Logo

निष्ठा र नैतिकताको राजनीतिक गर्न कांग्रेस असफल भएको भट्टराईको दाबी



कात्तिक २१, काठमाण्डौ । नेपाली कांग्रेस विपिका अध्यक्ष हरिबोल भट्टराईले चुनावी तालमेलका लागि नेपाली कांग्रेसले कुनै प्रस्ताव नगरेकाले एकीकृत राप्रपा राष्ट्रवादी र नेपाली काँग्रेस विपीबीच चुनावी गठबन्धन बनेको बताएका छन् । नेपाली रेडियो नेटवर्कसँग कुरा गर्दै भट्टराईले विपीको विचारलाई कांग्रेसले छोडेको आरोप लगाउँदै चुनावी तालमेल गर्नसमेत नसकिने अवस्था रहेको बताए ।

भट्टराईले आफू नेपाली कांग्रेसको वैचारिक धार र क्रियाकलापसँग अलग भएकाले लोकतान्त्रिक गठबन्धनमा प्रवेश नगरेको बताए । नेपाली कांग्रेस पार्टी बलियो र राम्रो हुनुपर्नेमा त्यस्तो बन्न नसकेको आरोप लगाउँदै अध्यक्ष भट्टराईले विचारको हिसाबले उत्कृष्ट भए पनि विचारलाई अंगिकार गर्न कांग्रेस असफल भएको टिप्पणी गरे ।

आफूले व्यक्तिगत स्वार्थका लागि कांग्रेस छोडेको नभै कांग्रेस पार्टीले जनताको हितलाई छोडेकाले असन्तुष्ट भएर नयाँ पार्टी गठन गरेको भट्टराईले बताए । कांग्रेसले प्रजातान्त्रिक पद्धतिमा मुलुकलाई लैजान नसकेको उनको आरोप छ ।

निष्ठा र नैतिकताको राजनीतिक गर्न कांग्रेस असफल भएको भट्टराईको दाबी छ ।
नेपाललाई हिन्दुराष्ट्र नै कायम गर्नुपर्ने मुद्दालाई नेपाली कांग्रेस विपीले उठाउने भट्टराइले जानकारी दिए । देशको धर्म संस्कृतिलाई समाप्त पार्ने काम हुन गइरहेकाले त्यसलाई आफ्नो पार्टीले रोक्ने भट्टराईको दाबी छ ।
विपीको विचारलाई जोगाउनका लागि आफूले नयाँ दल खोलेको भट्टराईको स्पष्टोक्ति छ ।



प्रतिक्रिया दिनुहोस्