Logo

पर्यटकलाई होटलभन्दा होमस्टे प्यारो



फलेवास, पर्वत, १६ कात्तिक : कतै बास बस्नुपर्दा होटलको खोजी गरिन्छ । तर यहाँ आउने पर्यटक भने होटल छाडेर स्थानीय होमस्टेतर्फ आकर्षित हुने गरेका छन् ।

लुंखुदेउरालीमा आउने पर्यटक स्थानीय होटललाई छाडेर होमस्टेमा बस्ने गरेका हुन् । पाँच वर्षेदेखि सञ्चालित चिसापानी कालिका होमस्टे पर्यटकको आकर्षकस्थल बन्ने गरेको छ ।

महाशिला गाउँपालिका–५ मा यामप्रसाद अधिकारीले सञ्चालन गरेको होमस्टेमा पोखराबाट बढीजसो पर्यटक आउने गरेका छन् । विशेषगरी फलामखानी क्षेत्र, महाशिला, लुंखु–चिसापानी पदमार्ग घुम्न आएका पर्यटक उक्त होमस्टेमा बस्ने गरेका छन् ।

“लुंखुमा थुप्रै होटल छन्, तर पर्यटक बास बस्न चिसापानी कालिका होमस्टे आउने गरेका छन्”, स्थानीयवासी अशोक उच्चै ठकुरीले भन्नुभयो ।

होमस्टे सञ्चालक अधिकारी स्थानीयस्तरमै उत्पादित वस्तुको परिकार तथा आफ्नै घरको जस्तो वातावरण पाएकाले पर्यटक होमस्टे आउने गरेको बताउनुहुन्छ । उहाँले काठमाडौँ र पोखराबाट होमस्टे अध्ययनकै लागि विद्यार्थी आउने गरेका बताउनुभयो । होमस्टेमा बास बस्नेहरु पुनः दोहो¥याएर समेत आउने गरेका छन् ।

“होमस्टेले गाउँमा विभिन्न काम लिएर आउनेलाई बास बस्न सहज भएको छ,” उहाँले भन्नुभयो । होमस्टेकै आम्दानीले घरखर्च चलाउन सहज भएको उहाँको भनाइ छ । लुंखुदेउराली मात्र हैन घरवास सुविधा भएका चित्रे, आर्थरडाँडाखर्क, लेस्पार, शालिजा, बाँसखर्क, बनौ, लेखफाँटलगायत क्षेत्रमा पनि आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या बढ्न थालेको छ ।

पारिवारिक वातावरण र स्थानीयस्तरमा उत्पादित अर्गानिक खानेकुराका कारण पनि होमस्टेमा आउनेको सङ्ख्या बढेको आर्थरडाँडाखर्कका होमस्टे सञ्चालक इन्द्र गुरुङले बताउनुभयो । (रासस)



प्रतिक्रिया दिनुहोस्