Logo

हितमान शाक्य भन्छन्,‘म जीवनमा कहिल्यैपनि पराजित भएको छैन, १० नम्बरमा म विजयी हुन्छु’



काठमाडौं, १९ कार्तिक । काठमाडौं १० नम्बर क्षेत्रका एमाले–माओवादी केन्द्रका साझा उम्मेद्धवार हितमान शाक्यले आफ्नो विजयी सयमा एक हजार प्रतिशत रहेको दाबी गरेका छन् । उनले आफ्नो एक तिहाई जीवन राजनीतिमा नै वितेकोले आफ्नो अनुभव र क्षमताका कारण उक्त क्षेत्रमा विजयी हाँसिल गर्ने कोशिस भैरहेको बताए । उनले भने,‘निर्वाचनमा मैले जित्नुपर्छ, म माओवादी र एमालेको साझा उम्मेद्धवार हुँ, मेरो विजयी सुनिश्चि छ।’

आईतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष चुनावी साक्षात्कारमा बोल्दै शाक्यले आफूले जीवनमा कहिल्यैपनि प्रतिष्पर्धामा नहारेको उल्लेख गर्दै भने,‘म २०३८ सालदेखि अहिलेसम्म कुनैपनि चुनावमा हारेको छैन, चाहे ०३८ सालको विद्यार्थी राजनीतिमा होस्, वा ०४५ सालमा त्रिवीको सभापति बन्दाखेरि, वा ०६४ सालको संविधानसभाको निर्वाचनमा नै किन नहोस्, म कहिल्यै पनि हारेको छैन्।’

शाक्यले आफू जीवनमा कहिल्यैपनि पराजित नभएकोले यो पटक पनि पराजित नहुने जिकिर गरे । उनले थपे,‘जनताले मलाई भोट हाल्छन्, यो कुरामा म पूर्ण विश्वस्त छु।’

१० नम्बर क्षेत्र वामपन्थीहरुको बर्चश्व भएकोले आफूले जित्ने उनको दाबी थियो । उनले भने,‘०७० मा केसीले जित्नुभयो, त्यतिवेला माओवादी पार्टी विभाजित भएको थियो, अहिले हामी एकताबद्ध भएका छौं, एमाले र माओवादी एक भएर अघि बढेका छौं, जीत सुनिश्चित छ।’ उनले मुलुकमा स्थिर सरकार वाम शक्तिहरुलेमात्रै दिन सक्ने भएकोले यो पटकको निर्वाचनमा वामपन्थीहरुको विजयी हुने बताए ।

उनले आफू बाग्लुङमा जन्मिएको भएपनि आफ्नो थाकथलो बाग्मती नै भएको जिकिर गरे । उनले थपे,‘जनता प्रष्ट हुनुपर्छ, हुन त म बाग्लुङमा जन्मिएको हुँ, म अहिले १० नम्बर क्षेत्रकै बासिन्दा हुँ, बरु कांग्रेस उम्मेद्धवार राजन केसीजी अन्तै बस्नुहुन्छ।’ उनले आफूहरुकै योगदानबाट मुलुकमा लोकतान्त्रिक गणतन्त्र आएको स्पष्ट पारे ।

उनले आफूहरुले कहिल्यैपनि कम्युनिष्ट शासन ल्याउने भनेर नभनेको समेत जिकिर गरे । शाक्यले थपे,‘हाम्रो घोषणापत्रमा कहीँ कतै त्यस्तो भनिएको छैन, घोषणापत्र हेर्न सक्नुहुन्छ, संविधानमै समाजवाद बनाउनुपर्छ, मुलुकलाई आर्थिक समृद्धि बनाउनुपर्छ भन्ने हो, कांग्रेसले बरु समाजवाद र प्रजातन्त्र बिर्सियो।’



प्रतिक्रिया दिनुहोस्