Logo

भूँइका प्रकाशमान भर्सेस उचाईका रवीन्द्र



डा.दीपेश केसी : बीबीसी नेपाली सेवाको प्रमुख हुँदा रवीन्द्र मिश्रले नेपाली काँग्रेसका तत्कालीन महामन्त्री प्रकाशमान सिंहलाई प्रश्न सोधेका थिए—समाजवाद भनेको के हो ? एउटा पत्रकारले नेतालाई प्रश्न सोध्ने अधिकार राख्छ । तर, हाजिरीजवाफको शैलीमा सोधिएको त्यो प्रश्न सिंहलाई होच्याउने अभिप्रायले सोधिएको थियो । कुनैबेलाका तथ्यांकशास्त्री तथा अध्यापक सिंहका लागि समाजवादको अर्थ अन्तवार्ताका क्रममा हतपत दिइहाल्नु कठिन देखियो । उनी आफैमा वाकपटुतामा निपुर्ण पनि होइनन् । अलमलिदै प्रकाशमानले वीपी कोइरालाको भनाई उदृत गर्दै समाजवादको व्याख्या गर्न थाले ।

मिश्रले पुनः सोधेका थिए—तपाईंका अनुसार समाजवाद के हो ? कुनैपनि वादको व्याख्या व्यक्तिले गर्ने होइन । समाजवादको व्याख्या उक्त दर्शनका प्रतिपादक र अनुसन्धानकर्ताको गहिरो अनुसन्धानले मात्र गर्न सक्छ । व्यक्तिपिच्छे सिद्धान्तको व्याख्या हुन सक्दैन । यदि कसैले गर्न खोज्छ भने उसले आफै अनुसन्धानमूलक प्राज्ञिक काम गरेर मात्र दिनसक्छ । हाजिरीजवाफ या कक्षाकोठामा प्रश्न सोधिएको शैलीमा चतुर पत्रकार रवीन्द्रले प्रश्न सोधेर प्रकाशमानको खिल्ली उडाउन खोजेका थिए । विरासतबाट राजनीतिमा आएकाहरूको कमीकमजोरी श्रोतासामु छर्लङ्ग पारे ।

रगतमा राजनीति

यहाँ प्रकाशमान सिंह र रवीन्द्र मिश्रबीचको उक्त अन्तवार्ताको सन्दर्भ उल्लेख गर्नुका पछाडि दुवै चुनावी मैदानमा उत्रनुका कारण पनि हो । प्रकाशमान सिंहको रगतमा राजनीति छ । २०४६ सालको जनआन्दोलनका कमाण्डर गणेशमान सिंहका पुत्र हुनुले पनि सिंहलाई राजनीतिमा छिट्टै उचाई लिने सफलता मिल्यो । यति भन्दैमा प्रकाशमानको राजनीतिमा लगाव र लगानीलाई बेवास्ता गर्न मिल्दैन । उनी नेपाली काँग्रेसभित्र स्थान बनाउन संघर्ष गरिरहँदा पिता गणेशमानले पीडा पोख्दै काँग्रेस त्यागिसकेका थिए । राजा वीरेन्द्रबाट प्रधानमन्त्रीको पदको प्रस्ताव आउँदा कृष्णप्रसाद भट्टराईतर्फ देखाएर राजनीतिमा त्यागको भावना देखाएर जनताको मनमा बसेका उनै गणेशमान अपमानित हुनुपरेको इतिहास साक्षी छ । तैपनि, उनले निष्ठा र आदर्शको राजनीतिलाई नत्यागी देह त्यागे ।

पिताले बनाएको उचाईको आँडमा राजनीतिमा टिकिरहेको आरोप प्रकाशमानमाथि छ । हुनपनि उनी सामान्य नागरिकका सन्तान होइनन् । उनको नशा नशामा राजनीतिक बगिरहनुको कारण यही हो । मनुजबाबु मिश्रले युवा पत्रकार नरेन्द्र रौलेलाई दिएको श्रव्यदृश्य अन्तवार्तामा आफ्नो पुत्रको रगतमा राजनीति नभएको उल्लेख गरेका छन् । वरिष्ठ चित्रकार मनुजबाबुले रवीन्द्रको राजनीतिक यात्रातर्फ असन्तुष्टि समेत पोखेको उक्त सालिन अन्तवार्तामा दुरदर्शी अभिव्यक्तिहरू आएका छन् । मिश्रको दुरदर्शी अभिव्यक्तिलाई आधार मान्ने हो भने रवीन्द्र राजनीतिमा सफल हुने सम्भावना क्षीण छ । न त उनको राजनीतिक अभियानले नेपाली राजनीतिलाई ठूलो झड्का नै दिन सक्छ ।

साहस कि लहड ?

