Logo

देउवाका प्रतिस्पर्धी भट्टले भने “प्रधानमन्त्री त के बास्साहरु पनि ढल्छन्, कांग्रेस नेता भन्छन्”, “देउवा १० हजार मत अन्तरले विजयी हुन्छन्”



कात्तिक २३, काठमाण्डौ । एउटा मात्रै निर्वाचन क्षेत्र रहेको सुदूरपश्चिमको डडेलधुरा जिल्लामा प्रधानमन्त्री तथा कांग्रेसका सभापति शेरबहादुर देउवा प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनेका छन् । त्यसैले पनि यस क्षेत्रको चुनावी माहौल अन्तभन्दा पृथक छ । देउवाको प्रतिस्पर्धीका रुपमा वाम गठबन्धनबाट खगराज भट्ट मैदानमा उत्रिएका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा कांग्रेसका प्रदेशसभा खका उम्मेदवार कर्ण मल्ल र गठबन्धनका उम्मेदवार भट्टसँग कुराकानी गरिएको छ ।

गठबन्धनका उम्मेदवार भट्टले आफू यसअघि पनि २ पटक शेरबहादुर देउवाको विरुद्धमा उभिएको पात्र भएको स्मरण गराउँदै यसपटक आफुले चुनाव जित्ने दाबी गरेका छन् । विगतको चुनावमा माओवादीको मत धेरै बदर भएकाले जित्न नसकेपनि यसपटक आफुले जित हात पार्ने दाबी भट्टले गरेका छन् ।
“असम्भव हुने कुरा राजनीतिमा केही पनि हुँदैन । जनताले परिवर्तन चाहेका छन् । परिवर्तन चाहने जनताका अगाडि प्रधानमन्त्री त के बास्साहरु पनि ढल्छन् ।” भट्टले भने । देउवाले डडेलधुरामा कहिल्यै पनि विकास निर्माणका काम नगरेको आरोप भट्टले लगाएका छन् ।

यता कांग्रेसका प्रेदशसभा उम्मेदवार कर्ण मल्लले भने देउवाले विकास निर्माण गरे नगरेको कुरा भट्टलाई भन्दा बढि जनतालाई थाहा भएको टिप्पणी गरे । ४६ सालको परिवर्तन पश्चात डडेलधुराका जनताले देउवालाई ५ पटक जिताएको स्मरण गराउँदै मल्लले सडक, विजुली, स्वस्थ्य, शिक्षा, रोजगारी र दूरसंचारको क्षेत्रमा देउवाले धेरै विकास गरेको दाबी गरे ।

जिल्लामा बनेको सडक संजालहरु सबै देउवाको पहलमा बनेको भन्दै मल्लले जिल्लाका ग्रामिण भेगका सडक पिच भइसकेको उदाहरण दिए । “डडेलधुराको भूगोल परिवर्तन र जनतालाई सुख सुविधा दिनका लागि शेरबहादुर देउवा र नेपाली कांग्रेसको कति योगदान छ भन्ने कुराको बहस गरौँ, यदी भट्टले भनेजस्तै हामी कमजोर रहेछाँै भने चुनावी मैदानबाट पछाडि हट्न तयार छौँ ।” मल्लले चुनौति दिए ।
देउवाले भट्टलाई कम्तिमा १० हजार मत अन्तरले पराजित गर्ने दाबी मल्लले गरेका छन् ।

पूरा अन्तरवार्ता सुन्नका लागि यो भिडियो हेर्नुहोस् :



प्रतिक्रिया दिनुहोस्