Logo

रामहरी खतिवडाले प्रतिस्पर्धी यज्ञराज सुनुवारलाई भने, “बरा बिचरा ! आफ्नो चुनाव चिन्हमा भोट नै हाल्न पाउनुहुन्न, कसरी जित्नुहुन्छ ?”



कात्तिक २२, काठमाण्डौ । ओखलढुङ्गाको चुनावी प्रतिस्पर्धा निकै रोचक हुने अनुमान गरिएको छ । कांग्रेसका उम्मेदवार रामहरी खतिवडा र वाम गठबन्धनका उम्मेदवार यज्ञराज सुनुवार दुवै रुचाइएका नेता मानिन्छन् ।
विद्यार्थी राजनीतिबाट मुलधारको राजनीतिमा प्रवेश गरेका यज्ञराज सुनुवार र सन्त नेता कृष्णप्रसाद भट्टराई र स्वर्गीय बलबहादुरको सानिध्यबाट राजनीतिमा प्रवेश गरेका रामहरि खतिवडाबीचको प्रतिश्पर्धाले ओखलढुंगाको चुनावी प्रतिश्पर्धा रोचक हुने भएको छ ।

कांग्रेसको गढका रुपमा परिचित ओखलढुंगामा २०६४ सालको संविधानसभा निर्वाचनपछि कांग्रेसको गढ भत्किएको थियो । ०६४ सालको संविधानसभा निर्वाचनमा दुई निर्वाचन क्षेत्र रहेको ओखलढुंगामा दुवै क्षेत्रमा माओवादीले जित हात पारेको थियो ।
दुवै उम्मेदवारले आफूले जित्ने दाबी गरेका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रममा कुरा गर्दै कांग्रेसका उम्मेदवार खतिवडाले जनताले मन पराएको उम्मेदवार आफू भएकाले जित सुनिश्चित भएको दाबी गरेका छन् ।

“जनताको प्रिय नेता मै हुँ, मैले बाजी मार्छु ।” खतिवडाले भने ।
तर वाम गठबन्धनका उम्मेदवार सुनुवारले विगतमा पनि एमालेले भारी मत अन्तरले जित्दै आएकाले यसपटक पनि आफूले नै जित्ने दाबी गरे । “अर्कोपटक रुख चिन्ह लिएर कोही पनि चुनाव उठ्न नसक्ने गरी वाम गठबन्धनका उम्मेदवार यज्ञराज सुनुवारले जित्ने कुरालाई कसैले रोकेर रोकिदैन ।” सुनुवारको दाबी छ ।
सुनुवारको दाबीप्रति कटाक्ष गर्दै खतिवडाले भने, “बरा बिचरा आफ्नो चुनाव चिन्हमा सुनुवारले भोट नै हाल्न पाउनुहुन्न । सूर्य चिन्ह नै छैन । आफ्नो चुनाव चिन्ह नै नभएका साथीहरुले अरुलाई नै भोट मागेर हिँडिरहनुभएको छ ।”
आफ्नो पार्टीलाई भोट माग्न नसक्नेले जित्छु भनेर कल्पना गर्नु हास्यास्पद भएको खतिवडाको भनाई छ ।

यता सुनुवारले भने चुनाव चिन्ह नै नभएको भन्ने खतिवडाको कटाक्षलाई पराजित मानसिकताको उपज भएको बताए । “वाम गठबन्धनको देशैभरी लहर आइरहेको छ । यसबाट रामहरीजि अत्तालिनुभएको छ ।” सुनुवारले भने ।
कसलाई जिताउनुपर्छ भन्ने कुरामा जनता सचेत भएको सुनुवारको तर्क छ ।

रामहरीले भने आफू कसैको विरुद्धमा उम्मेदवार बनेको नभै ओखलढुङ्गाका जनताको पक्षमा उम्मेदवार बनेकाले जित सुनिश्चत भएको दाबी गरेका छन् ।
प्रदेश नम्बर एक अन्तर्गत पर्ने ओखलढुंगामा रहेको एउटा मात्रै निर्वाचन क्षेत्रमा अघिल्लो संविधानसभा सदस्य निर्वाचनमा दुई निर्वाचन क्षेत्रबाट चुनाव जितेका सुनुवार र खतिवडाबीच भीडन्त हुँदैछ ।

अघिल्लो संविधानसभा निर्वाचनमा भारी मतले जितेका दुवै निर्वतमान सांसदबीचको प्रतिश्पर्धाले सबैको साचो बढाएको छ। दुवै उम्मेद्वार जिल्लामा निकै लोकप्रिय मानिन्छन् ।

एक नगरपालिकासहित आठ स्थानीय तह रहेको जिल्लामा स्थानीय तह निर्वाचनमा कांग्रेस चार स्थानीय तह जित्दै पहिलो दल बनेको थियो। कांग्रेसले जिल्ला समन्वय समितिमा पूर्ण बहुमत हासिल गरेको थियो ।

स्थानीय तहको चुनावका आधारमा जिल्लामा कांग्रेसको २६ हजार १३६ मत छ । त्यस्तै एमालेको २३ हजार ८३५ मत छ । माओवादीले ९ हजार ६८६ मत स्थानीय चुनावमा पाएको छ । एमाले र माओवादीको मत जोड्दा ३३ हजार ५३१ हुन्छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot