Logo

लोकतान्त्रिक गठबन्धनको विजय आवश्यक : अर्थ राज्यमन्त्री राणा



ललितपुर, १७ कात्तिक : अर्थ राज्यमन्त्री उदयशम्शेर राणाले लोकतन्त्र स्थायित्वका लागि आगामी मंसिर १० र २१ गते हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा लोकतान्त्रिक गठबन्धनको विजय हुनु आवश्यक रहेको बताउनुभएको छ ।

नेपाली काँग्रेस क्षेत्र नम्बर १ द्वारा आज यहाँ आयोजित क्षेत्रीय प्रचारप्रसार समिति गठन प्रक्रियालाई सम्बोधन गर्दै उहाँले जुनसुकै मूल्यमा काँग्रेसको विजय हुन जरुरी रहेको बताउनुभयो ।

लोकतन्त्र स्थापनाको लागि संविधान निर्माण काँग्रेसको अग्रसरतामा भएको स्मरण गर्दै उहाँले अव देशको विकास पनि काँग्रेसकै नेतृत्वमा हुने बताउनुभयो ।

आगामी मंसिर २१ गते हुन लागेको निर्वाचनमा क्षेत्र नं १ बाट प्रतिनिधि सभाको उम्मेदवारसमेत रहनुभएका राणाले वाम गठबन्धनले निर्वाचनमा लोकतान्त्रिक गठबन्धनलाई कुनै असर नपार्ने बताउनुभयो ।

विसं २०७० को दोस्रो संविधान सभाको चुनावमा काँग्रेसले प्राप्त गरेको मतलाई सुरक्षित रुपमा कायम राख्न सकेमा मात्र लोकतान्त्रिक गठबन्धनको विजय सुनिश्चित रहेको बताउनुभयो ।

उक्त निर्वाचनमा काँग्रेसको पक्षमा सो क्षेत्रबाट १८ हजार ५०० मत प्राप्त गरेका थिए । सो क्षेत्रको १(क) मा काँग्रेसबाट ऋषिराम घिमिरे र १ (ख) मा मीनकृष्ण महर्जन उम्मेदवारी रहनुभएको छ ।

क्षेत्रीय सभापति राजनप्रसाद घिमिरेले चुनाव प्रचारप्रसारका लागि १०१ सदस्यीय मूल समारोह समिति निर्माण गरेको बताउनुभयो । (रासस)



प्रतिक्रिया दिनुहोस्