विनोदसिंह विष्ट : बैतडी, १२ कात्तिक : बैतडीसहित मध्यपहाडी क्षेत्रमा गहुँ छर्न शुरु भएसँगै किसान गहुँ छर्ने काममा व्यस्त छन् ।
कात्तिक पहिलो सातादेखि मंसिर दोस्रो सातासम्म गहुँ छर्नका लागि उपयुक्त समय भएको जिल्ला कृषि विकास कार्यालयका योजना अधिकृत कर्णबहादुर चन्दले बताउनुभयो ।
गहुँ छर्ने बेलामा खेतलाई राम्रोसँग खनजोत गरी गोबर मल हालेर गहुँ छरेमा उत्पादन राम्रो हुने उहाँले बताउनुभयो । बैतडीमा २० हजार ९०० हेक्टर क्षेत्रफल जमिनमा गहुँखेती गरिँदै आएको छ ।
सिँचाइ सुविधा नहुँदा समस्या
बैतडीजस्ता मध्यपहाडी क्षेत्रमा गहुँ छर्ने चटारो भए पनि सिँचाइ सुविधा नभएका ठाउँका किसान भने मार्कामा परेका छन् । दश हजार ६५० हेक्टरमा मात्रै सिँचाइ सुविधा भएकाले अन्य किसानले भने अकाशे पानीको भरमा बस्न बाध्य छन् । खास गरेर लेकाली क्षेत्रमा सिँचाइको सुविधा नहुँदा अकाशे पानीको भरमा गहुँखेती गर्नु परिरहेको किसानले बताएका छन् । सिँचाइको सुविधा नहुँदा सोचेअनुसार उत्पादन हुन नसकेको उनीहरूको भनाइ छ ।
सिँचाइको सुविधा नभएका ठाउँका किसान आकाश हेरेर बस्नुपर्ने बाध्यता रहिआएको सुर्नया गाउँपालिकाका किसान मोहनबहादुर विष्टले बताउनुभयो । जिल्लामा २० हजार ९०० हेक्टर जमिनमा गहुँखेती गरिँदै आए पनि १० हजार ५०० हेक्टरमा मात्रै सिँचाइको सुविधा छ । सिँचाइको सुविधा नभएका ठाउँमा आकाशे पानी नपरेकाले गहुँ छर्न समस्या भएको किसानले बताएका छन् ।
अधिकांश लेकाली क्षेत्रमा सिँचाइको सुविधा छैन् । बैतडीमा कात्तिक पहिलो सातादेखि मंसिर दोस्रो सातासम्म गहुँ छर्नका लागि उपयुक्त समय भए पनि सिँचाइ सुविधा नभएका ठाउँमा गहुँ छर्न समस्या भएको छ ।
वडा कार्यालयले अनुदानमा गहुँको बीउ वितरण
बैतडीको दशरथचन्द नगरपालिका वडा नं १ को कार्यालयले किसानलाई अनुदानमा गहुँको बीउ वितरण गर्ने भएको छ ।
गहुँ छर्ने समय भएकाले किसानलाई भोलिदेखि पूर्ण अनुदानमा प्रतिकिसान पाँच किलोका दरले गहुँको बीउ वितरण गरिने वडा अध्यक्ष भुवनराज भट्टले जानकारी दिनुभयो ।
उन्नत जातको गहुँको बीउ वितरण गरी उत्पादनमा वृद्धि गर्ने लक्ष्यका साथ १० क्विन्टल गहुँको बीउ वडा कार्यालयमार्फत व्यावसायिकरूपमा कृषि पेशामा लागेका किसानलाई विशेष प्राथमिकता र गरिब तथा आर्थिक अवस्था कमजोर भएका किसानलाई प्राथमिकता दिने उहाँले बताउनुभयो ।
यस्तै दशरथचन्द नगरपालिकाको वडा नं ७ को कार्यालयले पनि किसानलाई शतप्रतिशत अनुदानमा गहुँको बीउ वितरण गर्न थालेको छ । एक हजार २०४ जातको गहुँको बीउ प्रतिकिसान चार केजीका दरले वितरण शुरु गरिएको वडा कार्यालयका सचिव कृष्णबहादुर बोहराले बताउनुभयो ।
यस्तै दशरथचन्द नगरपालिका वडा नं ३ मा निःशुल्करुपमा गहुँको बीउ वितरण गरिने भएको छ । वडा कार्यालयले सोमबारदेखि किसानलाई निःशुल्करुपमा गहुँको बीउ वितरण गर्ने वडा अध्यक्ष दामबहादुर क्षेत्रीले बताउनुभयो ।
उन्नत जातको गहुँको मूल बीउ वितरण
जिल्ला कृषि विकास कार्यालयले खाद्यसुरक्षा सञ्चालन भएका साविकका १० गाविसमा ५० प्रतिशत अनुदानमा उन्नत जातको गहुँको मूल बीउ वितरण गरेको छ । एक हजार २०४ जातको गहुँको मूल बीउ ८४ क्विन्टल जति वितरण गरिएको योजना अधिकृत चन्दले बताउनुभयो । साविकका ग्वाल्लेक, हटैराज, पाटन, कैलपाल, देउलेक, श्रीकेदार, न्वाली, गोकुलेश्वर, कोटपेटरा र हाट गाविसका किसानलाई अनुदानमा मूल बीउ वितरण गरिएको उहाँले जानकारी दिनुभयो ।