Logo

एमाले–माओवादी वाम गठबन्धनले मधेशमा एक सिटपनि चुनाव जित्दैन् : मन्त्री यादव



जनकपुर, २२ कार्तिक । खानेपानी तथा सरसफाईमन्त्री महेन्द्र यादवले अबको निर्वाचनमा एमाले–माओवादी केन्द्रको वाम गठबन्धनले २ नम्बर प्रदेशमा एक सिट पनि जित्न नसक्ने दाबी गरेका छन् ।

बुधबार रिपोर्टर्स क्लब नेपालले धनुषाको जनकपुरमा आयोजना गरेको चुनावी अन्तरक्रियालाई सम्बोधन गर्दै मन्त्री यादवले वाम गठबन्धनले सिँगो मधेशमा एक सिटपनि चुनाव जित्न नसक्ने ठोकुवा गरेका हुन्। उनले भने,‘तपाई लेखेर राख्नुहोस्, वाम गठबन्धनले धनुषा त परै जाओस्, २ नम्बर प्रदेशमा एक सिटपनि चुनाव जित्दैन्, किनकी उनीहरु मधेश विरोधी पार्टी हुन्, मधेशी जनताले उनीहरुलाई भोट नै हाल्दैनन्।’

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै धनुषा ४ नम्बर क्षेत्रका उम्मेद्धवार समेत रहेका मन्त्री यादवले आफ्नो क्षेत्र डेमोक्रेटिक क्षेत्र भएकोले जित्न सहज रहेको स्पष्ट पारे ।

उनले भने,‘यहाँका जनताले फेरी रुखमा नै भोट हाल्छन् । जित्ने आधारहरु प्रशस्तै छन्, अरु उम्मेद्धवारहरु चुनाव मात्रै लडेका हुन् । एमाले उम्मेद्धवार मधेशी विरोधी हुन् । उनले र उनको सिँगो पार्टी नेतृत्वपंक्तीले मधेश र मधेशी जनतालाई गाली गरेका छन् । धुनषा जिल्लामा वाम गठबन्धनले एक सिटपनि जित्दैन । यहाँमात्रै होईन, सिँगो मधेशमा वाम गठबन्धनले कतैपनि चुनाव जित्दैन् ।’

यादवले मधेशको हकहित र विकासको लागि कांग्रेस नेता विमलेन्द्र निधिले जति काम कसैले पनि नगरेको जिकिर गरे । उनले थपे,‘हाम्रै नेता निधिजीकै आग्रहमा मधेशमा स्थानीय तहको निर्वाचनमा दोस्रो चरणमा निर्वाचन भयो, मधेशी जनताको अधिकार संविधान संशोधनमार्फत स्थापित् गराउन उहाँलेजति भूमिका र अथक प्रयास कसैले गरेको छैन, पूर्व–पश्चिम रेलवे, शिक्षा, सडक यी सबै कामहरु निधिकै योगदान भएकोले उहाँजति कसैले पनि काम गरेको छैन । मधेशी जनताले निधिलाई जिताउँछन् ।’

तर निधिका प्रतिद्धन्द्धी राजेन्द्र महतोले त निधिलाई आफूले हराउने दाबी गरेका छन् नि भनेर सोधेको एक प्रश्नमा यादवले आक्रोश पोख्दै भने,‘राजेन्द्र महतो त्यति बलवान भैदिएको भए, उनी सर्लाहीबाट चुनाव लड्थे होला नि । उनलाई सर्लाहीका जनताले त्यहाँबाट भगाईदिएका छन्, परदेशीलाई जनकपुरवासीले रुचाउँदैनन् । महतो टुरिष्ट उम्मेद्धवार हुन् । उनलाई निधिले मज्जाले हराउँछन्।’

यादवले एमाले–माओवादी केन्द्रवीच बनेको गठबन्धनले नेपालमा साम्यवाद लाद्न खोजिरहेको समेत आरोप लगाए । उनले थपे,‘हाम्रो देशमा साम्यवाद आयो भने चीनजस्तै व्यवस्था लागु हुन्छ, चुनावपनि हुँदैन, तर जनताले अब हाम्रो पार्टी नेपाली कांग्रेसलाई जो आवधिक निर्वाचनको पक्षमा छ, संघीयताको लागि विकास र समृद्धिको लागि नेपाली जनताले कांग्रेसको पक्षमा मतदान गर्नेछन् ।’

उनले आफूले आरामजनक रुपमा चुनाव जित्ने समेत ठोकुवा गरे । उनले भने,‘मैले चुनाव जित्छु भन्ने कुरा स्वयम अन्य पार्टीका उम्मेद्धवारहरुलाई पनि थाहा छ, एमाले उम्मेद्धवार सिचाई मन्त्रालयको कर्मचारी हुन, उनी राजनीति गरेर आएका व्यक्ति होईनन् । म मात्रै यस्तो उम्मेद्धवार हुँ, जसले जेलनेल भोगेको छ । हामो क्षेत्रमा विकास निर्माणका काम मैले जति अरु कसैले गरेको छैन् । यो क्षेत्रमा मैले पुल, भारतीय दुतावासको सहयोगमा, विद्यालय भवन निर्माण र नयाँ स्कुलको स्थापना लगायत धेरै कामहरु गरेको छु।’

कांग्रेसले नै ४ नम्बर क्षेत्रको विकास गरेको उनको भनाई थियो । यादवले थपे,‘म जनताको बीचमा काम गरेको व्यक्ति हुँ, म पपुलर छु । अरु उम्मेद्धवार भनेको सामन्ती छन् । उनीहरु चुनावको लागि मात्रै भोट माँग्न आएका छन् । उनीहरुलाई यहाँका जनताले सबक सिकाउनेछन् ।’

पत्रकार धमलाले चुनाव जित्ने आधारहरु के–के छन् भनेर सोधेको अर्को प्रश्नमा यादवले उक्त क्षेत्रमा ०४८ सालमा ०५६मा र ०६४ मा कांग्रेसबाट डा. रामबरण यादवले चुनाव जितेको बताउँदै यो क्षेत्र डेमोक्रेटको पकड भएको क्षेत्र भएकोले आफ्नो जितको पहिलो आधार नै यही भएको जिकिर गरे ।

त्यस्तै उनले मुलुक अहिले निर्वाचनमय भएको उल्लेख गर्दै यो निर्वाचनमा कांग्रेसले अत्यधिक बहुमत ल्याउने समेत दाबी गरे । उनले भने,‘हाम्रो पार्टी सभापति एवम् मुलुकको प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा निर्वाचन हुँदैछ, कांग्रेसले अत्यधिक बहमुतले चुनाव जित्दैछ । त्यसैले अबको सरकार पनि देउवाकै नेतृत्वमा बन्छ । तर देउवाले मौका दिनुभयो भने अरु पनि प्रधानमन्त्री बन्नुहुन्छ ।’



प्रतिक्रिया दिनुहोस्