Logo

कम्युनिजमसँग डराउनुपर्दैन, शेरबहादुरजी नरोईकन बस्नुहोला बुढानिलकण्ठतिर : झलनाथ खनाल



आगामी चुनावपछि वामपन्थी र लोकतान्त्रिक शक्तिबिचको तुलना हुने छ । अहिले वामपन्थी र नेपाली कांग्रेस दुवै पक्षले चुनावपछि आफूले सरकार बनाउने दाबी गर्दै आएका छन् । वामपन्थीको सरकार बन्यो भने कम्युनिष्ट शासन प्रयोग हुन्छ भनेर पनि टिप्पणी भइरहेका छन् । यिनै विषयमा नेकपा एमालेका वरिष्ठ नेता, पूर्व अध्यक्ष तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालसँग ऋषि धमलाले कुरा गरेका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि गरिएको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ ।

इलामका जनताले तपाईलाई धेरैपटक चुनाव जिताए । प्रधानमन्त्री र एमालेको अध्यक्ष पनि बन्नुभयो । तर जनताले सोचेअनुसारको काम गर्न सक्नुभएन भन्ने आरोप छ नि ?
त्यस्तो होइन । तपाईले कहाँबाट कसको कुरा सुन्नुभयो । जनताले अहिले छैटौँ पटक पनि मलाई नै चुनाव उठ्न आग्रह गरेका हुन् । इलाम जिल्लामा अरु सबै काम भएका छन्, नभएको एउटै भनेको त्यहाँ नेपाली कांगेस कमजोर बन्दै गयो । अहिले पनि कांग्रेसको शर्मनाक पराजय हुन्छ । त्यसैले यस ठाउँमा कांग्रेसको विकास चाँही नभएकै हो । हेर्दै जानुहोला म अत्याधिक मत ल्याएर जित्छु ।

चिया खेतिका लागि प्रसिद्ध इलामका जनताले उत्पादन गरेको चियाको बजार विस्तार भएन भन्ने गुनासो छ नि ?
इलामको चिया यो देशकै गहना हो । हामीले बनाएको चिया बगानलाई नेपाली कांग्रेसको सरकारले कौडीको मूल्यमा बेचिदियो । त्यसपछि धेरै अव्यवस्थित भयो । विदेशी लगानीका कारखानाहरु स्थापना भए । चियाको मूल्यमा गिरावट आयो । अहिले फेरी हामीले साना खालका चिया उद्योग विस्तार गर्दै लगेका छौँ । किसानको जीवनस्तर उकासिएको छ । चियाको मूल्य बढेको छ ।

इलामको पशुपतिनगरमा पनि विकास भएन भन्ने गुनासो जनताले गरेका छन् । के छ त्यहाँको अवस्था ?
तपाईले खाली नकारात्मक प्रश्न मात्रै सोधिरहनुभएको छ । आज किन हो कुन्नी । पशुपतिनगरमा के समस्या छ । तपाईलाई समस्याको बारेमा थाहा नै छैन । बेकारका कुरा गर्नुहुन्छ ।

तपाई बताइदिनुस् न त पशुपतिनगरमा के समस्या छ ?
पशुपतिनगरमा राम्रोसँग विकास हुँदैछ । भारतसँगको सिमाना हो । पारीपट्टी गोरखाल्याण्ड आन्दोलन चलिरहेको छ । त्यसले गर्दा सुरक्षा लगायतका समस्या छन् । तर पशुपतिनगरमा धेरै विकास भएको छ ।

अबको निर्वाचनपछि वाम गठबन्धनले के गर्छ ?
चुनावपछि बाम गठबन्धनले सरकार गठन गर्छ । त्यसपछि देश विकासका लागि सबै काम सफलतापूर्वक गछौँ । हामीले सरकार गठन गरेपछि इलाममा मात्रै होइन, देशका ७७ जिल्ला वटै जिल्लामा विकास गछौँ । नयाँ लहर सृजना हुन्छ देशमा । मनमोहन अधिकारी प्रधानमन्त्री हुँदा सानो लहर उठेको थियो । अब त्योभन्दा ठूलो लहर अब सृजना हुन्छ ।

तपाईहरुको घोषणापत्रमा कांग्रेसलगायतकका दलहरुलाई विभिन्न आरोप लगाइएको छ । किन यसरी गाली गरिएको हो ?
वाम गठबन्धनको घोषणापत्र नेपाल नव निर्माणका घोषणापत्र हो । देशलाई पुनः संरचना गरेर लैजाने घोषणा हो ।

