कात्तिक ११, काठमाण्डौ । कैलालीको धनगढीमा रहेको विश्वकै पहिलो वायुयान एयरक्राफ्ट म्यूजियम अर्थात वायुयान संग्रहालयको अवलोकन गर्नेको घुईचो लाग्न थालेको छ । अहिले एअरक्राप्ट म्यूजियम धनगढीमा आउने हरेक व्यक्तिको प्रमुख आकर्षणको केन्द्रविन्दु बनेको छ । शैक्षिक भ्रमण गर्नेदेखि विदाको समय सदुपयोग गर्नेको पहिलो गन्तव्य म्यूजियम बन्न पुगेको छ ।
दुई सय भन्दा बढी एयरक्राप्टका नमुना, जेट ककपिट, सुन्दर फोटो ग्यालरी, ककपिट क्याफे, पन्ध्र मिनेटसम्मको डकुमेन्ट्री लगायतका आकर्षणहरु सजिलै हेर्न पाइने भए पछि धनगढीमा रहेको विश्वकै पहिलो वायुयान संग्रहालय अवलोकन गर्ने पर्यटकको संख्या बढेको हो । विश्वकै पहिलो वायुयान अवलोकन गर्न नेपालका विभिन्न जिल्ला देखि भारतबाट पर्यटक आउने गरेका छन् । पर्यटन आवागमनको मुख्य सिजन सुरु भएकाले अहिले म्यूजियम हेर्न आउने आन्तरिक तथा बाह्य पर्यटकको घुइचो लाग्ने गरेको छ । अहिले म्यूजियम एअर क्राफ्ट प्रदेश नं.–७ घुम्न आउने पर्यटकको पहीलो रोजाइ बन्न थालेको छ ।
आज भन्दा १०–११ वर्ष अघि नेपाली आकाशमा उडेर बन्द भएको कस्मिक एयरको फोकर वान हन्ड्रेड जहाजलाई संग्रहालयको रूप दिइएको थियो । यस संग्रहालयमा राइट ब्रदर्सका पालादेखि हालसम्मका दुई सय वटा मिनियचर एयरक्राफ्ट्स राखिएका छन् । ती मध्ये केही जहाज रिमोट कन्ट्रोलबाट हजार मिटर माथिसम्म उडाउन मिल्छ । संग्रहालयमा विश्वका ३० चर्चित पर्यटकीय गन्तव्य र सुदूरपश्चिमका २४ ठाउँको तस्बिरसमेत राखिएको छ । संग्रहालयभित्र घुम्नेले जेट ककपिट अवलोकन गर्न पाउँछन् । पाइलट र टावरको रेकर्डेड संवाद सुन्न सक्छन् । जहाजभित्रै ६० इन्चको टिभीमा ’एयरक्राफ्ट म्युजियम’ सम्बन्धी वृतचित्र समेत देखाइने गरिएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणबाट बेद उप्रतीले करिव ७० लाख रुपैयाँमा सो फोकर जहाज खरिद गरेका थिए । धनगढी र्पुयाइसकेपछि झण्डै छ महिना लगाएर संग्रहालय तयार पारिएको थियो । यस्तो एयरक्राफ्ट संग्रहालय विश्वको नै पहिलो भएको दाबी गरिएको छ । अहिले म्यूजियम हेर्न नेपाल लगायत भारतका विभिन्न स्थानबाट दैनिक एक सयसम्म पर्यटक आउने गरेका छन ।
इन्डोनेसियाको लायन एयरमा प्रशिक्षक पाइलटका रुपमा कार्यरत नेपाली पाइलट बेद उप्रेतीको एकल प्रयासमा २०७१ असोज १ गते पहिलो एअरक्राप्ट म्युजियम संचालनमा ल्याइएको हो । सुदूरपश्चिमको पर्यटकीय विकासमा एयरक्राप्टले इटा थप्ने काम गरेको छ । संचालनमा आएको तीन वर्षमा संग्रहालयले पर्यटकको मन जित्न सफल भएको छ । संग्रहालयकै कारण पर्यटकको संख्या बढ्दा विकासका लागि म्यूजियमको ठूलो भूमिका खेल्ने विश्वास रहेको छ । कुल १ करोड २५ लाख रुपैया लागतमा म्यूजियम निर्माण भएको हो ।
भिडियो हेर्नुहोस् :