Logo

दुई पटक केन्द्रिय सदस्यमा पराजित गोविन्दराज जोशीको राजनीति : हरेक प्रश्नको जवाफमा रामचन्द्र पौडेलमाथि आरोप



तनहुँ क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसले वरिष्ठ नेता रामचन्द्र पौडेललाई उम्मेदवार बनाउने भएको छ । तर त्यही क्षेत्रबाट अर्का नेता गोविन्दराज जोशीले बागी उम्मेदवार दिने घोषणा गरेका छन् । यही विषयमा जोशीसँग ऋषि धमलाले कुराकानी गरेका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि गरिएको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ ।

तपाई नेपाली कांग्रेसका शीर्ष नेता रामचन्द्र पौडेलविरुद्ध किन लाग्नुहुन्छ ?
म लागेको होइन । मेरो यहाँको क्षेत्रीय भेला, जहाँ ७,८ हजार नेपाली कांग्रेसका कार्यकता थिए । ति कार्यकर्ताले मलाई उम्मेदवार बनाएका हुन् । त्यस क्षेत्रबाट उठ्नुपर्छ भनेर मेरा सारा कार्यकताले मलाई अािधकारिक उम्मेदवार स्विकार गरिसकेपछि रामचन्द्र पौडेल त्यही भाँजो हाल्न आउनुभयो ।

त्यस क्षेत्रमा त रामचन्द्र पौडेलको विकल्प छैन भनेर तनहुँका शीर्ष नेताहरुले भनेका छन् नि ?
तनहुँ क्षेत्र नम्बर १ बाट मैले तीन पटक चुनाव लडिसके । त्यो मेरो क्षेत्र हो ।

अहिले त क्षेत्रको भूगोल फेरिएको छ । हैन र ?
क्षेत्रको भूगोल फेरिए पनि १ नम्बरमा मैले नै नेपाली कांग्रेसको संगठन निर्माण गरेको हुँ । मेरो क्षेत्र पनि १ नम्बर नै हो ।

राष्ट्रिय स्तरको नेता, त्यो पनि आफ्नै पार्टी, एउटै जिल्ला । किन पौडेललाई रोक्न खोज्दैहुनुहुन्छ ?
उम्मेदवारी दिन त उहाँले पाइहाल्नुहुन्छ नि । तर यो क्षेत्रको एक जनाले पनि उहाँलाई मन पराउँदैनन् । अर्को कुरा, अहिले चुनावको बेलामा मैले टिकट माग्दा सारा मिलेर वक्तव्यवाजी गर्नुहुन्छ । म त वास्तवमा रामचन्द्र पौडेलको विरुद्धमा होइन, उहाँको अधिनायकवादी शैली छ, पञ्चायतभन्दा पनि खराब चरित्र छ । त्यसको विरुद्धमा उभिएको हुँ ।

रामचन्द्र पौडेलजस्तो निष्ठा, त्याग र समर्पणको राजनीति गर्ने व्यक्तिलाई तपाईले यस्तो आरोप लगाउन मिल्छ ?
तनहुँ जिल्लाको क्षेत्र नम्बर १ का जनतालाई सोध्नुभयो भने थाहा पाउनुहुनेछ ।

पौडेलले क्षेत्र नम्बर १ मा चुनाव जित्ने आधार त छ नि ?
उहाँले २६ वर्षसम्म यही जिल्लामा शासन गर्नुभयो । तर उहाँले एउटा सिन्को भाँच्नुभएन । उहाँको गाउँमा अहिलेसम्म हाइस्कुल छैन, विजुली त मैले लगिदिएको हुँ ।

कांग्रेसको शीर्ष नेताको विरुद्धमा लाग्न तपाईलाई कसैले निर्देशन वा उक्साउने काम गरेको छ भन्ने आशंका गरिएको छ नि ? एमालेको समर्थनमा तपाईले उम्मेदवारी दिदै हुनुहुन्छ रे ?
आठ हजार कांग्रेस कार्यकर्ताले मलाई आधिकारिक उम्मेदवार स्विकार गरेकाले म अघि बढेको हुँ । तिनै कार्यकर्ताले मलाई उक्साएका हुन् ।

तपाईले क्षेत्र नम्बर १ बाट ६४ सालमा हार्नुभएकै हो । कांग्रेसको महाधिवेशनमा २ पटक केन्द्रिय सदस्यमा हारिसक्नुभयो । तपाईसँग जनमत कसरी छ भन्न सकिन्छ ?
केन्द्रिय सदस्यमा म स्वतन्त्र उठ्दा पनि धेरै मत ल्याएको थिएँ ।

तपाईकै कार्यकर्ताले केन्द्रिय सदस्यमा त हराएकै हुन् नि ?
पहिलाको कुरा छोडौँ, अहिलेको चुनावमा रामचन्द्र पौडेल तेस्रो हुन्छन् ।