काठमाडौं क्षेत्र नम्बर १ मा प्रकाशमानले जित्छन् कि रवीन्द्र मिश्रले भन्ने प्रश्न अहिलेका लागि महत्वपूर्ण भएपनि कसैको जीत र हार गौण विषय हुन् । एउटाको जीत वा हारले नेपाली राजनीतिको मोड बदलिने पनि होइन । प्रकाशमानले दुईपटक संसदीय चुनावमा हार व्यहोरेका थिए । राजनीतिमा परिपक्वता हासिल गर्न उनलाई समय लाग्यो । अझै पनि आफ्ना कमजोरीहरूमाथि विजय पाएर देशको सबैभन्दा प्रभावशाली दलको नेतृत्व लिनुका साथै देशको नेतृत्व लिने साहसी पाइला चाल्न सकिरहेका छैनन् ।

व्यवसायिक पत्रकारिता छाडेर राजनीतिमा होमिएका रवीन्द्र मिश्रले साहस त गरेका छन् तर उनको राजनीतिक धरातल यति कमजोर छ कि त्यो कुनैपनि बेला चकनाचुर हुन सक्छ । यसको कारणबारे सबैभन्दा जानकार रवीन्द्र स्वयं होलान् । लहडको भरमा उनका कतिपय व्यवहार देखिदै गएको छ । उनी लोकप्रीयताको उचाईमा उडान गरिरहेका छन् ।

रवीन्द्र मिश्रले साझा पार्टी स्थापना गर्नुभन्दा अगाडि सामाजिक क्षेत्रमा निकै मिहेनतपूर्वक राम्रा कामहरू गरेका थिए । उनको प्रयासमा ‘हेल्प नेपाल’ नामक संस्थाको सञ्जाल देशभर मात्र नभई विदेशमा समेत फैलियो । ‘खान पुगोस् दिन पुगोस्’ जस्ता पवित्र कार्यहरू भए । तर, ती सबै काम निस्वार्थ रहेनछन् भन्ने छर्लङ्ग भएको छ । समाजले रवीन्द्रलाई एउटा होनहार पत्रकार र समाजसेवी देखेको थियो । अब उनको परिचय बदलिएको छ । उनी सत्ता र शक्तिका लागि प्रतिष्पर्धामा उत्रिएका छन् । उनले चाहेर वा नचाहेर पनि उनीसँग जोडिएका सामाजिक संघसंस्थाहरू राजनीतिक उद्देश्यले प्रेरित हुनेछन् ।

पानीको फोका !

चुनाव पछिका घटनाक्रमले रवीन्द्रको दल पानीको फोका जस्तै हुने खतरा छँदैछ । तर, उनका पवित्र उद्देश्यहरू पानीको फोका जस्तो नहोउन् । उनको राष्ट्रभक्तिमा खोट लगाउने ठाउँ भेटिदैन । तर, राजनीतिले सबै विषय निर्देशित गर्छ भन्ने सोचबाट नेपालका धेरै बौद्धिक समुदाय मुक्त हुन नसके जस्तै रवीन्द्र पनि मुक्त हुन सकेनन् ।

फ्रान्सेली विद्धान मिसेल फुको भन्थे— शक्ति जताततै हुनसक्छ तर बुझ्न र चिन्न सक्नुपर्छ । शक्ति सरकारमा मात्र हुँदैन, सेनामा मात्र हुँदैन, अस्पताल, शैक्षिक संघसंस्था, घर, परिवार हुँदै हरेक व्यक्तिको मस्तिष्कमा हुन्छ । रवीन्द्रले जुन रफ्तारमा पत्रकारिता र समाजसेवामार्फत् देशको हितमा भूमिका खेलिरहेका थिए त्यो रफ्तार उनको राजनीतिमा प्रवेश सँगै धुमिल हुँदै जाँदैछ । केही लाखले सामाजिक सञ्जालमा लाइक दिएर सस्तो लोकप्रीयता थपिदेलान् तर रवीन्द्रको राजनीतिक जीवन सार्थक हुनसक्दैन । अलोकप्रीयता र लोकप्रीयतासँग लेनादेना नगरी दुरगामी कदमहरू चाल्नेले मात्र राजनीतिलाई सम्हाल्न सक्छ । लोकप्रीयताको पछि लाग्नेहरूको समय चर्चामा खर्च हुन्छ ।

