Logo

राष्ट्रिय दलको रुपमा स्थापित हुन्छौ : प्रवक्ता पौडेल



प्रकाश खनाल: बुटवल,१७ कार्तिक ।नेपाली कांग्रेस (बिपी ) पार्टीका सह महामन्त्री तथा प्रवक्ता देवेन्द्रप्रकाश पौडेलले आसन्न निर्वाचनमा आफ्नो पार्टी राष्ट्रिय दलको रुपमा स्थापित हुने दाबी गरेका छन् ।

पार्टीले स्व.बिपी कोईरालाले प्रतिपादन गरेको राष्ट्रियता,प्रजातन्त्र र समाजवादको बिचार र सिद्धान्तलाई अंगिकार गरेको र नेपाललाई सनातन हिन्दुराष्ट्र नेपाल घोषणा गराउने संकल्प लिएकोले पार्टी अहिलेको निर्वाचनमा राष्ट्रिय दलको रुपमा स्थापित हुने दाबी गरे ।

रिपोर्टर्स क्लव नेपाल रुपन्देहीद्धारा शुक्रबार बुटवलमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै पौडेलले गएको लक्ष्मी पुजाको दिन मात्रै पार्टी घोषणा गरेपनि आगामी मंसिर २१ गते हुने प्रतिनिधीसभा र प्रदेशसभा निर्वाचनमा ४५ जिल्ला मध्ये २० जिल्लामा उम्मेदवारी दिएको जानकारी गराए ।
पार्टी गठन भएको छोटो समयमै देश व्यापि संगठन निर्माण भैरहेको बताउदै प्रवक्ता पौडेलले आफ्नो पार्टीले आसन्न निर्वाचनलाई आन्दोलनको रुपमा उपयोग गरेको उल्लेख गरे ।

पहिलो चरणमा हुने निर्वाचनमा भने प्राबिधिक कारणले पार्टीको आधिकारीक उम्मेदवार उठाउन सम्भव नभएकोले ति जिल्लामा भने स्वतन्त्रमा उम्मेदवारी दिएको जानकारी दिदै उनले पार्टीले लिएको नीति र बिचार तथा हिन्दु राष्ट्र पुनस्र्थापना अभियानप्रति जनता आकर्षित भएको बताए ।

नेपाली कांग्रेसले बि पी कोईरालाको बिचार र सिद्धान्तलाई बिर्सेर कहिले को सँग कहिले कोसँग तालमेल गर्न थालेपछी नेपाली कांग्रेसकै बरिष्ठ नेता हरिबोल भट्टराईको नेतृत्वमा नयाँ पार्टी गठन गरेको बताउदै उनले पार्टीले काठमाण्डौ,दाङ्ग,उदयपुर जिल्लाका केही निर्वाचन क्षेत्रबाट प्रत्यक्षमै चुनाव जित्ने दाबी गरे ।

कार्यक्रममा सो पार्टीका रुपन्देही जिल्ला क्षेत्र नं.३ बाट प्रतिनिधीसभा सदस्यमा उम्मेदवारी दिएका अमृत प्रसाद शर्मा भट्टराई र क्षेत्र नं.३ को १ बाट प्रदेशसभा सदस्य पदका उम्मेदवार डोलराज भुसालले नेपाली कांग्रेसले पार्टीको बिचार र सिद्धान्तलाई भुलेर नातावाद कृपावादमा लागेकोले आफुहरु नेपाली कांग्रेस (बिपी) पार्टीबाट उम्मेदवारी दिएको बताए ।

नेपाली कांग्रेसले टिकट बितरण गर्दा पार्टीमा क्रियाशीलतालाई भन्दा नातावाद र कृपावादका आधारमा बितरण गरेको आरोप लगाउदै बि पीको बिचारलाई स्थापित गर्नका लागि पनि आफुहरु नयाँ पार्टीमा आवद्ध भएको बताए ।



प्रतिक्रिया दिनुहोस्