Logo

अधिनायक र अतिवादबाट मुलुकलाई मुक्त दिलाउन बृहत्त राष्ट्रवादी शक्तिको आवश्यक छ : नेता राणा



काठमाडौं, ११ कार्तिक । एकीकृत राप्रपा (राष्ट्रवादी) का सह–महामन्त्री प्रदिप विक्रम राणाले राप्रपा र राप्रपा (प्रजातान्त्रिक) को चुनाव चिन्ह नभएको भन्दै आफ्नो पार्टीको राजा र धर्म बोकेको दल एराप्रपा(राष्ट्रवादी) को चारकुना भित्रको हलोमा मतदान गर्न आग्रह गरेका छन् ।

शनिबार एक विज्ञप्ती जारी गर्दै सह–महामन्त्री राणाले यस्तो आह्वान गरेका हुन् । उनले भनेका छन्,‘आफ्नो नीजी स्वार्थ र महत्वकांक्षालाई मात्रै ध्यान दिएर लोकतान्त्रिक गठबन्धनको नाममा पार्टी बन्धक राख्नेका बेच्नेहरुले राजा र धर्मको लागि केही गर्ने छैनन्।’ उनले राजाप्रति आस्था राख्न समेत अपिल गरेका छन् ।

मुलुकलाई वामपन्थीको अधिनायकवाद र लोकतान्त्रिक गठबन्धनको अतिवादबाट मुक्त दिलाउनको लागि पनि बृहत्त राष्ट्रवादी शक्तिको आवश्यक रहेकोले त्यो शक्ति आफ्नो पार्टी भएको उनको विश्वास छ ।

यसअघि उनको नेतृत्वमा पूर्वराजा ज्ञानेन्द्र शाहले यो वर्षको भाइटिकाको दिनमा दिएको अभिव्यक्ति समसामयिक भएको र जनताको चाहना अनुसार भएको भन्दै राजावादीहरुले आज खुशीयाली जुलुस निकालेका थिए । जुलुसको नेतृत्व गरेका नेता राणाका अनुसार दिउँसो सबैतिरबाट निस्किएको मोटरसाइकल रत्नपार्कको शान्तिबाटिकामा भेला भएर बसन्तपुरमा पुगेर सकिएको थियो ।

‘हाम्रो मोटरसाइकल ¥यालीमा सबै जनताको साथ थियो, व्यापक उत्साहका साथ जनलहर देखिएको थियो, यसबारेमा मैले धेरै के भनौं र, तस्बिर आँफै बोल्छ’ राणाले भने ‘नेतृत्व हामीले गरेका हौं तर यसमा सबैको राम्रो समर्थन थियो र स्वतस्फूर्त रुपमा नपत्याउँदोगरी धेरै मानिसको सहभागिता भयो ।’

राणासहित यूवा नेताहरु गौरव बोहरा र सागर श्रेष्ठले कार्यक्रमको आयोजना गरेका थिए । बोहराले कसैको पक्ष र विपक्षमा नभई जनताको चाहना र आवश्यकताले गर्दा यो अभियान चलाएको बताएका छन् ।

राणाले पूर्वराजाले भाइटिकाको अवसरमा दिएको अभिव्यक्ति देशको लागि नै सुखद् रहेको टिप्पणी गरेका छन् । उनले जनताले चाहेमा आफू फेरि पनि देशको नेतृत्व लिन तयार भएको र त्योबेला आइसकेको बताएका थिए । पूर्वराजाको यो भनाईपछि राजनीतिक वृत्तमा समेत तरंग फैलिएको छ ।

राजावादीहरुले उपत्यकासहितका विभिन्न ठाउँमा उक्त भनाइको स्वागतमा ¥याली तथा दीप प्रज्वलन गरिरहेका छन् । दलहरुको सहमतिमा संविधानसभाबाट गणतन्त्र घोषणा भएपछि ज्ञानेन्द्रले राजदरवार छोडेका थिए । उनले प्रायजसो चाडवाड र सांस्कृतिक परम्परामा केही न केही बोल्दै आएका छन् ।

 



प्रतिक्रिया दिनुहोस्