Logo

सौराहा–लोथर सडकमा कालोपत्र शुरु



रत्ननगर, चितवन, २४ कात्तिक (रासस) : पूर्वी चितवनको पर्यटकीय क्षेत्र सौराहादेखि लोथरसम्मको सडकलाई चौडा पारेर कालोपत्रको काम थालिएको छ ।

दुवैतर्फ ढलसहित सडक निर्माणको कार्य अहिले धमाधम भइरहेको डिभिजन सडक कार्यालय चितवनले जानकारी दिएको छ ।

बहुवर्षे ठेक्काअन्तर्गत काम भइरहेको र कार्यालयकै निगरानीमा कालोपत्र गर्ने काम थालिएको डिभिजन सडक कार्यालय भरतपुरका सूचना अधिकारी वसन्तकुमार गाईंले जानकारी दिनुभयो ।

यही क्षेत्रका सांसद् सुरेन्द्र पाण्डेको पहलमा आएको उक्त योजनाअन्तर्गत पहिलो चरणमा नौ किलोमिटर सडक कालोपत्र गर्ने काम हुनेछ ।

सडकमा दोहोरो सवारी साधन चलाउन सकिने जनाइएको छ । रु १३ करोड ८५ लाखको लागतमा सडक निर्माण कार्य भइरहेको पूर्व अर्थमन्त्रीसमेत रहनुभएका सांसद पाण्डेले जानकारी दिनुभयो ।

रणनीतिक सडक निर्माण शीर्षकमा परेको यस सडकको निर्माण केन्द्रीय बजेटमार्फत नै भइरहेको हो । ढलबाहेक ११ मिटर चौडाइ हुने यो सडक तयार भएपछि दोहोरो सवारी साधन चलाउन कुनै समस्या नहुने जनाइएको छ । पछिल्लो समयमा सो क्षेत्रमा पर्यटन विकासका कार्यक्रम चल्दै आएका छन् । सडक निर्माणले थप सहयोग पुग्ने कुमरोजका स्थानीयवासी ईश्वरी पाठक बताउनुहुन्छ ।

चितवन राष्ट्रिय निकुञ्ज नजिकैको सडक कालोपत्र भई विस्तार हुन थालेपछि ठूला लगानीका होटलका सञ्चालक आकर्षित हुन थालेका छन् ।

निकुञ्जको नजिकै रहेको मध्यवर्ती वनमा एकसिंगे गैँडा, जरायो, पाटे बाघ, चित्तल, गौरीगाई, हात्तीलगायतका वन्यजन्तु सजिलै देख्न सकिने भएकाले पनि यहाँ पर्यटकको चहलपहल बढेको छ ।

यस क्षेत्रमा कुमरोज, जनकौली, गवै, हर्नरी, जनकपुरलगायतका पर्यटकीय आकर्षणको केन्द्र रहेको छ । यही क्षेत्रमा अहिले नयाँ होटल निर्माणका लागि जग्गा खरिद कार्य धमाधम भएको स्थानीयवासी कुलप्रसाद भुसालले जानकारी दिनुभयो । अहिले सो क्षेत्रमा सौराहाबाट पर्यटकसमेत जान थालेको पर्यटन व्यवसायी शिरलाल परियार बताउनुहुन्छ ।

कृषि उत्पादन बजारमा लैजान, निकुञ्जको नजिकैबाट सवारी साधनबाटै अवलोकन गर्न, वन्यजन्तुको अवलोकन गर्न, पर्यटकीय गतिविधि विकास गर्न, व्यापार व्यवसाय गर्न सडक निर्माणले सहजता ल्याउने व्यवसायी तथा स्थानीय किसानको विश्वास छ ।



प्रतिक्रिया दिनुहोस्