदेश र प्रतिनिधीसभा अलग अलग हुन् । ऐनले व्याख्या गरेकै छ । तर ऐन अनुसार नभएपछि हामी डेलिगेशन लिएर निर्वाचन आयोग गयौँ र यस विषयमा ध्यानाकर्षण गरायौँ । यो मतपत्रले भ्रम सृजना गर्छ, निर्वाचन आयोगले अलग अलग गर्नुपर्छ भनेर आग्रह ग¥यौँ । तर त्यसको जवाफमा ठूला दलको सहमतिमा गरेको भन्ने दिइयो । सहमतिमा ऐनलाई सच्याउन पाइन्छ तर लत्याउन पाइदैन भन्ने मेरो मान्यता हो ।

तपाईले त चुनाव रोक्नका लागि मुद्दा हालेको भन्ने आरोप छ नि ?
मैले हालेको रिट निवेदनमा कहीँ पनि चुनाव रोक्ने भन्ने छैन । मतपत्रले जनतालाई भ्रममा पार्ने भएकाले दुईवटा मतपत्रको माग गरिएको हो । अहिले म खुशी छु, मेरो रिट निवेदनले यो देशका वुद्धिजीवीदेखि निर्वाचन आयोगसम्मले त्रुटी भएकै हो भनेर स्विकार गरेका छन् ।

निर्वाचन आयोगले त अब चुनावी प्रक्रिया रोकिदैन । मतपत्र छाप्ने काम सुरु भइसकेको छ भन्यो नि ?
निर्वाचन आयोगले आफुले गरेको त्रुटीलाई नै ठीक हो भनेर मेरो गोरुको बाह्रै टक्का भन्नुहुन्छ भने त्यो उहाँको भनाई छ । तर अहिले नेपालका अधिकांश वुद्धीजीवीले निर्वाचन आयोगको त्रुटी हो, सच्याउनुपर्छ भनेका छन् । सम्मानित अदालतले पनि त्यहीअनुसार कारण देखाउ आदेश दिएको छ । अब अदालतमा बहस होला ।

राष्ट्रिय जनता पार्टी चुनाव रोक्ने खेलमा लागेको हो ? तपाईमाथि नै चुनाव रोक्न लागेको आरोप एमाले अध्यक्ष केपी ओलीले लगाउनभयो नि ?
केपी ओलीले के तर्क गर्नुहुन्छ, त्यो उहाँको तर्क हो । तर म समयमा नै चुनाव हुनुपर्छ भन्ने मान्यतामा छु । उहाँहरु चाँही स्वतन्त्र न्यायपालिका मन्न कहिल्यै पनि तयार हुनुभएन । ५२ सालमा पनि उहाँहरु सडकमा निस्किएर प्रधानन्यायाधिशलाई फाँसी दे भन्नुभएको हो । उहाँहरु नियन्त्रित न्यायपालिकाको पक्षधर हो । त्यसैले ओलीले त्यो भन्दा मलाई कुनै आश्चर्य छैन ।

तर तपाईले त बेमौसमको बाजा बजाउनुभयो नि ? यतिबेला रिट निवेदन नदिएको भए हुन्थेन ?
त्यसो होइन । अहिलेको गल्ती सुधारिएन भने सधैँभरीका लागि नजिर भएर जान्छ । एने विपरित मतपत्र प्रयोग गर्नु गम्भीर त्रुटी हो । यस्तो त्रुटी गर्नुहुँदैन भनेर मैले सचेत गराएको हुँ । म खुशी छु ।

चुनाव रोकियो भने त सबै दोष तपाईमाथि आउँछ नि ?
चुनाव रोकियो भने त्यसको दोष निर्वाचन आयोग र सरकारलाई जान्छ । म त अहिले पनि भन्छु, बाँकी समयभित्र दुईवटा मतपत्र व्यवस्थापन गर्न सकिन्छ । चुनाव मंसिर २१ गतेभित्र गर्न सकिन्छ । तर व्यवस्थापनको कमजोरीले गर्न सक्दैन भने त्यसको दोष पनि आयोगले लिनु पर्छ ।



प्रतिक्रिया दिनुहोस्