Logo

पर्यटन र जलविद्युत्मा प्रचुर सम्भावना भएको जिल्ला लमजुङका उम्मेदवारको एजेण्डा यस्ता छन्



कात्तिक २४, काठमाण्डौ । प्रदेश नम्बर ४ को लमजुङ जिल्लामा वाम गठबन्धनका तर्फबाट देव गुरुङ र नेपाली काग्रेसका तर्फबात दिलबहादुर घर्ती प्रतिनिधिसभा सदस्यका लागि चुनावी मैदानमा उत्रिएका छन् । दुवै उम्मेदवारसँग नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा कुरा गरिएको छ । कुराकानीका क्रममा दुवै उम्मेदवारले विकास निर्माणका एजेण्डा जनताको घरदैलोमा लैजाने र चुनाव जित्ने दाबी गरेका छन् ।

कांग्रेस उम्मेदवार दिलबहादुर घर्तीले विकास निर्माणसँग सम्बन्धित जनताको एजेण्डा लिएर घरदैलोमा जाने बताए । जिल्लामा अपेक्षाकृत रुपमा विकास हुन नसकेको बताएँदै घर्तीले सम्भावना बोकेको पर्यटन क्षेत्रको विकासलाई प्राथमिकतामा राखेर कृषि, रोजगारी, स्वास्थ्य, शिक्षा लगायतका क्षेत्रमा विकास गर्नुपर्ने औँल्याए । सडकका नाममा गोरेटो बने पनि पक्की सडक बन्न नसकेकाले त्यसतर्फ आफू केन्द्रित हुन घर्तीको भनाई छ ।

वाम गठबन्धनका उम्मेदवार देव गुरुङले पनि विकासका लागि पूर्वाधार निर्माणको जरुरी रहेको औँल्याउँदै त्यसतर्फ आफू केन्द्रित हुने बताए । मध्य पहाडी लोकमार्ग विस्तारका लागि आफू प्रतिबद्ध रहेको गुरुङले बताए । अन्य धेरै मार्गहरु निर्माण सम्पन्न गर्नुपर्ने भएकाले त्यसका लागि आफू काम गर्ने गुरुङको भनाई छ । विगतमा आधारभूत पूर्वाधार निर्माणसमेत हुन नसकेकाले त्यसलाई आफूले पूरा गर्ने उनले बताए ।

कृषि र पर्यटन क्षेत्रको विकास गर्दै जनताको जीवनस्तर उकास्ने योजना रहेको गुरुङले सुनाए । लमजुङमा पशुपालनलाई व्यवसायिकरण र आधुनिकीकरण गर्न सकिने सम्भावना भएकाले त्यसतर्फका कार्यक्रम आफूले ल्याउने दाबी गुरुङले गरे ।
कांग्रेसका उम्मेदवार घर्तीले लमजुङ जिल्ला जलस्रोतमा धनी भएकाले जलविद्युत उत्पादनलाई पनि प्राथमिकतामा राख्ने आफ्नो लक्ष्य रहेको बताए । विगतमा विभिन्न अवरोध आउँदा सोचे अनुसार काम गर्न नसकिएको बताउँदै घर्तीले जलविद्युत् र पर्यटन क्षेत्रको विकास नै अबको बाटो भएको बताए ।



प्रतिक्रिया दिनुहोस्