विकास निर्माणका जति पनि योजना घोषणापत्रमा समावेश गरिएको छ, त्यो कति सम्भव छ ?
घोषणापत्र एकदम राम्रो छ । नेपाली जनताको आयस्तर कसरी बढाउने, जलविद्युत उत्पादनलाई कसरी बढाउने भन्ने लगायतको कुरा तथ्याङ्क अनुसार समावेश गरेका छौँ । नेपालको राष्ट्रियता र लोकतान्त्रिकलाई सुदृढ गर्ने हाम्रो लक्ष्य हो । नेपालका साधन स्रोतको प्रयोग गरेर पर्यटकीय थलोको रुपमा विश्वकै गन्तव्यको रुपमा नेपाललाई चिनाउने हाम्रो लक्ष्य हो । वाम गठबन्धनले सम्भव बनाएरै छाड्छौँ ।

वामगठन्धनमा चुनाव जितिसकेपछि को प्रधानमन्त्री बन्ने भन्ने विवाद हुने होला ? विकासका काम कसरी गर्नुहुन्छ ?
हामी निरन्तर बहस गरेर वादेवादे जायते तत्ववोध भनेर अगाडि बढिरहेका छौँ । हामीसँग विवाद छ भन्न कुनै आपत्ति छैन । तर हामी छलफल गरेर एउटा निष्कर्षमा पुग्न सक्छौँ । हामी सामुहिक नेतृत्वमा विश्वास गर्छ । हामीले चुनाव जितेर आएपछि मिलेर काम गछौँ । प्रधानमन्त्री बन्ने योग्यता भएका मान्छे पनि एक दर्जन छन् । सहमतिका आधारमा प्रधानमन्त्री, राष्ट्रपति र सभामुख बनाउँछौँ । अनेक बनाउँछौँ । तर अहिले नै घोषणा गरेर जानुपर्छ भन्ने कांग्रेसको शैली वाम गठबन्धनमा छैन ।

चुनावपछि केपी ओली प्रधानमन्त्री बन्ने सम्भावना कत्तिको छ ?
अहिले हामीले केही पनि निर्णय गरेका छैनौँ । पहिला हामी निर्वाचन सम्पन्न गछौँ । जुन प्रकारको संसदमा संरचना आउँछ, सोही अनुसार हामी सरकार बनाउँछौँ । तर वाम गठबन्धनको अत्याधिक बहुमत आउँछ । यसमा कुनै शंका छैन ।

प्रधानमन्त्री शेरबहादुर देउवाले त वाम गठबन्धनले सरकार बनायो भने रुन पनि पाइदैन भन्नुभएको छ नि ?
ठीक छ, उहाँ नरोईकन बस्नुहोला बुढानिलकण्ठतिर । तर तपाईलाई अब रिपोर्टर्स क्लब कसरी चलाउने भन्नेबारेमा सोच्नुस् । वामपन्थी सरकार भएपछि हामी मद्दत गरौँला नि । तर कम्युनिष्ट सरकार आउँदैन । कम्युनिजम आउनका लागि धेरै लामो समय लाग्छ । दशकौँ होइन, धेरै वर्ष लाग्छ । अहिले कसैले पनि कम्युनिजम आउला भनेर डराउनुपदैन । वास्तवमा मानव जाती २० लाख वर्षसम्म कम्युनिजममा थियो । विस्तारै समाजवादतर्फ जाँदैछौँ । नबुझ्नेहरुले जे पनि भन्छन् । अब हामी विस्तारै बुझाउँदै जान्छौँ । अहिले हामी समाजवादतर्फ जाने हो । साम्यवाद होइन ।

साम्यवाद नै ल्याउन खोज्दैहुनुहुन्छ भन्ने आशंका छ नि ?
त्यो लक्ष्य त छदैछ नि । नबुझ्नेहरुले अनेकप्रकारले विकृत रुपमा प्रस्तुत गर्छन्, त्यो बेग्लै कुरा हो । हामी विस्तारै बुझाउँदै जान्छौँ, समाजवाद भनेको के हो ? साम्यवाद भनेको के हो, त्यो नबुझ्नेहरुले तथानाम प्रचार गर्नु बेग्लै कुरा हो । नेपाललाई कम्बोडिया जस्तो बनाउँछन् भनेर भन्नु तल्लो स्तरको सोच हो । नेपालको वामपन्थी शक्ति जन्मदै लोकतन्त्रका निम्ती जन्मिएको हो । देशभक्ति, शान्ती, समाजवाद, जनजिवीका र राष्ट्रियताका लागि जन्मिएको हो ।



प्रतिक्रिया दिनुहोस्