Logo

मेरिट लिष्ट स्थगित गरी विद्यार्थी प्रतिनिधिहरु समेतको रोहवरमा छानबिन गर्न माँग



माँग पूरा नभए आन्दोलन गर्ने नेपाल विद्यार्थी संघ पूर्वाञ्चल विश्वविद्यालय समन्वय समितिको चेतावनी

काठमाडौं, १६ कार्तिक । नेपाल विद्यार्थी संघ पूर्वाञ्चल विश्वविद्यालय समन्वय समितिले शैक्षिक सत्र ०७४/७५ मा इन्जिनियरिङ अध्ययनका लागि विश्वविद्यालयले लिएको प्रवेश परिक्षाको मेरिट लिष्ट २ पटक निकालिएको र त्यसबाट जेहेन्दार तर्फको छात्रबृत्तिमा द्धिविधा देखिएकोले दुवैपटक प्रकाशित गरिएका मेरिट लिष्ट स्थगित गरी विद्यार्थी प्रतिनिधिहरु समेतको रोहवरमा छानबिन गर्न माँग गरेको छ।

बिहीबार रिपोर्टर्स क्लब नेपालमा समन्वय समितिले पत्रकार सम्मेलन गर्दै यस्तो माँग गरेका हुन् । समितिले सम्बन्धन प्राप्त विभिन्न संकायका कलेजहरुले तोकेको मापदण्ड पूरा नगरी तथा शैक्षिक योग्यता पूरा नभएका शिक्षकहरुबाट अध्यापन सञ्चालन भैरहेको हुँदा विद्यार्थी प्रतिनिधिहरु समेतको रोहबरमा तत्काल अनुगमन गरी आवश्यक कारबाही गर्न माँग गरेको छ ।

समितिका कार्यवाहक अध्यक्ष लोकेन्द्र भण्डारीले एउटै संकाय र विषयको अध्ययनका लागि कलेज पिच्छे फरक फरक शुल्क लिने गरेकोले विश्व विद्यालयले अनिवार्य रुपमा बैज्ञानिक शुल्क निर्धारण गरी एकरुपता कायम गर्न माँग गरेका छन् ।

उनले भने,‘ईन्जिनियरिङ र नर्सिङ बाहेकका (व्यवस्थापन, कानून, शिक्षा लगायतका) संकायमा पनि अनिवार्य रुपमा १० प्रतिशत छात्रबृत्तिको व्यवस्था गर्न जोडदार माँग गर्दछौं।’

समितिले पूर्व सहमति अनुरुप विश्व विद्यालयले सेमेष्टर प्रणालीको परिक्षाफल ४५ दिनभित्र अनिवार्य रुपमा प्रकाशन गर्न समेत माँग गरेको छ । त्यस्तै समितिले अन्य विश्व विद्यालयसरह ईन्जिनियरिङ विषयका विद्यार्थीहरुलाई मौका परिक्षाको व्यवस्था गर्न समेत माँग गरेको हो ।

आफूहरुले उठाएका जायज माँगहरुप्रति कुनै सुनुवाई नभए आन्दोलनको आँधीबेहरी सहित अघि बढ्न तयार भएको र आन्दोलनबाट उत्पन्न परिस्थितिको जिम्मेवार विश्वविद्यालय हुनुपर्ने समेत समितिले जनाएको छ ।

त्यस्तै कार्यक्रममा केसीसी नेविसंघका सभापति विदशे प्रकाश वली, हिलसाईड कलेज नेविसंघका सभापति अञ्जान चालिसे, यति कलेज नेविसघका सभापति दिपक शर्मालगायतले आफन विचारहरु राखेका थिए ।

 



प्रतिक्रिया दिनुहोस्