काठमाडौं, २३ कात्तिक । युएई विरुद्ध अर्को महिना हुने आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपका अन्तिम दुई खेलका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण आजबाट सुरु हुँदैछ ।
यसका लागि बुधबार नेपाली टोलीको प्रारम्भिक छनोट गरिएको छ । नेपाली टोलीका मुख्य प्रशिक्षक जगत टमाटा, कप्तान पारस खड्का र आइसीसीका प्रतिनिधि अनिमुल इस्लामको तीन सदस्यीय छनोट समितिले २८ खेलाडीलाई प्रशिक्षणमा डाकेको हो ।
२८ मध्ये २६ खेलाडीको नाम सार्वजनिक गरिएको छ । मलेसियामा आजबाट सुरु हुने एसीसी यूथ नाईन्टिन एसिया कपमा उत्कृष्ट प्रदर्शन गर्ने २ खेलाडीलाई पनि प्रशिक्षणमा समावेश गरिनेछ ।
विश्व क्रिकेट लिग च्याम्पियनसिपबाट डिभिजन २ मा घटुवा भइसकेको नेपाल र युएइबीच मंसिर २० र २२ गते अबुधावीको शेख जायेद मैदानमा खेल हुनेछ ।