त्योभए एमालेको समर्थन तपाईलाई छ हैन ?
एमालेको आफ्नै उम्मेदवार छ नि । मलाई किन समर्थन गर्ने ? लडाई नै एमालेको र मेरो हुन्छ । रामचन्द्रजि त कता हराउनुहुन्छ कता ।

मलाई तनहुँका जनताले भनेका छन्, रामचन्द्र पौडेलले नै चुनाव जित्नुहुन्छ भनेर ?
यो कुरा कसैले भन्न सक्दैन । रामचन्द्रजीको श्रमतीलेसमेत भन्नुहुन्न । रामचन्द्र पौडेलले राम्रो काम गर्नुभएको छ भनेर उहाँको परिवारलेसमेत भन्न सक्दैन ।

विकासप्रेमी नेतालाई तपाईले काम गरेन भन्न मिल्छ ?
उहाँ विल्कुलै विकासप्रेमी होइन । देशभरी कता के गर्नुभएको छ, मलाई थाहा छैन, तनहुँमा केही पनि गर्नुभएको छैन ।

तपाईको काम भनेको रामचन्द्र पौडेलको विरोध गर्ने मात्रै रैछ हैन ?
मेरो काम भनेको तनहुँमा विकास गर्ने हो । सकभर त म उहाँको अनुहार पनि हेर्न चाहन्न ।

अहिलेको अवस्थामा तपाईहरु मिल्नुपर्छ भनेर सबैले भनेका छन् ? तपाईलाई केन्द्रिय सदस्य, राष्ट्रिय सभादेखि समानुपातिकको सुचिमा अग्रस्थानमा राख्छुभन्दा पनि किन मान्नुभएन ?
मलाई त सभापतिले बोलाउनुभयो । रामचन्द्र भन्ने मान्छेसँग कुरा गर्नै चाहँदैनथेँ । उहाँहरुले केके भन्नुभयो । म हिँडे । समानुपातिकमा त कांग्रेसको धेरै परे एक जना पर्छ । अनि मैले यस्तो भने, मलाई ब्ल्याक मेल गर्ने काम नगर्नुस् । १० जनाभित्र राख्दा के हुन्छ भनेर सोध्नुभएको थियो, १० जनाभित्र तपाई नै बस्नुस भन्द्याहो मैले ।

रामचन्द्र पौडेललाई हराउनका लागि नै तपाईलाई अघि सारिएको चर्चा छ नि ?
रामचन्द्र पौडेलका पिछलग्गुहरुको काम नचाहिदो भ्रम सृजना गर्ने हो । म नलडे पनि उहाँले कुनै पनि हालतमा चुनाव जित्नुहुन्न ।

तपाईमाथि त भ्रष्टाचारीको आरोप छ नि ?
आरोप त अदालतमा चलिरहेको छ । जनताले देखाउनेछन् ।

रामचन्द्रलाई हराउनका लागि तपाईले एमालेसँग सहमति गर्नुभएको हो ? अन्य शक्तिकेन्द्रको पनि समर्थन छ भन्छन् नि ?
म रामचन्द्रलाई हराउन हैन, आफु जित्न उठ्न हो । म कोही शक्तिकेन्द्र चिन्दिन ।

जनताले नेपाली कांग्रेस मिलेर जानुपर्छ भनिरहँदा तपाईले किन विद्रोह गर्नुभयो ?
तनहुँको जनताले गोविन्दराज जोशी नहुँदा राष्ट्रिय राजनीतिमा तनहुँको उपस्थिती कमजोर भयो भनेका छन् ।

अहिले यसरी कांग्रेसको विपक्षमा उभिदा भविष्यमा तपाईको राजनीति पनि समाप्त हुन सक्छ नि ?
मैले यो जिल्लामा संगठन गरेको मैले हो ।

रामचन्दै पौडेल प्रजातन्त्रका लागि १४ वर्ष जेल बस्नुभयो । अहिले तपाईले आरोप लगाउँदैमा हुन्छ ?
वास्तवमा पौडेल १४ वर्ष जेल बस्नुभएकै होइन । यो झुट कुरा हो ।

प्रधानमन्त्रीको उम्मेदवारको हैसियत बनाइसकेका पौडेललाई तपाईले सहयोग गर्नुपर्दैन ?
म त एक नम्बर क्षेत्रको जनताको भावनाको कुरा गर्दैछु । अरु कुरासँग मेरो सरोकार छैन ।

तपाईको कारणले दुवैजनाले चुनाव हार्नुभयो भने के हुन्छ ?
म हार्दिन, चिन्तै नगर्नुस् ।

जित्ने आधार छ ?
यहाँको जनतालाई सोध्नुस् । परिणामले पनि देखाउँछ ।

त्यसो हो भने तपाईले वाम गठबन्धनसँग सहमति गर्नुभएको हो ?
यो नचाहिदो कुरा नगर्नुस् । मलाई वाम गठबन्धनको बारेमा थाहा छैन ।



प्रतिक्रिया दिनुहोस्