Logo

प्रमुख निर्वाचन आयुक्त यादवको सुझाव



काठमाडौँ, २४ कात्तिक : प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले निर्वाचन पर्यवेक्षकलाई स्वतन्त्र र स्वच्छ आँखाले मतदान अधिकृतलाई सहयोग पुग्ने ढंगबाट पर्यवेक्षण गर्न सुझाव दिनुभएको छ ।

निर्वाचन आयोगमा आज आयोजित प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको पर्यवेक्षणका लागि आयोगबाट अनुमति प्राप्त गरेका राष्ट्रिय संघ संस्थाका प्रमुख एवं प्रतिनिधिका लागि आयोजित अभिमुखीकरण शुभारम्भ गर्दै उहाँले पर्यवेक्षकलाई स्वतन्त्र, निष्पक्ष, तटस्थ, लगनका साथ सकारात्मक भावनाबाट पर्यवेक्षण गर्न आग्रह गर्नुभयो ।

प्रमुख निर्वाचन आयुक्त डा यादवले भन्नुभयो– “पर्यवेक्षका बारेमा कुनै सिकायत नआउने ढंगबाट आचारसंहिताको परिधिभित्र रहेर काम गर्नुहोला, निर्वाचन सफल भएमा मात्र नेपाली जनताको शान्ति, लोकतन्त्र र समृद्धिको चाहना पूरा हुनेछ, स्वच्छ र स्वतन्त्र निर्वाचनको वातावरण बनाउन पर्यवेक्षकबाट ठूलो भूमिका हुने आयोगले अपेक्षा गरेको छ ।”

निर्वाचन आयोगका सहसचिव दीपक सुवेदीले निर्वाचनको पर्यवेक्षण गर्न पाएको जिम्मेवारीलाई पूरा गर्नका लागि सहयोग र समन्वय, सुझबुझ र होसियारीपूर्वक काम गर्न सुझाव दिनुभयो ।

आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मुलुकका ५२ वटा संघ संस्थाका चार हजार ४०० भन्दा बढी व्यक्तिलाई निर्वाचन आयोगले अनुमति प्रदान गरेको छ भने अन्तर्राष्ट्रिय चारवटा संस्थाले पनि पर्यवेक्षणको अनुमति पाएको छ ।

कार्यक्रममा आगामी निर्वाचनको पर्यवेक्षणका लागि आयोगबाट अनुमति प्राप्त गरेका विभिन्न २७ संघ संस्थाका प्रमुख एवं प्रतिनिधिको सहभागिता थियो । समापनको अवसरमा आयोगका सचिव बेगेन्द्रराज शर्मा पौड्यालले निर्वाचन पर्यवेक्षकलाई जिम्मेवारीका साथ बिना पूर्वाग्रह स्वतन्त्र भूमिकामा रहेर पर्यवेक्षण गर्न सुझाव दिनुभयो ।

निर्वाचन पर्यवेक्षण कानून, पर्यवेक्षण गर्दा ध्यान पु¥याउनुपर्ने विषय, निर्वाचन सुरक्षाबारेमा समेत जानकारी दिइएको थियो । (रासस)



प्रतिक्रिया दिनुहोस्