यहाँ पुनः प्रकाशमान सिंहको प्रसङ्ग ल्याउन चाहन्छु । तथ्यांकशास्त्रका होनहार विद्धान प्रकाशमानको राजनीतिमा प्रदर्शन अझै जोसपूर्ण देखिएको छैन । कतिपयले उनलाई प्राध्यापन पेशा नै सुहाउँथ्यो होला समेत भनेका छन् । मानिसले कुनैपनि क्षेत्रमा आफूलाई सामथ्र्यवान बनाएर समाजको हितमा काम गर्ने हो भने आफूलाई परिवर्तन गर्न जरूरी छ । प्रकाशमान सिंहको अहिलेको शैलीले उनलाई पारिवारिक विरासतले दिने राजनीतिक उचाईभन्दा माथि पु¥याउँदैन । जोसका साथ आवश्यक पर्दा जोखिम मोल्ने खूबी उनमा देखिएन ।

६० कटिसकेका उनको छत्रछायाँमा रहेकाहरूमध्येबाट होनहार नेतृत्व विकास हुने लक्षण समेत देखिइसकेको छैन । तैपनि, प्रकाशमान छातिभित्र साहसलाई कैद गरेर बसेका जस्ता देखिन्छन् । विधि र विधान अनुसार राजनीति चल्नुपर्ने अडानका कारण पार्टीभित्र आफ्नो गुट बलियो बनाउन सकेनन् । दशक अघि चाक्सिबारी केन्द्रित राजनीतिक गरेको आरोप खेपिरहेपछि प्रकाशमान देश दौडाहामा लाग्न थाले । उनले देशको सबै जिल्ला घुमिसिध्याए ।

रवीन्द्रले राजनीतिमा पाइला चाल्नुभित्र पत्रकारितामा आर्जन गरेको नाम र लोकप्रीयताका आधार हो । हेर्दा नजिक नजिक लागेपनि पत्रकारिता र राजनीति बिल्कुल फरक धार हुन् । त्यसमाथि पनि व्यवसायिक पत्रकारिता र राजनीतिको आत्मा नै मिल्दैन । पत्रकार बढी उचाईबाट भूगोललाई नियालिरहेको हुन्छ भने राजनीति गर्नेले भूगोललाई डुलाइरहेको हुन्छ । रवीन्द्रको चुनावी रणनीति उचाईमा रुमल्लिइरहेको छ ।

भूगोलबारे उनको जानकारी कमजोर देखिइसकेको छ । उनी सामाजिक सञ्जालमा रमाइरहेका छन् । भूगोलको कठिनाईको सामना गर्न चाहिरहेका छैनन् । लोकतान्त्रिक गठबन्धनलाई ठेगान लगाउन एकतावद्ध भएका कम्युनिष्ट कार्यकर्ताहरूको घुसपैठको भीडबाट प्रफुल्लित छन् । चुनावको दुई दिन अगाडि पार्टी निर्देशन बमोजिम रवीन्द्रको पछि लागेका कम्युनिष्ट युवाहरूको भीड हराउँदै जानेछ । त्यसो त भीडको विश्वास हुन्न भन्नेबारे रवीन्द्र जानकार होलान् । त्यसको परिणाम देखिइहाल्ला ।

रवीन्द्रको दल शहरमा जन्मेर शहरमा हुर्किन चाहिरहेको छ । जबकि नेपालमा शहरमा जन्मिएर शहरमा हुर्कन र बढ्न चाहने दलको अस्तित्व समाप्त भए । नेपाली काँग्रेस र नेपाल कम्युनिष्ट पार्टी छिमेकी राष्ट्र भारतमा जन्मिएर पनि गाउँ—गाउँ वस्ती वस्तीमा हुर्किए बढे । माओवादीले समेत आफूलाई गाउँ केन्द्रित गरेर उचाईमा पु¥यायो । रवीन्द्र मिश्र र उनका साथीहरू शहर केन्द्रित भएर गाउँमा पस्न खोज्दैछन् । यस्तो रणनीति सफल हुने सम्भावना न्युन छ । यदि सफल भएमा यो आश्चर्यको विषय हुनेछ ।

 



प्रतिक्रिया दिनुहोस्