Logo

सिपी गजुरेलको आरोप : नेपालका सबै मिडियाहरु दुई वटा गठबन्धनको मात्रै गीत गाएर हिँडिरहेका छन्



नेकपा ९क्रान्तिकारी माओवादी०का उपाध्यक्ष सिपी गजुरेलले नेपालमा एमाले र माओवादी केन्द्रवीच बनेको गठबन्धन वामपन्थी वा कम्युनिष्ट केही पनि नभएको आरोप लगाएका छन् । उनले नेपालमा सच्चा कम्युनिष्ट पार्टी आफ्नो पार्टी मात्रै भएको समेत दाबी गरेका छन् । एमाले र माओवादीले राप्रपासँग चुनावी तालमेल गरेकोले कुनै दिन एकता गरे आश्चर्य नमान्नुपर्ने समेत बताए । यीनै विषयमा केन्द्रित रहेर नेता गजुरेलसँग पत्रकार ऋषि धमलाले गरेको कुराकानीको सम्पादित अंश :

तपाईहरुले आज उम्मेद्धवारी दिनुहुन्छ होईन ?

हो, हामीले पहिलो चरणमा त उम्मेद्धवारी दिईसक्यौं । अब दोस्रो चरणको लागि आज दिँदैछौं ।

कहाँ कहाँ कसरी र तालमेल को–को सँग गर्दैहुनुहुन्छ ?

अब हाम्रो तालमेल चाहीँ हामीले जसलाई प्रतिक्रियावादी पार्टी भनेका छौं, ती चार वटा पार्टीहरुसँग हाम्रो कुनै तालमेल हुँदैन । नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एमाले र राप्रपासँग हाम्रो तालमेल हुँदैन । यो पटक हामी आफ्नै खुट्टामा उभिएर चुनाव लड्दैछौं ।

कति ठाउँमा उम्मेद्धवारी दिँदैहुनुहुन्छ आज ?

थोरै ठाउँमा भए पो तपाईले यो यो ठाउँमा भन्न सजिलो हुन्थ्यो । ९० प्रतिशत स्थानमा हाम्रो उम्मेद्धवारी हुँदैछ ।

एक्लै उम्मेद्धवारी दिनुभयो, जनआधार त देखिँदैन नि ?

ज्नता भनेको कसैको पेवा हुँदैन। जनता भनेको राजनीतिक वातावरण र राजनीतिक नीतिका आधारमा, पार्टीलाई जनताले चयन गरेको आधारमा भएकोले त्यसकारण जनता भनेको कसैको पेवा होईन् । हो, बरु संगठन सानो र ठूलो हुन्छ । अहिले हाम्रो संगठन त्यति ठूलो छैन् । त्यो कुरा हामीले मानेका छौं । तर जनताकाबीचमा प्रचार गराउनको लागि हामीसँग पर्याप्त मात्रामा कार्यकर्ताहरु हुनुहुन्छ।

उसो भए अब माओवादी केन्द्रसँग चाहीँ तपाईहरुको तालमेल हुँदैन त ?

उनीहरुसँग हुँदैन । उनीहरु त कम्युनिष्ट पार्टी नै होईनन् नि । त्यो त कम्युनिष्ट आन्दोलनलाई धोका दिनेहरुको पार्टी हो । त्यो अब भुतपुर्व कम्युनिष्टहरु भन्न त सुहाउँछ । तर उनीहरु कम्युनिष्ट भन्न सुहाउने पार्टी होईनन् ।

तर एमाले र माओवादी केन्द्रका नेताहरुले अब मुलुकमा कम्युनिष्ट शासन आउँछ भनेर भनेका छन् नि ?

त्यो त उनीहरुले जनतालाई भ्रम पार्नको लागि भनेका कुराहरु न हुन् । त्यसमा कत्तिपनि सत्यता छैन । तीनीहरु वामपन्थीपनि होईनन् । वामपन्थी हुनको लागि अहिले विद्यमान सत्ताको विपक्षमा उभिएको हुनुपर्छ । सरकारमा बस्ने पार्टीपनि कहीँ वामपन्थी पार्टी हुन्छ र ? त्यसो भए त नेपाली कांग्रेसलाई पनि वामपन्थी भनिदिए भैगयो नि त ।

उसो भए एमाले र नेकपा माओवादी केन्द्र सच्च कम्युनिष्ट पार्टी होईनन ?

होईनन। विल्कुलै होईनन् । हुन सक्दैनन् । उनीहरु त पहिल्यदैखि स्खलित भैसके नि ।

नेपालमा माओको विचारधारालाई प्रतिनिधित्व गर्ने पार्टी कुन हो त ?

