Logo

देशभक्त जनगणतान्त्रिकको घोषणापत्र सार्वजनिक (फोटोफिचर)



संविधान खारेज र जनगणतन्त्र स्थापना मुख्य मुद्दा
काठमाडौं, २२ कात्तिक । देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालले आगामी मंसिरमा हुने प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बुधबार घोषणापत्र सार्वजनिक गरेको छ ।

घोषणापत्रमा वर्तमान संविधान खारेज र जनगणतन्त्र स्थापनालाई मुख्य मुद्दा बनाइएको छ । वर्तमान शासकीय व्यवस्थाले जनयुद्ध र जनआन्दोलनप्रति धोका दिएको भन्दै उनीहरुले संविधानले आन्दोलन र जनताका माग सम्बोधन गर्न नसकेको, प्रगतिशील नभएको भन्दै खारेजीको माग गरेका छन् ।

१६ पृष्ठ लामो घोषणापत्रमा वर्तमान राज्यसत्ता, संसदीय व्यवस्था, वाम गठबन्धनको भन्डाफोर र नयाँजनवादी क्रान्तिका लागि जनाधार तयार गर्न आगामी निर्वाचनलाई उपयोग गर्ने रणनीति लिइएको छ ।

राजधानीमा भएको घोषणापत्र सार्वजनिक कार्यक्रममा मोर्चाका संयोजक सीपी गजुरेलले वर्तमान संविधान खारेज र जनगणतन्त्र स्थापनाका लागि चुनावलाई उपयोग गर्ने रणनीति लिइएको बताए ।

घोषणापत्रमा बहुदलीय र बहुलवादी नभइ वाम र दक्षिणपन्थी दुईदलीय ‘सिन्डिकेट’ लागू गर्न र अरु दललाई चुनावमा आउन नदिन ‘थ्रेसहोल्ड’को व्यवस्था गरिएको भन्दै आपत्ति जनाइएको छ ।

नेपालका प्राकृतिक सम्पदालाई विदेशी हस्तक्षेपबाट मुक्त नगरेसम्म मुलुकको विकास नहुने ठहर पनि गरिएको छ । मोहन वैद्यको नेकपा क्रान्तिकारी माओवादी नेतृत्वमा रहेको मोर्चाले २०७० सालको संविधानसभा र स्थानीय तह निर्वाचन बहिस्कार गरेपनि आगामी निर्वाचनमा भाग लिने निर्णय गरेको थियो ।

मोर्चाले आगामी निर्वाचनका लागि प्रतिनिधिसभा प्रत्यक्षतर्फ ९२, समानुपातिकतर्फ ११० र प्रदेशसभा समानुपातिकतर्फ २०१ जना उम्मेदवार मैदानमा उतारेको छ । तस्विर : मुकुन्द कालिकोटे



प्रतिक्रिया दिनुहोस्