Logo

इयु निर्वाचन पर्यवेक्षण टोली सक्रिय



काठमाडौँ, २१ कात्तिक : आसन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि युरोपेली संघको निर्वाचन पर्यवेक्षण टोली आजदेखि परिचालित भएको छ ।

आज यहाँ आयोजित पत्रकार सम्मेलनमा युरोपेली संसद्मा क्रोएसियाको प्रतिनिधित्व गर्नुहुने सांसद तथा प्रमुख निर्वाचन पर्यवेक्षक जेल्याना जेभ्कोले आज यो टोली परिचालनको घोषणा गर्नुभएको हो ।

कार्यक्रममा प्रमुख पर्यवेक्षक जोभ्कोले आगामी मंसिर १० र २१ गते हुने निर्वाचन नेपालको लोकतान्त्रिक विकासको एउटा महत्वपूर्ण चरणका रुपमा रहेको बताउँदै आफ्नो उपस्थितिले समावेशी र पारदर्शी निर्वाचन प्रक्रियामा योगदान गर्ने अपेक्षा गर्नुभयो ।

उहाँले निर्वाचन प्रक्रियाका सम्पूर्ण पक्षको पर्यवेक्षणका साथै नेपालको कानून र नेपाल हस्ताक्षरकर्ता रहेका लोकतान्त्रिक निर्वाचनसम्बन्धी अन्तरराष्ट्रिय तथा क्षेत्रीय प्रतिबद्धतालाई निर्वाचनले कति परिचालन गरेको छ भनेर मूल्याँकन गर्नु आफूहरुको कार्यादेश रहेको जानकारी गराउनुभयो ।

निर्वाचन पर्यवेक्षणका बारेमा जानकारी गराउँदै प्रमुख पर्यवेक्षक जोभ्कोले भन्नुभयो, “पर्यवेक्षक सबै प्रदेशमा पुग्नेछन् । साथै निर्वाचन अधिकारी, उम्मेदवार र नागरिक समाजका प्रतिनिधिसँग भेट गर्नेछन् र उहाँहरुले काठमाडौँस्थित मुख्य टोलीलाई पर्यवेक्षण प्रतिवेदन पेश गर्नेछन् ।”

दुवै चरणका निर्वाचनमा १०० भन्दा बढी पर्यवेक्षक रहने बताइएको छ । उहाँले नेपालको निर्वाचनमा खटिने पर्यवेक्षक अन्तरराष्ट्रिय निर्वाचन पर्यवेक्षकको आचारसंहितामा बाँधिने भएकाले पर्यवेक्षण तटस्थ र निष्पक्ष हुने विश्वास दिलाउनुभयो ।

टोलीमा युरोपेली संसद् सदस्य एवं काठमाडौँस्थित युरोपेली दूतावासका कूटनीतिक कर्मचारीको समेत संलग्नता रहने छ । निर्वाचनको दोस्रो तथा अन्तिम चरणको समाप्तिको लगत्तै मिसनले प्रारम्भिक निष्कर्षसहितको वक्तव्य जारी गर्ने र निर्वाचन प्रक्रिया समाप्त नभएसम्म मिसन नेपालमा रहनेछ ।(रासस)



प्रतिक्रिया दिनुहोस्