त्यो पार्टी चाहीँ हाम्रो हो । अब विप्लवजीहरुलाई हामी के भन्छौं भने उहाँहरु वामपन्थी चाहीँ हो । किनभने उहाँहरु सत्ताको विरुद्धमा हुनुहुन्छ । संघर्ष गरिरहनुभएको छ। क्रान्ति गर्नुपर्छ भनेर अगाडि बढिरहनुभएको छ। उहाँहरु वामपन्थी हो । उहाँहरुले चुनाव लडेको भए त हामीसँग तालमेल हुन सक्थ्यो होला । तर उहाँहरुले चुनावी नलडेकोले भएन । तर संघर्षमा हाम्रो सहकार्य हुन्छ ।

वामपन्थीहरु एक ठाउँमा आउन नसक्नुको कारण चाहीँ के रैछ ?

होईन, एक ठाउँमा आउनको लागि हामी प्रयास गरिरहेका छौं । वामपन्थीहरुलाई हामी एकै ठाउँमा ल्याउँछौं । हामी लागिरहेका छौं । एमाले र माओवादी केन्द्रले भनेको वामपन्थी एकता होईन, त्यो त दक्षिणपन्थी एकता हो ।

तर प्रधानमन्त्री देउवाले त नेपालमा कम्युनिष्ट शासन आउँदैछ भनेर भन्नुभएको छ नि ?

नेपाली कांग्रेसको विश्लेषण गरेर मलाई अचम्म लाग्छ । यो चुनावभरिको विश्लेषण हो । यो चुनावमा आरोप प्रत्यारोप नगरीकन भोट ल्याउन सकिँदैन । प्रचार गर्ने एउटा विषय हो । वास्तवमा उनीहरुलाई के थाहा छ भने एमाले र माओवादी केन्द्र भनेको आफूजस्तै हो भन्ने कुरा राम्रोसँग थाहा छ। फरक केही छैन् । त्यस्तालाई पनि कम्युनिष्टको विल्ला लगाईदिएर जो प्रचार गरिएको छ, यो त फखद् चुनावी मसाला बनाउन खोजिएको हो । अरु केही पनि होईन् । उनीहरु पनि कांग्रेस, राप्रपाजस्तै हुन् ।

तर चुनावपछि एमाले र माओवादीले पार्टी एकता गर्ने भनेर घोषणा नै गर्नुभएको छ ?

गरिरहेका छन् । सबैले देखेका छौं । उनीहरुले झापामा राप्रपासँग एकता गरे । कम्युनिष्टहरुको चाल कस्तो हुन्छ भन्ने कुरा व्यवहारबाट नै पुष्टि हुन्छ नि । कसैले भनेको भरमा त केही हुँदैन त । जनतालाई ठग्नको लागि भनिएको कुरा त विस्तारै नाँग्दिै गएको छ । उनीहरुले राप्रपाको उम्मेद्धवारलाई सहयोग गर्ने घोषणा गरेका छन् ।

उसो भए ओली, प्रचण्ड र कमल थापावीच एकता हुन्छ भन्न खोज्नुभएको हो ?

हो । उनीहरुवीच विस्तारै एकता हुन्छ । त्यो त अहिले नै देखिसकियो नि । हुन नि सक्छ । सिद्धान्त, विचार र राजनीतिलाई छोडिदिएपछि जो सँग गरेपनि त भयो । खाली फाईदाको लागि नै गरेपछि जो सँगपनि गरेपनि भयो नि ।

यो चुनावमा तपाईको पार्टीले ३ प्रतिशतको थ्रेस होल्ड कटाउन सक्ला त ?

होईन, त हाम्रो पक्षमा माहोल छैन । अहिले हाम्रो माहोल किन छैन भन्दाखेरि नेपालका सम्पूर्ण मिडियाहरुले दुई वटा गठबन्धनको मात्रै गीत गाएर हिँडिरहेका छन् । अरु पक्षलाई त मिडियाले स्थान नै दिँदैन् । हाम्रो भए पनि त्यो हाम्रो आउँदैन् । अहिले उनीहरुसँग अर्बौ रुपैयाँ भ्रष्टाचार गरेर कुम्ल्याएको पैसा छ, त्यसलाई खर्च गरिरहेका छन् । उनीहरुको चहलपहल त हुने नै भयो नि, अब हाम्रो पार्टी भ्रष्टाचारको विरोधी हो । र, हामी भोजभतेर गर्ने, पैसा बाँड्ने तरिका पनि अपनाउँदैनौं । त्यो तरिका गलत हो भनेर भन्दै आएका छौं । बास्तवमा जनताको समर्थन त हामीलाई छ । हामीले राम्रो काम गर्ने अवसर पाएका छैनौं । जनतालाई नराम्रो हुने काम कहिल्यै गरेका छैनौं ।

उसो भए यहाँको पार्टी र प्रचण्डको पार्टीवीच एकता हुँदैन ?

हुँदैन । कुनैपनि हालतमा हुँदैन् । लेखेर राख्नुहोस् हाम्रो एकता हुँदैन् ।

 



प्रतिक्रिया दिनुहोस्