Logo

पत्रकार ऋषि धमलालाई मधेशमा भव्य स्वागत



काठमाडौं, २१ कार्तिक । रिपोर्टर्स क्लब नेपालका सभापति ऋषि धमलालाई मधेशमा भव्य स्वागत भएको छ । पत्रकार धमला आज मात्रै चुनावी अभियान लिएर मधेश झरेका हुन् । उनलाई बाराको सिमारा विमानस्थलमा पत्रकारहरुले नै स्वागत गरेका थिए ।

आगामी मंसिर १० र २१ गते हुने प्रदेश र प्रतिनिधि सभाको निर्वाचनलाई सफल रुपमा सम्पन्न गर्नको लागि रिपोर्टर्स क्लब नेपालले देशब्यापी रुपमा चुनावी अभियान सुरु गरेको छ। क्लबले काठमाडौंका विभिन्न क्षेत्रका उम्मेद्धवारहरुलाई एकै ठाउँमा राखेर बहस समेत सुरु गरिसकेको छ । क्लबले सुरुमा काठमाडौं क्षेत्र नम्बर ३ का उम्मेद्धवारहरुसँग चुनावी साक्षात्कार गरेको थियो । त्यस्तै काठमाडौं क्षेत्र नम्बर २ का उम्मेद्धवार एवम् पूर्वप्रधानमन्त्री माधव कुमार नेपालसँग समेत साक्षात्कार गरिसकेको छ ।

क्लबका सभापति धमला यो पटकको निर्वाचनलाई आम जनताले ऐतिहाँसिक अवसरको रुपमा लिनुपर्ने भन्दै चुनावलाई स्वच्छ, धाँधलीरहित र स्वतन्त्र रुपमा सम्पन्न गर्नको लागि क्लबले देशभरि नै चुनावी साक्षात्कार चलाउने उद्धघोष गरिसकेका छन् । यसअघि प्रदेश नम्बर २ मा सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा समेत पत्रकार धमलाले चुनावी बहस गरेका थिए । मधेशमा धमलाको चुलिँदो क्रेज छ ।

हुन त यो निर्वाचनमा धमला रौतहट वा सर्लाहीमध्ये एकबाट चुनाव उठ्ने समेत चर्चा थियो । तर, अन्तिममा आएर धमलाले आफू साझा उम्मेद्धवार भएमात्रै चुनाव उठ्ने भएकोले त्यो वातावरण नबनेकोले आफू चुनाव उठेको बताउँदै आएका छन् ।

धमला आज मधेश पुग्दा उनलाई किन उम्मेद्धवार नबनेको भनेर प्रश्न सोध्नेहरुको ठूलो भीड थियो । धमलासँगै रहेका क्लबका रौतहट शाखा अध्यक्ष अभिमन्यु पटेलका अनुसार धमलालाई चुनाव नउठेर गल्ती गरेको भन्नेहरु धेरै संख्यामा रहेका थिए ।

 



प्रतिक्रिया दिनुहोस्