Logo

एक्ली महिला उम्मेदवार भन्नुहुन्छ– ‘समानुपातिकबाट सिट सुरक्षित हुँदा–हुँदै प्रत्यक्षमा भिडन आएँ’



–प्रकाश धौलाकोटी :तेह्रथुम, २१ कात्तिक (रासस) : दोस्रो चरणमा मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मनोनयन दर्तापछि तेह्रथुममा पनि चुनावी माहोल बढेको छ ।

यहाँबाट प्रतिनिधिसभाका लागि ठूला तथा साना गरी ११ राजनीतिक दलका उम्मेदवारले मनोनयन दर्ता गरेकामा एक्ली महिला उम्मेदवार हुनुहुन्छ, भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री सीता गुरुङ ।

यसअघि दुईवटै संविधानसभाको निर्वाचनमा समानुपातिकबाट सभासद् बन्नुभएकी राज्यमन्त्री गुरुङले प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फ नेपाली काँग्रेसबाट उम्मेदवारी दिनुभएको हो । काँग्रेस केन्द्रीय सदस्यसमेत रहनुभएकी उहाँलाई पार्टीको जिल्ला कार्यसमितिले प्रतिनिधिसभामा सर्वसम्मत उम्मेदवार बनाउने निर्णय गरेको थियो ।

जिल्लामा दलहरूले प्रतिनिधिसभामा प्रत्यक्षतर्फ महिलालाई अगाडि सारेका छैनन् । अधिकांश दलका जिल्लास्थित कार्यसमितिले गरेको सिफारिसमा प्रत्यक्षतर्फ महिलाको नाम छैन । नेकपा (एमाले)ले पूर्वसभासद् विष्णुमाया विकको नाम प्रत्यक्षतर्फ सिफारिस गरेर पठाए पनि माथिल्लो निकायले टिकटका लागि योग्य ठानेन । जिल्लामा राजनीतिमा पूर्णकालीन भएर लागेका महिलाको समेत प्रत्यक्षतर्फ खासै चर्चा भएन ।

देशैभरिको तथ्यांक हेर्दा पनि दलहरूले प्रत्यक्षतर्फ महिलालाई कमैमात्र उम्मेदवार बनाएका छन् । जिल्लामा योग्य र क्षमतावान महिला हुँदाहुँदै पनि पुरुषवादी चिन्तनका कारण महिलामाथि दमन गरेर टिकट नदिने गरिएको आरोप लगाउनुहुन्छ राज्यमन्त्री गुरुङ । “समानुपातिकतर्फ ५० प्रतिशत महिला सिट सुरक्षित नगरिएको भए संसद्मा महिलाको सहभागिता शून्यजस्तै हुन्थ्यो” उहाँ भन्नुहुन्छ ।

जिल्लामा लोकप्रिय महिला नेत्रीको रूपमा परिचित गुरुङ नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिमा समेत राम्रो प्रभाव राख्ने महिला युवा नेत्री हुनुहुन्छ । उहाँ भन्नुहुन्छ “जिल्लाबाट प्रत्यक्षतर्फ सर्वसम्मत सिफारिस भएपछि पनि मलाई केन्द्रीय समितिले महिला कोटाबाट समानुपातिकमा सिट सुरक्षित गर्न भनेकै हो ।”

नेत्री गुरुङ जोड दिनुहुन्छ, “तर मैले कमसेकम म पछाडिको पुस्तालाई महिला र युवाले पनि गर्न सक्छन् भन्ने सोचको विकास गराउन प्रत्यक्षतर्फको टिकट लिएरै छाडे ।” म महिला हुँ तर मैले सधैँ महिलामात्रै भएर बस्नुहुँदैन, अझै पनि कतिपय महिलाको दैनिकी राज्यको पहँुचभन्दा टाढा चुलो चौका सम्हालेर र घुम्टो ओढेरै बितिरहेको छ । मैले आत्मनिर्भर र क्षमतावान् महिलासहितको समाजको कल्पना गर्न सक्नुपर्छ, उहाँ भन्नुहुन्छ ।
काँग्रेसमा विद्यार्थी राजनीति देखिनै क्रियाशील गुरुङ नेपाल महिला संघ, तेह्रथुमको अध्यक्ष हुँदै केन्द्रीय सचिव, पार्टीको महासमिति सदस्य र केन्द्रीय सदस्य हुनुभएको हो ।
जिल्लाबाट नेपाली काँग्रेसको राजनीतिमा ०१५ सालपछि केन्द्रीय समितिमा राम्रो पहुँच राख्ने तथा राज्यमन्त्री हुने पहिलो नेत्री गुरुङ हुनुहुन्छ । जिल्लाकै लोकप्रिय महिला नेत्री भएकैले पनि काँग्रेसबाट उहाँको उम्मेदवारी बलियो छ । उहाँको विरुद्धमा वाम गठबन्धनबाट निवर्तमान सांसद भवानीप्रसाद खापुङसहित अन्य १० पुरुष उम्मेदवार छन् ।

वाम गठबन्धनका उम्मेदवार नेता खापुङ एमालेबाट तेस्रो पटक उम्मेदवार बन्नुभएको हो । विसं ०६४ को चुनावमा काँग्रेसका तुलसी सुब्बासँग पराजित उहाँ ०७० मा सुब्बालाई नै पराजित गर्दै सभासद् हुनुभयो । अहिले भने गुरुङ र खापुङबीच प्रतिष्पर्धा हुने देखिएको छ । गुरुङले महिला र युवाका मुद्दालाई जोडतोडले उठाउनुभएको छ । खापुङ पनि वाम गठबन्धनबाट स्थायी सरकारको नारा लिएर अघि बढ्नुभएको छ ।

प्रतिनिधिसभा सदस्यका लागि संघीय समाजवादी फोरम नेपालका तुलसीप्रसाद अधिकारी, नेकपा मालेका डिल्लीबहादुर बुढाथोकी, राप्रपा प्रजातान्त्रिकका गौरीप्रसाद कन्दङवा, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका शंकरमान लिम्बू, मंगोल नेशनल अर्गनाइजेशनका गंगाप्रसाद चोङवाङ, राष्ट्रिय जनमोर्चा पार्टीका हरिलाल अधिकारी, देशभक्त जनगणतान्त्रिक मोर्चाका कालीबहादुर फुदोङ, नयाँशक्ति पार्टी नेपालका टंकबहादुर भट्टराई र राष्ट्रिय जनमुक्ति पार्टीका सागरनाथ रेग्मीको उम्मेदवारी परेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot